एमाले नेता खनाल र श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षबीच भेटवार्ता
काठमाडौं: पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र श्रीलङ्काका पूर्व राष्ट्रपति महेन्द्र राजापाक्षबीच भेटवार्ता भएको छ।
मलेसियाको राजधानी क्वालालम्पुरमा जारी एसियाली राजनीतिक सम्मेलन (आइक्याप) महासम्मेलनका क्रममा भएको भेटमा राजापाक्षले आफ्नो कार्यकालमा नेपाल र श्रीलङ्काबीच सम्बन्ध स्थापना गर्न भएका पहल र लुम्बिनी क्षेत्रको विकासबारेमा चासो व्यक्त गरेका थिए।
छलफलमा दक्षिण एसिया विकास र शान्तिका लागि सहकार्य वातावरण बनाउन नेपाल र श्रीलङ्काजस्ता देश अघि सर्नुपर्ने दुवै नेताको समान मत थियो।
नेता खनालले दुई देश माझ सिधा ‘कनेक्टिभिटी’को आवश्यकता रहेको औँल्याउनुभएको उहाँका निजी सचिव कृष्ण भट्टराईले जानकारी दिए। भेटमा खनालसँग मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्नेत र खनालका विदेश ममिला सहयोगी योगेन्द्र शाही सहभागी थिए।
खनालले आइक्याप नेतृत्व र सचिवालय साथै बङ्गलादेशको पूर्व राष्ट्रपति हुसेन मुहमद इरसाद, जापानी कम्युनिष्ट पार्टीका अध्यक्ष कजुओ शीसँग पनि आपसी हितका विषयमा छलफल गरेका छन्।
महासम्मेललनका लागि खनालसहित नेपालबाट नेपाली काँग्रसका नेत्री सुजाता कोइराला, नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलगायत मलेसिया पुगेका छन्। सम्मेलन भदौ १७ देखि १९ सम्म चल्नेछ। रासस