'मधेसीका माग सम्बोधन गर्न छिट्टै संविधान संशोधन'
काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसवादी दलहरुसँग भएका सहमति कार्यान्वयन गर्न छिटै संविधान संशाेधन गरिने बताएका छन्।
सिंगापुरमा स्वास्थ्य जाँच गराएर शनिबार स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सभापति देउवाले भने, मधेसी दलहरुसँग सरकार गठनका बेला भएका सहमति कार्यान्वयनका लागि सरकरा प्रतिवद्ध छ। संविधान संशाोधनको प्रस्ताव छिटै संसद्मा आउँछ।'
सभापति देउवाले सहमति कार्यान्वयनका लागि सरकारले आन्तरिक गृहकार्य गरिरहेको र प्रमुख प्रतिपक्षी एमालेले पनि यसमा साथ दिने विश्वास व्यक्त गरे। देउवाले सबै दलहरुसँगको छलफल पछि संविधान संशोधनको प्रक्रिया अघि बढाइने बताए।
उनले भने,‘संविधानप्रति असन्तुष्ट मधेसवादी दलसँग भएका सहमति कार्यान्वयन संविधान संशोधन मार्फत गर्ने हो। त्यसका लागि सरकारले अन्य दलहरुसँग छलफल गरिरहेको छ। छिट्टै संविधान संशोधनको प्रक्रिया अघि बढ्छ।’
देउवाले स्थानीय निकायको निर्वाचन निर्धारित समयभित्रै गर्न आफूहरु तयार रहेको बताए। उनले सरकारले निर्वाचनको तयारी समेत थालिसकेकाले निर्वाचन हुँदैन भन्ने आशंका हटाउन आग्रह गरे।