२० हजारमा नक्कली लाइसेन्स

२० हजारमा नक्कली लाइसेन्स

दमौली: राजमार्गमा सञ्चालन हुने धेरैजसो ट्रक चालक नक्कली लाइसेन्स बनाएर हिँड्ने गरेको पाइएको छ । तनहुँ प्रहरीले केही दिनयता नक्कली सवारी चालकमाथि गरेको अनुसन्धानका क्रममा तीन नक्कली ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

पोखराको रामबजारस्थित मुनाल ड्राइभिङ इन्स्टिच्युटका सञ्चालक विनोद खड्काले जनही २० हजार रुपैयाँमा लाइसेन्स बनाउने गरेको तनहुँका प्रहरी उपरीक्षक कृष्णकुमार महतले जानकारी दिए । फरक फरक रुटमा ट्रक चलाउने तीनैजनाले एकै ठाउँबाट नक्कली लाइसेन्स बनाएको महतले बताए ।

पृथ्वी राजमार्गमा सञ्चालन हुने कतिपय ट्रिपर चालक नक्कली हुने गरेको चर्चा चलिरहँदा प्रहरीले कारबाही थालेको हो । गत महिना जामुनेमा भएको एक ट्रिपर दुर्घटनामा तीनजनाको मृत्यु भएको थियो । घटनामा संलग्न चालक नक्कली भएको खुलेको थियो । लाइसेन्स नभएका तथा भएकाहरूले पनि नक्कली बनाउने गरेको सूचनाका आधारमा प्रहरीले गत सातादेखि गरेको चेकजाँचका क्रममा नक्कली लाइसेन्स बनाउने गिरोह प्रहरी नियन्त्रणमा आउन सफल भएको हो ।

प्रहरी टोलीले गत सोमबार शुक्लागण्डकी १ कोत्रेमा गरेको चेकजाँचका क्रममा ग १ क २४७३ नम्बरको ट्रिपरका चालक बन्दीपुर २ निवासी प्रेम गुरुङको लाइसेन्स शंकास्पद भेटियो । चेकजाँचका क्रममा प्रहरी अधिकारीले शंका लागेपछि परीक्षणका लागि पठाउँदा यातायात व्यवस्था कार्यालय भेरीबाट जारी भनिएको ०३–५२१४७८ नम्बरको लाइसेन्सको अभिलेख माग्दा अर्कैको नाममा लाइसेन्स भेटिएपछि गुरुङको लाइसेन्स नक्कली प्रमाणित भएको थियो ।

गुरुङमाथि अनुसन्धान गर्दा उनले आफ्ना भिनाजु पर्ने देउराली ९ निवासी धनकुमार गुरुङमार्फत बनाएको बयान दिएका थिए । उनको बयानका आधारमा घटनाको दुई दिनपछि नियन्त्रणमा परेका धनकुमारबाट बरामद लाइसेन्ससमेत नक्कली पुष्टि भएको थियो ।

धनकुमारसँगको सोधपुछका क्रममा उनले अर्का नक्कली चालक देउराली ५ निवासी धनप्रसाद गुरुङसँग समेत रहेको बयान दिएका थिए । प्रहरीले इन्स्टिच्युटका खड्कालाई नियन्त्रणमा लिँदा उनले पोखराको नयाँबजारस्थित दीपसिना प्रिन्टर्सबाट छपाएको खुलेको छ । पिन्टर्समा छापा मार्दा प्रहरीले यातायात व्यवस्था विभागको नक्कली छाप तथा केही तयार नक्कली लाइसेन्ससमेत बरामद गरेको महतले जानकारी दिए ।

पिन्टर्सका सञ्चालक पोखरा उपमहानगरपालिका १३ निवासी दीपक पौडेल र खड्काले मिलेर करिब ६ महिनाअघिबाट नक्कली लाइसेन्स बनाउन थालेको पाइएको छ ।

उनीहरूले एसएलसीको नक्कली प्रमाणपत्र र सरकारी छापसमेत बनाउने गरेको पाइएको छ । प्रहरीले नक्कली सवारीचालक र लाइसेन्स बनाउने काममा संलग्न खड्का तथा पौडेलमाथि दस्तखत किर्ते मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.