सुर्खेतमा राजा र नेताले नसकेको काम जनताले गरे
सुर्खेतः सुर्खेतको पुरानो सदरमुकाम गढी घुम्न आउँदा तत्कालिन राजा वीरेन्द्रले एउटा सपना बाँडे, अग्लो डाँडामा रहेको वस्तिका धारामा पानी खसाल्ने । राजा वीरेन्द्रले मात्र होइन, खानेपानीको आश्वासन बाँडेर धेरै नेताले चुनाव पनि जिते । तर, कसैले पानी खसाल्न सकेनन्, खानेपानीकै अभावमा अन्ततः गढीबाट जिल्लाको सदरमुकाम वीरेन्द्रनगर सारियो ।
राजादेखि नेतासम्मको आश्वासन कुरे पनि स्थानीयले वर्षौंदेखि आकासकै पानीले गुजरा चलाउनुपर्ने बाध्यता टरेन । अग्लो डाँडामा वस्ती नजिकै पानीको मुहान नहुँदा गढी र लेखगाउँका बासिन्दाले घण्टौँ लगाएर गाग्रीमा पानी बोकेर प्राण धाने । प्राण धान्न अत्यावश्यक पर्ने पानी नहुँदा आकासकै पानीबाट गुजरा चल्यो । वर्षौंसम्म पनि गाउँमा पानीको सुविधा नभएपछि अधिकांश परिवारले थाकथलो नै छोडे । वर्षौंसम्म खानेपानी नपाएपछि स्थानीयले गाउँमा पानी आउला भन्ने आश नै मारे । कसैले गाउँमा पानी ल्याउँछु भन्दा पनि पत्याएनन् ।
तर, अब उमेरले ६० वर्ष नाघेकी लेखागाउँ निवासी बिनिसरा लामिछानेले झिसमिसेमै डोकोमा गाग्री राखेर पानीको खोजीमा दौड्नुपर्ने बाध्यता टरेको छ । राजा वीरेन्द्रले सपना बाँडेको ३५ वर्षपछि उनको घरमा रहेको धारामा पानी झरेको छ ।
जन्मेदेखि घर नजिकै धारा र पानी नदेखेकी बिनिसरा जब आफ्नै धारामा पानी आयो, तब उनका आँखाबाट हर्षका आँशु खसे । ‘मैले गाउँमा पानी आउला भन्ने सोचेकी पनि थिइन, बाँचेपछि सबै देखिँदो रहेछ’ आफ्नै धारामा पानी आएपछि बिनिसराले भनिन्,‘हेर्दाहेर्दै मेरो धारामा अमृतजल आयो, अब छोरानातीले सुख पाउने भए ।
यो उमेरमा एक घण्टा उकालोमा गाग्रीमा पानी बोक्नुपर्ने समस्या टर्यो, अब आकाशको पानी खाएर रोगी हुने दिन गए ।’ सुर्खेतको नगरकोट भनेर चिचिने पर्यटकीय स्थल गढी र लेखगाउँमा लिफ्टिङ्गबाट खानेपानी पुगेपछि वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय बासिन्दा हर्षित बनेका हुन् ।
स्थानीय बासिन्दाले लिफ्टिङ्गमार्फत गाउँमा पानी खसालेपछि स्थानीयको घरघरमा पानीको सुविधा उपलब्ध भएको छ । गढीमा १२ किलोमिटर टाढा रहेको चन्दनेबाट लिफ्टिङ्ग गरेर पानी ल्याइएको छ ।
युएनडीपीको करिब २० लाख र स्थानीयको जनश्रमदानबाट गाउँमा पानी आएको हो । गाउँमा पानी आउला भन्ने कल्पना नै नगरेका स्थानीय जब अहिले धारामा पानी आउन थाल्यो, तब दंग परेका छन् । वर्षौपछि गाउँमा खानेपानी उपलब्ध भएपछि स्थानीय बासिन्दाले नाचगान नै गरेर खुशीयाली मनाए ।
गढीमा करिब दुई सय ५० घरधुरीको धारामा पानी आएको छ । यस्तै, लेखगाउँमा पनि चारसय ५० मिटर तलबाट लिफ्टिङ्ग गरेर गाउँमा पानी खसालिएको छ । उक्त आयोजनाबाट ४८ वटा धारामा पानी आउन थालेको हो । एक वर्ष लगाएर अग्लो डाँडामा रहेका गढी र लेखगाउँ गाविसमा पानी खसालिएको हो ।
वस्ती बसेको वर्षौंपछि गाउँमा पानीको सुविधा उपलब्ध भएको भन्दै स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जनताको सक्रियताले मात्र सम्भव भएको बताए । उनले भने, ‘यो डाँडामा पानी आउने कल्पना कसैले गरेका थिएनन्, कल्पना गर्नेहरुले पनि काम गर्न सकेनन् । तर, अहिले गाउँमा पानी आयो, अब यसलाई स्थानीयले संरक्षण गर्नुपर्दछ ।’