प्रचण्ड र भतुवा पुँजीवाद
नेपालमा तीव्र रूपमा अघि बढेको जनयुद्ध समाप्त पारेर प्रतिक्रान्तिका शृंखला जसरी लगभग एक दसकदेखि अघि बढिरहेका छन्, त्यसबाट उत्पन्न समस्या नै नेपाली समाजको आजसम्म पनि समसामयिक राजनीतिक विषय बनिरहेको देखिन्छ । सबै देशी, विदेशी पश्चगामी र प्रतिक्रियावादी शक्तिहरू उक्त क्रान्तिको इतिहासलाई समाप्तै पार्न टुप्पीदेखि पैतालासम्मको बल लगाएर लागिपरे पनि नेपाली राजनीतिमा अहिले पनि त्यसले आफ्नो भूमिका कुनै न कुनै रूपमा खेलिरहेकै छ ।
नेपाली समाजलाई आमूल परिवर्तन गरेर नयाँ जनवादी व्यवस्था वा जनगणतन्त्रको स्थापना गर्ने उद्देश्यका साथ ०५२ सालदेखि प्रारम्भ भएको जनयुद्ध, जुन कतिपय कमजोरीसहित अघि बढेको थियो, को नेतृत्व गरेर 'नायक' र 'महानायक' का पगरी गुथेका प्रचण्ड आफैं त्यसलाई प्रतिक्रान्तिको प्रक्रियाद्वारा समाप्त पार्ने कामको पनि नेतृत्व गर्न उद्यत् देखिएकाले आआफ्ना वर्गीय दृष्टिकोणअनुसार नेपाली सञ्चारमाध्यम र केही सीमासम्म भारतीय सञ्चारमाध्यम पनि यसको चर्चामा सक्रिय देखिएका छन् ।
हुन त कुनै व्यक्तिको नामै किटेर किन आलोचना गर्ने र भन्डाफोर गर्ने भन्ने प्रश्न पनि केही मानिसले उठाउँछन् । तर घटनालाई सकारात्मक वा नकारात्मक प्रभाव पार्ने कुनै व्यक्ति देखा पर्छ भने त्यस अवस्थामा व्यक्तिको नाम पनि आउँछ नै । आफ्नो एउटा प्रसिद्ध कृतिको नाम नै 'सर्वहारा क्रान्ति र गद्दार काउत्स्की' राख्नुपर्ने आवश्यकता परेरै लेनिनले त्यसो गर्नुभएको थियो भन्ने बुझ्न कुनै कठिनाइ हुनु हुँदैन । धेरैले अनुमान गरेजस्तै नेपालको राजनीतिमा प्रचण्डको नामै लिएर चर्चा गर्ने अवस्थाको चाँडै अन्त्य हुने स्थिति आएछ भने त्यस प्रकारका चर्चा नगरिने पनि स्पष्टै छ । प्रसंगवश, यहाँ उद्धरणहरूले अलिबढी स्थान लिन गएकोमा आत्मालोचित पनि छु ।
जहाँसम्म हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) को प्रश्न छ, यसले पहिलेको एकीकृत नेकपा (माओवादी) र अहिलेको नेकपा (माओवादी केन्द्र) (अर्थात् माके) का प्रचण्डलगायतका नेताले नेपाली क्रान्ति प्रति विश्वासघात र गद्दारी गरेको, उनीहरूमा वर्गीय र राष्ट्रिय आत्मसमर्पणवाद हावी भएको, नवसंशोधनवादी समूहमा त्यो समूह पतन भएको भन्ने सही र सटिक संश्लेषण प्रस्तुत गरिसकेको छ ।
यसका साथै पछिल्लो चरणमा माके प्रतिक्रियावादीकरणको दिशामा अघि बढेको संश्लेषण पनि हाम्रो पार्टीले गरेको छ । हाम्रो पार्टीले जुन संश्लेषण प्रस्तुत गरेको छ, त्यो व्यवहारमा राम्रोसँग पुष्टि हुँदै पनि गएको छ । प्रस्तुत लेखमा पार्टीको यो संश्लेषणलाई पुष्टि गर्नतिर नभएर आजको समसामयिक विषयमा अन्य लेखकहरूका केही लेखहरूमा अभिव्यक्त मतहरूलाई समेत उल्लेख गर्ने प्रयास गरिएको छ ।
सर्वप्रथम, डा. ऋषिराज बरालको हालै प्रकाशित एउटा लेखका बारेमा यहाँ चर्चा गरिनेछ । केही पत्रपत्रिका र केही अनलाइन पत्रिकामा प्रकाशित डा. बरालको 'प्रचण्ड पतनको अन्तिम अध्याय' शीर्षकको उक्त लेखमा भनिएको छः नेपालको राजनीतिक वृत्तमा भर्खरै एउटा भद्दा नाटकको रिहर्सल भएको छ । पर्दा आधा मात्रै खुलेको छ र जे जति खुलेको छ, त्यसले एउटा गजबको परिदृश्य हाम्रोसामु उपस्थित गराएको छ ।
यो सानो मुलुक, नेपालको माटोलाई असाध्यै माया गर्ने यहाँका जनताविरुद्ध, आफूलाई विश्वको उदाउँदो शक्ति राष्ट्र भन्न मन गर्ने भारत कस्ता–कस्ता जालझेल, प्रपञ्च र षड्यन्त्र गर्न पछि पर्दो रहेनछ भन्ने कुरा सबैका सामु खुलस्त भएको छ । यो कलाहीन नाटकको सूत्रधार बनेर सबैका सामु अभिनय गर्ने पात्रका रूपमा एक कालखण्डमा जनयुद्धका नायक, जनताका नेता भनेर सम्बोधित हुने 'प्रचण्डपथ' का उन्नायक भनिने पुष्पकमल दाहाल उर्फ प्रचण्ड देखा परेका छन् ।
२००७ सालदेखि आफ्नो व्यक्तिगत स्वार्थको लागि भारतीय गोटी बन्दै मुलुकको सार्वभौम सत्तासमेत धरौटी राख्न पछि नपर्ने भनेर नाम लिइने अमूक–अमूकहरूमा अब आएर पुष्पकमल दाहालको नाम सुनौला अक्षरले सबैले देख्ने र बुझ्ने गरी सूचीकृत भएको छ– 'नेपालमा राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकता गम्भीर खतरामा पर्दै गएको विषयमा सर्वत्र चासो व्यक्त भइरहेकै बेलामा सबैले स्पष्ट बुझ्ने गरी मोदी सरकार माके र नेपाली कांग्रेसलाई एक ठाउँमा, एउटै कित्तामा उभ्याएर पालो–पालो गरी सरकारको नेतृत्व गराउने सहमति गराउन सफल भयो ।
यो अवस्था सिर्जना गरेपछि त्यसको निमित्त नेपालले चर्को मूल्य चुकाउनुपर्नेमा नेपालका सच्चा वामपन्थी मात्र होइन, देशभक्तहरू समेत एकमत देखिन्छन् । यसका निमित्त नेपालको राष्ट्रिय हितविपरीत धेरै सम्झौतामा, प्रचण्डले नेपालको प्रधानमन्त्रीका हैसियतले सहिी छाप ठोक्नेछन् भन्ने जगजाहेरै छ । यसमा पनि पर्याप्त आशंका व्यक्त गरिँदैछ कि त्यस प्रकारका कतिपय सम्झौता र सहमति खुला हुनेछन् भने कतिपयलाई गुप्त राखिनेछ ।
यसै सन्दर्भमा डा. बरालको उक्त लेखको यो अंशको उल्लेख गर्नु सान्दर्भिक नै होला । उक्त लेखमा अगाडि भनिएको छः 'नौ महिनाको कार्यकालपछि केपी ओली प्रधानमन्त्रीबाट बाहिरिएका छन् । उनले आफूलाई 'छापामार शैलीमा हटाउन खोजियो' भनेका छन् । म यसलाई 'कु' को शैलीमा हटाइयो भन्न चाहन्छु । नौ महिनाको लामो अभ्यासपछि भारत नेपालमा एकपटक फेरि लेन्डुप प्रवृत्तिको अन्वेषण गर्न सफल भएको छ, त्यो पनि माओवादी वृत्तबाट ।
ओलीको स्वभाव र सन्कीपन, उनको राजनीतिक विचार आदिप्रति सहमति नभए पनि उनी सम्मान र सहानुभूतिका साथ सरकारबाट बिदा भएर 'हारे' भनिए पनि जितेका पात्रझैँ उभिएका छन् । प्रचण्ड प्रधानमन्त्री होलान्, तर उनी राजदूत रेलगायतका भारतीय कर्मचारीभन्दा बढी हुने छैनन् र माओवाद र माओवादी नामसित थप कलंक र बद्नामी जोडिनेछ । अहिले सामाजिक सञ्जालहरू कालो पोतिएको उनको अनुहारले भरिएका छन् ।
केपी ओली नेतृत्वको सरकार ढालेर प्रचण्डको नेतृत्वमा सरकार बन्ने पक्का भए पछि विभिन्न क्षेत्रमा भोज चलेको र खासगरी भारतीय पक्षका मानिसहरूले र भारतमा पनि सत्ता पक्षका मानिसहरूले भोजभतेर गरेका समाचार व्यापक रूपमा आए । स्वयं प्रचण्डकै पार्टीका नेताहरूले पनि भारतीय दूतावासमा भोजभतेर चलेको बताए । के यी घटनाहरू स्वतस्फूर्त रूपमा भएका हुन् ? होइनन् ।
यी सबै प्रायोजित घटनाहरू हुन् । यसै प्रसंगमा लेखमा जुन कुरा लेखिएको छ, त्यो पनि सान्दर्भिका देखिन्छः यतिखेर भारतीय पत्रपत्रिका तथा अनलाइनहरू पढ्दा बडो 'रमाइलो' अनुभूत हुन्छ । नालापानीमा पानीका मुहानसमेतको नाकाबन्दी गरेर हाम्राविरुद्ध लडाइँ लड्ने अंग्रेज साम्राज्यवादविरुद्धको इतिहासजस्तै हामीले पनि नाकाबन्दीसहितका यी नौ महिना लडाइँ लड्यौँ । पहिले भूकम्पसित अनि भारतसित । अहिले 'प्रचण्ड हमारा आद्मी' भनेर 'जस्न' मनाइरहेका छन् भारतीयहरू ।
केही समयअघि ओली सरकारबाट हट्ने हल्लासँगै भारतमा भोजभतेर भयो भनेर सोही पार्टीका नेता अमिक सेरचनको भनाइ सार्वजनिक भएको थियो । ओलीको राजीनामासँगै नेपालको लागि पूर्वराजदूत राकेश सूदले प्रचण्डले गर्नुपर्ने कामको सूची नै अगाडि सारेका छन् । प्रचण्ड ल्याउनुको उद्देश्य उनले सार्वजनिक गरे । सूद तिनै पात्र हुन्, जसले कटवाल प्रकरणताका प्रचण्डलाई बाघबाट बिरालो बनाउँछौँ भनेर घोषणा गरेका थिए ।
ओली गए प्रचण्ड आए भन्ने कुरा मात्र होइन यो । भारतीय टाउको दुखाइसित चीनसितको बढ्दो सम्बन्ध र समझदारी यातायात र व्यापार र वाणिज्यका सन्दर्भहरू पनि जोडिएका छन् । फास्ट ट्र्याकका सम्बन्धमा अन्तिम समयसम्म विमलेन्द्र निधिमार्फत भारतले प्रयास गरेको हो र कोशी उच्च बाँध उसको हिजोदेखिकै योजना हो । प्रचण्ड आफैँ अघि सरेर अपर कर्णाली भारतलाई सुम्पिएका हुन् । अहिले अर्को अचम्मको कुरा बाहिर आएको छ ।
ओलीको राजीनामासँगै भारतले 'कोसी पुलमा आईएसआई र नेपालका उग्र वामपन्थीहरूको आक्रमण 'को मनगढन्ते कथा बुनेर सुरक्षाका नाममा भारतीय सेना नेपालमा तैनाथ गर्ने योजना बुनेको छ । यो भनेको प्रचण्डबाहेकका माओवादीहरूमाथि दमनको योजना पनि हो, ज्योति वसुहरूलाई अघि सारेर नक्सलवादी आन्दोलन र भारतीय माओवादी आन्दोलनमाथि दमन गरेझैँ । भारत आफैँ नक्कली आईएसआई बनेर कोसी ब्यारेजलाई ध्वस्त नपार्ला भन्न सकिन्न ।
प्रचण्ड प्रधानमन्त्री भएकै बेला बाबुराममार्फत एयरपोर्टहरूमा भारतीय मार्सल राख्ने अन्तिम तयारी भएकै हो र अब फेरि एकएक बहाना गरेर यो काम गरिनेछ । एकपल्ट भारत नेपाल पसेपछि फर्किन र फर्काउन गाह्रो छ भन्ने कुरा प्रचण्ड प्रधानमन्त्री भएका बेला कोशीमा आएको बाढीलाई बहाना बनाएर विराटनगरमा राखिएको जासुसी कार्यालय भारतले अहिलेसम्म हटाएको छैन र हट्ने स्थिति पनि छैन ।'
यसपछि यहाँ एउटा अर्को समसामयिक लेखको पनि चर्चा गरिनेछ । प्रस्तुत लेखका लेखक पनि बराल नै हुन्, तर उनी प्रचण्डका अनुयायी या शुभचिन्तक भएको स्पष्टसँग बुझ्न सकिन्छ । उनले प्रचण्डको अहिलेको क्रियाकलापलाई 'बोल्सेभिक स्पिरिट' सम्म पनि भनेका छन् । यद्यपि यो कुरा त छँदै छ कि उनले नै 'बोल्सेभिक स्पिरिट' भन्ने कुरा कति बुझेका छन् । जे होस्, प्रचण्डका एकजना अनुयायी वा शुभचिन्तकले प्रचण्डका विषयमा के भन्दा रहेछन् भन्ने कुराले निश्चय पनि महत्त्व राख्दछ । बरालले प्रचण्डका अन्य क्रियाकलापमा भन्दा पनि उनले नेतृत्व गरेको संगठनप्रतिको चिन्ता व्यक्त गरेको पाइन्छ, उनी लेख्छन्ः
'प्रचण्डको मनले गतिशील भएर केही न केही परिणाम निकालौं भन्ने सोचिरहेको देखिन्छ । तर उनको आफ्नै पार्टी यतिसाह्रो कुँजो भइसकेको छ कि आफ्नै कार्यकर्ता उनका लागि साधकभन्दा बढी बाधक बनेका छन् । मन (प्रचण्डको इच्छा) र शरीर (पार्टी संगठन) बीचको गति मिलिरहेको छैन ।
विगतमा जस्तो सत्ता कब्जा गर्ने कि नगर्ने भन्ने दुविधाबाट त माओवादी पार्टी मुक्त भएकै छ, तर पदीय झगडा, भद्दा उपभोक्तवाद र गुटबन्दीले पार्टीलाई अर्को दुविधामा फसाइदिएको छ ।
अथः माओवादी महात्म्य !
प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र नामको यस्तो तामसी भोजनवाला संस्कृति बोकेको पार्टी बनाएका छन् कि उनका नेता–कार्यकर्ता सामान्य पदको लागि पनि मारामार गर्छन् ।
मन्त्री वा राज्यमन्त्रीको सल्लाहकार वा पीएको बन्ने भन्नेमा माओवादीभित्र मल्लयुद्ध चलिरहेको छ । सरकारमा बस्ने म्याद आठ महिनामात्रै भए पनि सिंहदरबारको गेटभित्र माओवादी कार्यकर्ताको लामै लाइन छ, व्यक्तिगत स्वार्थ र माग पूरा गराउनका लागि ।
लोभी कार्यकर्ताहरू सिंगो पार्टीलाई एकताबद्ध बनाउने वा प्रचण्डलाई निष्काम सहयोग गर्नेभन्दा पनि आफ्नो उदरस्थ स्वार्थ कसरी पूर्ति गर्ने भन्ने 'घले दौड' मा लागेका छन् । उनीहरू कुमार बन्नुभन्दा गणेश बनेर सिंहदरबार, पुल्चोक अनि पेरिसडाँडामा फन्को मारिरहेका भेटिन्छन् ।
माओवादीकै कतिपय मन्त्रीबीच आपसमा बोलचाल छैन । कसैले मन्त्री पाएकोमा मात्रै होइन कि मन्त्रीको सल्लाहकार वा पीएसमेत नपाएकोमा चित्त दुखाइरहेको भेटिन्छ । पार्टीको पोलिटब्युरो सदस्यसमेत बनिसकेका व्यक्ति मन्त्रीको पीए बनेकामा गौरव गर्दैछन् ।
नेपाली जनता र नेपाल राष्ट्रको हितविपरीत जे भइरहेको छ, त्यो केही पार्टी र नेताहरूको माध्यमबाट भइरहेको छ । देश कुन अवस्थाबाट गुज्रिरहेको छ भने यो बेलामा वास्तविकता बुझ्नको लागि अध्ययन अघि बढाउने, बहसमा उत्रने र सही पक्षमा आफूलाई उभ्याउने पक्षको ठूलो महत्त्व छ ।
एकाबिहानै मन्त्री क्वाटरमा जानोस्, माओवादी र गैरमाओवादीहरूको भीड लागेको देखिन्छ । मन्त्री क्वाटर ह्वास्सै जुत्ताको हरक गन्हाइरहेको छ । कुनै मन्त्रीहरूको सचिवालय व्यवस्थित छैन । बिहान दिसा पनि गर्न नपाउँदैदेखि भेटघाटमा व्यस्त छन् मन्त्रीहरू । उनले नयाँ कुरा सोच्ने न समय पाउँछन्, न ठाउँ । मन्त्रालयमा मन्त्रीको कार्यकक्ष वैदेशिक रोजगार विभागको कार्यालयजस्तै भीडभाडयुक्त देखिन्छ । नीतिनिर्माण गर्ने ठाउँ हो कि सेवा दिने ठाउँ हो, छुट्ट्याउन गाह्रो छ । माओवादीका कतिपय कार्यकर्ताहरू दलालको पछि लागेर सरुवा–बढुवा र कमिसन अभियानको गच्छदार पथमा अघि बढिसकेका छन् ।
माओवादीका केही नयाँ मन्त्रीहरूलाई मन्त्री त भइयो तर के काम गर्ने भन्ने पत्तो छैन । के गर्ने, के नगर्ने ? कार्यकर्ता आउँछन्, दिनभरि धन्यवाद भन्दैमा र हात मिलाउँदैमा बित्छ । उनीहरूलाई मन्त्रालयको विषयगत दक्षता थाहा पनि छैन र अध्ययन गर्ने फुर्सद पनि छैन ।
यस्तो भद्रोगल तालले प्रचण्ड नेतृत्वको सरकारले कसरी गति दिन सक्ला ? मन्त्रीको पीए बन्न नपाउँदा झगडा गर्ने कार्यकर्ताले कसरी प्रचण्डलाई अघि बढ्ने ऊर्जा दिन्छन् ?
माओवादी बाहिरका पावर ब्रोकरहरूले पनि माओवादीलाई घेरामा हालिसकेका छन् । अब उनीहरूले कर्मचारी सरुवादेखिका विषय लिएर मन्त्रीलाई आफ्नो प्रभावमा पार्नेछन् र कमाउ धन्दा अघि बढाउनेछन् । यो सामान्य समस्या होइन, जसलाई प्रचण्डले नदेखेजस्तो गर्ने छुट होस् ।
यो सबै समस्याको दार्शनिक एवं सैद्धान्तिक स्रोत के हो भने माओवादीभित्र कम्युनिस्ट नैतिकता हैन, उपभोक्तावाद मौलाएको छ । सर्वहारा अनुशासन हैन, अराजकता र भ्रष्ट छाडावावाद मौलाएको छ । प्रदीप गिरीले भनेजस्तो 'भतुवा पुँजीवाद' फस्टायो । फस्टाइरहेको छ ।
माओवादी पार्टी एउटा अन्तरविरोधपूर्ण, विरोधाभासपूर्ण र संक्रमणपूर्ण अवस्थामा छ । राजनीतिक संस्कारका हिसाबले फेरिएर जनपक्षीय बन्ने कि संसद्वादी विकारको थुप्रोमाथि चढेर अग्लो देखिन खोज्ने ? भ्रष्टाचार र बेथितिविरुद्ध शून्य सहनशीलता अपनाउने कि बाँदर लुकेजसरी लुकेर कमिसन एवं भ्रष्टाचारको दलदलमा भासिने ? सबैलाई समेट्ने फराकिलो छाती बनाएर अघि बढ्ने कि गुटमा, कोटरीमा र आफूमा खुम्चिने ? यी गम्भीर प्रश्नहरूले थिचिएका छन् यतिबेला प्रचण्ड । यो फोहोरको थुप्रो नपन्छाएसम्म प्रचण्डको कार्यकाल सफल हुँदैन ।'
आज नेपालमा जुन पुँजीवाद छ, त्यो राष्ट्रिय पुँजीवाद नै होइन । त्यो त राष्ट्रिय पुँजीवादको वाधक दलाल र नोकरशाही पुँजीवाद हो । यस प्रकारको पुँजीवादलाई प्रदीप गिरीले 'भतुवा पुँजीवाद' भन्ने नामकरण गरेका हुन् भने वास्तवमा सही नामाकरण हो भन्ने लाग्छ । यसबारे बहस हुनु पनि राम्रो हो ।
आज नेपाली जनता र नेपाल राष्ट्रको हितविपरीत जे भइरहेको छ, त्यो केही पार्टी र नेताहरूको माध्यमबाट भइरहेको छ । यी सबै समग्र राष्ट्र र नेपाली जनताको जीवनसँग जोडिने घटनाक्रहरू हुन् । देश यस प्रकारको अवस्थाबाट गुज्रिरहेको यो बेलामा वास्तविकता बुझ्नको लागि अध्ययन अघि बढाउने, बहसमा उत्रने र सही पक्षमा आफूलाई उभ्याउने कुराको ठूलो महत्त्व छ । यतिखेर जनता हारेजस्तो स्थिति भएको छ । जनताको पराजय अस्थायी हो, अन्तिम जित जनताकै हुनेछ ।