नेपालमै क्यान्सरविरुद्धको औषधि पत्ता लगाउने प्रयास
क्यान्सर । त्यो पनि आमाशयको । अर्बौं रुपैयाँ खर्चिनसक्ने क्षमता भएका विश्वविख्यात व्यक्ति एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सलाई समेत बाँच्न दिएन त्यसले ।
उनलाई बचाउन संसारकै उत्कृष्ट सर्जनहरूले उपचार गरे । रेडियोथेरापी, केमोथेरापीसमेत असफल भए । यस्ता धेरै व्यक्ति मृत्युको जोखिममा छन् यही रोगका कारण । तर संसारका क्यान्सरग्रस्त लाखौं जीवन बाँच्ने सम्भावनको बलियो आधार बन्ने मूर्त योजनामा दत्तचित्त छन् एक नेपाली युवा । उनको अनुसन्धान सफल भए क्यान्सरबाट हुने मृत्युमाथि विजय पाउनेछ सिंगो मानव जातिले । र, सुनौलो अक्षरले विश्व इतिहासमा कोरिनेछ नेपालको नाम ।
चिनियाँ सरकारले कम उमेर र अत्यधिक खुबी भएका युवालाई प्रदान गर्ने ‘युवा वैज्ञानिक पुरस्कार’ प्राप्त गर्न सफल पहिलो नेपाली हुन्, प्राध्यापक डा. राजीव झा ।
उनी यति बेला नेपालमा मात्रै नभई चीनका लागि गर्विलो व्यक्ति बन्न पुगेका छन् । प्राध्यापक डा. झा, उनकै नाममा चीनले निर्माण गरिदिएको ‘चाइना नेपाल फ्रेन्डसिप रिसर्च इन्स्टिच्युट अफ राजीव झा’का निर्देशक बन्न सफल भएका छन् र निरन्तर स्वास्थ्य अनुसन्धानमा जुटिरहेका छन् ।
नेपाली र चिनियाँ परम्परागत र आधुनिक औषधिको ‘मि श्रण पद्धति’बाट आमाशय क्यान्सरको औषधि आविष्कार गर्ने लक्ष्यसहित अनुसन्धानमा जुटेका छन् उनी ।
लक्ष्य मूर्त हुने बलियो आधार उनीसँग छ, चीनमा अत्याधुनिक सेन्टर । त्यही सेन्टरमार्फत अनुसन्धान गर्न चीन सरकारले उनलाई दुईपटक गरी १५ लाख ‘आरएमबी’ दिइसकेको छ । यति महत्वपूर्ण जिम्मेवारी पाएपछि उनी दंग त छन्, सँगसँगै चुनौती पनि थपिएको छ उनको काँधमा । नेपाल वा चीनमात्र होइन संसारका आममानिसलाई आमाशयको क्यान्सरबाट बचाउने उनको चुनौती हो ।
नेपाल आएका बेला केही दिनअघि उनलाई भेट्न भैंसेपाटीस्थित उनको निवास पुग्दा सुरुमै उनी चुनौतीको पोको खोल्न आतुर भए। हेर्दा भर्खरै क्याम्पस जाने तन्नेरीजस्तै लाग्ने उनको विचारमा भने अनेकन प्रगतिका सम्भावना छचल्किन्थे ।
नेपालमै आइएस्सी सकेपछि २० वर्षअघि चीन गएका थिए उनी एमबीबीएस पढ्न । आफ्नै पैसाले पढे एमबीबीएस । ‘मास्टर इन सर्जरी’ र पीएचडी चीनले पढायो । पीएचडी सकिएलगत्तै चीन सरकारबाट युवा वैज्ञानिक अवार्ड पनि पाए । हाल सियान ‘मेडिकल युनिभर्सिटी’को क्लिनिकल विभागमा प्राध्यापक छन् उनी ।
साथै अन्य दुई विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर पनि । चीनमा यो स्थान पाउने सम्भवतः उनी नै हुन् पहिलो नेपाली । ०३६ सालमा धनुषाको परवाहा गाउँमा जन्मेका थिए उनी । उनको शिक्षादीक्षाका निम्ति गाउँले जीवन त्यागेर काठमाडौं पसेका थिए उनका बुवाअमा ।
राष्ट्र बैंकमा एउटा साधारण कर्मचारीका रूपमा काम पाएका उनको बुवाले पनि अथाह मेहनत गरे । आमाले पनि वाणिज्य बैंकमा काम गर्न थालेपछि अलि सहज भयो उनीहरूको दैनिकी ।
बाल्यकालदेखि कुनै पनि विषयमा लामो समय घोत्लिने उनको बानी थियो । त्यसैले प्रायः प्रथम नै भए कक्षामा । त्यही भएर आनन्दकुटी विद्यालयले धेरै वर्ष पूर्ण छात्रवृत्तिमा पढायो उनलाई । एसएलसीपछि उनले काठमाडौं विश्वविद्यालयबाट आईएस्सी पास गरे र मेडिकल साइन्स पढ्ने योजना बनाए ।
नेपालमा सीमित मेडिकल कलेजहरूमा भर्ना हुन ठूलो प्रतिस्पर्धा गर्नुपथ्र्यो । सामान्य परिवारका लागि चीन उच्चशिक्षा प्राप्त गर्ने उपयुक्त गन्तव्य पनि थियो । त्यसैले चीनमै सम्भावना देखेर उतै हानिए उनी । रुचिसँगै दिनरातको परि श्रमले अध्ययन र अनुसन्धानमा सफल पनि भए । पीएचडी गर्ने क्रममा पाँचवटा अन्तर्राष्ट्रिय जर्नलमा आमाशयमा हुने क्यान्सरलगायत विभिन्न रोगबारे ‘अनुसन्धानपत्र’ प्रकाशित भएको थियो उनको ।
उनकै नाममा चीनले निर्माण गरिदिएको ‘चाइना नेपाल फ्रेन्डसिप रिसर्च इन्स्टिच्युट अफ राजीव झा’का निर्देशक प्राध्यापक डा. झा क्यान्सर विरुद्धको औषधि पत्ता लगाउन अनुसन्धानरत छन् ।
उत्कृष्ट जर्नलहरूमा प्रकाशित रिसर्च पेपरहरू सबै उत्कृष्ट हुनुले उनलाई बढी जिम्मेवार बनायो । पीएचडी सकेपछि चीन सरकारको ‘नेचुरल साइन्स फाउन्डेसन अफ चाइना’ (एनएसएफसी) बाट ‘फेलोसिफ फर योङ इन्टरनेसनल साइन्टिस्ट’ प्राप्त गरे । त्यसै अवसरमा नैै हरेक वर्ष कम उमेरमा पीएचडी गरेका र एक्स्ट्रा ट्यालेन्टेड विद्यार्थीलाई दिने युवा वैज्ञानिक अवार्ड पाए उनले । संसारभरबाट छानिएका ४० जनामा एक नेपाली युवा छानिनु आफैंमा गर्विलो कुरा थियो ।
जीवनयात्रामा अगाडि बढ्दा उनले पनि व्यक्तिगत, अध्ययन वा अनुसन्धानमा थुप्रै हन्डर खाएका छन् । त्यो नै उनको शक्ति भएको छ । भन्छन्, ‘धेरै दुःख गरेर म चाइना गए । अरू देशका साथीहरूसँग प्रशस्त पैसा हुन्थ्यो । म सधैं सोच्थेँ, मेरो पढाइमा बाबा ममीलाई कसरी कमभन्दा कम भार दिने भनेर । मेरा लागि उहाँहरूले गरेको दुःख सम्झँदा मलाई केही शक्ति मिल्थ्यो ।’
यसो त उहाँहरूलाई भार नपरोस् भनेर उनले विद्यार्थी जीवनबाटै पनि सानोतिनो काम गर्न थालेका थिए । अनुसन्धानमा लाग्न प्रेरित भइरहेका बेला सन् २०१४ मा सान्सी सरकारको कम्युनिस्ट पार्टी अफ चाइनाले संसारका एक सय उत्कृष्र्ट भित्र्याउन ल्याएको ‘हन्ड्रेड ट्यालेन्ट रिक्विटमेन्ट प्रोग्राम’अन्तर्गत दुई करोड आरएमबीबराबरको उपकरण अनुसन्धान गर्ने जिम्मासहित उनी छनोट भए । त्यसमा पनि पहिलो नेपाली बन्न पुगे उनी ।
एकपछि अर्को सफलता हात परिरहेका बेला प्राध्यापक डा. झा नेचुरल फाउन्डेसनबाट सन् २०१५ मा फेरि पनि चार लाख आरएमबीसहित छानिए र दुवैपटक आमाशयको क्यान्सरबारे अनुसन्धान गरे ।
डा. झाको परि श्रमलाई प्रोत्साहन गर्न चीन सरकारले ढिलो गरेन र उनकै नाममा खोलिदियो ‘चाइना नेपाल फ्रेन्डसिप रिसर्च सेन्टर अफ डा. राजीव झा ।’
उनलाई जीवनकै ठूलो उपलब्धिसँगैै चीनको पनि जिम्मेवारी थपिएको छ । हुन त उनी चीनमा सिकेको सीप र ज्ञान नेपालमा प्रयोग गर्न चाहन्छन् । नेपालमै परम्परागत औषधिमाथि अनुसन्धान गरी आमाशयको क्यान्सर निर्मूल पार्ने औषधि पत्ता लगाउने उद्देश्य लिएका झाले यहाँ नयाँ काम गर्न कठिन हुने देखेपछि हाललाई सोही सेन्टरबाट नेपाललाई सहयोग गर्न खोजिरहेका छन् । त्यसका लागि उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)सँग पाँचबुँदे सम्झौतासमेत गरेका छन् ।
हरेक वर्ष प्रतिष्ठानमा अध्ययनरत र कार्यरत १० जना चिकित्सकलाई उक्त सेन्टरमा बोलाएर अनुसन्धानसम्बन्धी तालिम दिने पहिलो सम्झौता हो । यस्तै नेपाल र चीनको अस्पताल व्यवस्थापन प्राणालीबारे अध्ययन अवलोकन गर्ने, नेपालमै पनि त्यस्तो सेन्टर स्थापना गरी स्वास्थ्य विषयमा अनुसन्धानको थालनी गर्ने सहमतिसमेत उनले न्याम्ससँग गरेका छन् ।
हुन त उनले चीनको कदरपछि २०१५ अगस्ट १२ मा नेपाल सरकारबाट पनि एक लाख रुपैयाँसहित युवा वैज्ञानिक विधामा सम्मान पाए । यसले नेपालको स्वास्थ्य क्षेत्रको अनुसन्धानमा पनि उनको जिम्मेवारी थपिएको छ । तर, अहिलेसम्म उनले सोचेजस्तो साथ नेपाली चिकित्सक र अनुसन्धानकर्ताबाट पाउन सकेका छैनन् । नेपालको स्वास्थ्य क्षेत्रको अनुसन्धानमा फड्को मार्न सरकारले नै नेतृत्व गर्नुपर्ने उनको सुझाव छ ।
चीनको आर्थिक विकास द्रुत गतिले अघि बढिरहेको छ र यसले अहिले नै विश्वको दोस्रो ठूलो आर्थिक शक्तिको हैसियत प्राप्त गरिसकेको छ । यसको कडी उनी अथाह परि श्रम, सक्षम नेतृत्व र समाजवादी बाटो भएको बताउँछन् । उनलाई चिन्ता छ, नेपालका अधिकांश चिकित्सक बिरामी जाँच्नमात्र व्यस्त भएको देख्दा । यसले गर्दा बिरामी भएपछि मात्रै उपचार गर्ने तर रोग लाग्न नदिन उपाय नखोज्ने प्रवृत्ति बढिरहेको छ ।
उनका अनुसार नेपालमा रहेको ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्’ र स्वास्थ्य मन्त्रालयले स्वास्थ्य अनुसन्धानमा थोरै भए पनि सहयोगी कदम चालेको भए नेपालमा अज्ञात रोगका कारण मानिसको ज्यान जाने थिएन ।
भन्छन्, ‘चीनमा जस्तै हरेक सरकारी अस्पताल वा ठूलो अस्पतालमा परम्परागत आयुर्वेदिक चिकित्सा पद्धतिको प्रवद्र्धन गर्न कम्तीमा एउटा शाखा वा ओपीडी सेवा राख्नुपर्छ ।’
‘नेपालमा भएका जडीबुटी कि खेर गइरहेका छन् कि व्यापारिक प्रयोग भइरहेका छन् । तर, अनुसन्धान गरी त्यसलाई औषधिका रूपमा प्रयोग गरी धेरैको जीवन बचाउन सकिन्छ’, उनले भने, ‘नेपालका जडीबुटीहरूको प्रशोधन केन्द्र खोली त्यसलाई यहाँ प्रशोधन गरेर बाहिर पठाउन सक्यौं भने हामी ठूलो फड्को मार्न सक्छौं ।’ उनका अनुसार निकै सस्तो मूल्यमा नेपालबाट विदेश जाने कच्चा जडीबुटी विदेशबाट प्रशोधन भएर महँगो मूल्यमा औषधि बनेर नेपाल आउँछ । त्यसलाई रोक्न नेपालमा राजनीतिक स्थायित्व हुनुपर्ने र सरकारले वातावरण बनाइदिनुपर्ने उनको माग छ ।
डा. झा अनुसन्धानमा मात्र तीक्ष्ण छैनन्, आफ्नो मुलुकप्रति मनकारी पनि छन् । उनले भूकम्पका बेला आफ्नो साढे नौ महिनाको तलबबाट २१ लाख रुपैयाँ भूकम्पपीडितलाई पठाएका थिए । चिनियाँ रेडक्रस टोलीमार्फत भूकम्पपीडितलाई स्वच्छ पानी खुवाउन दुईवटा अत्याधुनिक पानी शुद्धीकरण मेसिन पनि उपलब्ध गराउन लबिङ गरे उनले ।