नातीनातिना काँधमा हालेर विद्यालय जान्छन हजुरबाहजुरआमा

नातीनातिना काँधमा हालेर विद्यालय जान्छन हजुरबाहजुरआमा

बैतडी: ७२ वर्षीया झुपुरी महरा प्रत्येक दिन बिहान साढे आठ बजे नातिनीलाई प्रारम्भिक बाल विकास केन्द्रमा पुर्‌याउन तयार हुन्छिन् । कहिले काँधमा हाल्दै, कहिले काखमा बोक्दै, कहिले पिठ्यँमा राख्दै त कहिले डोहोर्‌याउँदै हिँड्दा उनलाई विद्यालय पुग्न करिब डेढ घन्टा लाग्छ । नातिनी पुर्‌याएर घर फर्कनु, लगत्तै विद्यालय पुगेर पुनः फर्कनुपर्दा दिनभर हिँड्नुपर्छ । त्यो उपक्रम उनको वृद्ध कायाका लागि असम्भव छ । जंगल, खोला, भीर र अनकन्टार पहाडी बाटो छिचोलेपछि फेरि घर फिर्नु कठिन हुने भएकाले घन्टौं विद्यालय परिसरमा बसेर नातिनी लिएर उनी साँझ घर फर्कन्छिन् ।

झुपुरीकै छिमेकी सिद्धेश्वर गाउँ विकास समिति ७ का ६५ वर्षीय रामसिंह महरा पनि उकालोओरालो गर्दै विकट पहाडी बाटोमा तीन वर्षीय नाति लोकेशलाई लिएर विद्यालय आउजाउ गर्छन् । सिगास उच्च माध्यमिक विद्यालय पाटनमा रहेको प्रारम्भिक बाल विकास केन्द्रमा नाति पुर्‌याएपछि फेरि घन्टौं हिँडेर नाति लिनै विद्यालय पुग्नु सम्भव नहुने रामसिंहको भनाइ छ ।

सरकारले बालमैत्री स्थानीय शासन कार्यक्रम लागू गरेपछि गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समितिले पूरा गर्नुपर्ने ३९ सूचकमध्येको एक प्रारम्भिक बाल विकास केन्द्रमा बालबालिकालाई अनिवार्य भर्ना गरी अध्यापन गराउनुपर्ने भएपछि जिल्लाको सिद्धेश्वर गाविसका वृद्धवृद्धा आआफ्ना नातिनातिना बोकेर विद्यालय धाउन थालेका हुन् । सरकारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत आर्थिक वर्ष २०६८/६९ देखि स्थानीय निकायलाई बालमैत्री घोषणा गर्न कुल बजेटको १५ प्रतिशत बजेट छुट्याउनैपर्ने र ३९ वटा सूचक पूरा गर्नुपर्ने नियम बनाएको छ ।

उकालोओरालो र भीरपाखा ओहोरदोहोर गर्नु वृद्धवृद्धाका लागि निकै झन्झटिलो काम हो । तर उमेरले सात दशक कटेकी वृद्धा झुपुरी नातिनीको पढाइकै लागि यति ठूलो बोझ झेल्न तयार छिन् । उनले भनिन्, 'नातिनातिना नै सम्पत्ति हुन्, यिनका लागि केही गर्नुछ ।' काँधमा नाति बोकिरहेका वृद्ध रामसिंह भन्दै थिए, 'केही वर्षअघिसम्म चार, पाँच वर्षको भएपछिमात्र विद्यालय पठाउँथ्यौं अब त्यसरी हुँदैन । अहिले नातिनातिना बोकेर विद्यालय जाने जागिर पाएका छौं ।'

दुई नातिनातिना विद्यालय पुर्‌याउने जिम्मेवारी पाएका ५२ वर्षीय जयसिंह महरा छोराबुहारी खेतीपातीमा जानुपर्ने भएकाले गाउँका हजुरबुबा, हजुरआमाले नातिनातिनालाई विद्यालय ल्याउनेलैजाने जिम्मेवारी पाएको बताए । उनले भने, 'हामी पनि अँध्यारोमै रहेछौं । यिनलाई विद्यालय छोडेपछि दिनभर विद्यालय परिसर र कहिले आसपासका होटलमा कुराकानी गर्दा पो थाहा पायौं, शिक्षा संसारको उज्यालो रहेछ अनि सम्पत्ति पनि ।'

सिद्धेश्वर गाविस ७ को वडा बाल क्लबका अध्यक्ष राकेश महराले पनि गाउँभरिबाटै विद्यालय जाने समूह भएपछि बालबालिका र वृद्धवृद्धा सबैमा उत्साहको लहर देखिएको बताए । सिद्धेश्वरको ७ नम्बर वडामा ५० भन्दा बढी प्रारम्भिक बाल विकास केन्द्र जाने बालबालिका छन् । सरकारले गाउँमै केन्द्र नखोलेकाले ७० नाघिसकेका बूढाबूढी नातिनातिनालाई काँधमा बोकेर घन्टौं उकालीओराली गर्न बाध्य छन् ।

सिद्धेश्वरका बालबालिका कोही पाटनस्थित सिगास पुग्छन् त कोही एकदेखि डेढ घन्टा दुरीकै छुम्केडाँडास्थित सिद्धेश्वर निमावि पुग्छन् ।

जनशक्ति, भौतिक पूर्वाधार, आर्थिक एवं प्राविधिक समस्याका कारण सरकारले निमावि, मावि र उच्चमाविमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्दै आएको छ । सिद्धेश्वरका गाविससचिव प्रेम बिष्टले गाविसले पूरा गर्नुपर्ने सूचकका लागि बालविकासमा जोड दिइएको बताए ।

उनले बालबालिकाको सर्वाङ्गीण विकासका लागि स्थानीय निकायमार्फत थुप्रै योजना र पर्याप्ट बजेट व्यवस्था भइरहेको जानकारी दिए । उनले अन्नपूर्णसँग भने, 'पहाडी जिल्ला र विकट बाटोका साथै लामो दुरीमा धाउनु पर्ने समस्या भएपछि स्थानीय वृद्धवृद्धा र बालबालिकाका लागि सहज वातावरण बनाउन जिल्ला शिक्षा कार्यालयलाई पायक पर्ने स्थानमा प्रारम्भिक बाल विकास केन्द्र खोल्न आग्रह गरेका छौं ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.