‘प्रधानमन्त्रीले मन्त्रालयको काममा हस्तक्षेप गरे राजीनामा दिन्छु’
काठमाडौंः वाणिज्यमन्त्री रोमी गौचन थकालीले आफ्नो मन्त्रालयको काममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरे पद छोड्ने चेतावनी दिएका छन्।
रिपोर्टर्स क्लब नेपालले शनिवार गरेको साक्षात्कारमा मन्त्री थकालीले गलत गर्नेहरुलाई कारवाही गर्दा कोही कसैले अवरोध गरे वा दबाब दिएआफू त्यसबाट एक इन्च पनि नडगमगाउने दाबी गरे। यद्यपि प्रधानमन्त्रीले नै हस्तक्षेप गरे राजीनामा दिने स्पष्ट पारे।
उनले भने,‘कानुन उल्लंघन गर्ने, कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई कसैले संरक्षण गर्न खोज्छ भने त्यस्तो कसैले नसोचेपनि हुन्छ, चाहे प्रधानमन्त्रीको दबाब नै किन नहोस् वा पार्टीकै दबाब आएपनि म सुन्नेवाला छैन्।’
उनले कानुनी परिधिभित्र रहेर काम गर्दा कसैले दबाब दिन्छ भने त्यो आफ्नो लागि कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे। उनले अघि भने,‘मन्त्री पद मेरो लागि केही पनि होइन, म राजनीति गर्ने मान्छे हुँ, मलाई यो पद गएपनि कुनै चिन्ता हुँदैन्।’ उनले असल काम गर्नेहरुलाई मन्त्रालय सहयोगी बन्ने स्पष्ट पारे।
मन्त्री थकालीले इजाजत प्राप्त फर्महरुले कानुन विपरित काम गरे, कालोबजारी गरे र कृत्रिम अभाव सिर्जना गरेको पाइए ती फर्महरुलाई कारवाही गरेरै छाड्ने चेतावनी दिएका हुन्। उनले भने,‘बाणिज्य मन्त्रालयले छापा मार्दा गलत गरेको भेटियो भने त्यो उम्कन पाउँदैन, त्यसलाई कानुनी कारवाही गरेरै छोड्छु।’
उनले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा द्विपक्षीय महत्वपूर्ण सन्धि सम्झौता हुने सम्भावना रहेको बताए। उनले प्रधानमन्त्रीको भारत भ्रमण हुनु अगावै देशै बेच्न लागेको गरी अफवाह फैलाउने काम भएको भन्दै देशलाई अहित हुने गरी कुनै सम्झौता नहुने स्पष्ट पारे।