जुत्ताको जुगान्तर
समाज
‘नानी भने छोरा बिग्रन्छ, जुत्ता लाए खुट्टा बिग्रन्छ’ भनाइ थियो नेपाली गाउँघरमा । जुत्ता लगाउने चलनै थिएन । हिउँदतिर चिसोबाट बच्न उपल्लो भेगतिर स्थानीय कच्चा पदार्थबाट बनेको जुत्ता लगाए पनि बर्खामा त्यता पनि नांगै खुट्टा हिँडिन्थ्यो । पछि बिस्तारै पराल, नालुँ, कपडा, रबर, प्लास्टिक र छालाका जुत्ता–चप्पलको प्रयोग सहर हुँदै गाउँघरतिर आयो । अहिले बर्सेनि ‘५ करोड जोर’ जुत्ता–चप्पल बजारले माग गरेको अनुमान गरिन्छ । ६ सयभन्दा बढी सानाठूला उद्योगमा हजारौं सिपालुले काम पाएको सन्दर्भ दिँदै व्यवसायीहरू ‘नेपाल जुत्ता उत्पादनमा आत्मनिर्भर हुँदैछ’ भन्छन् ।
गएको हिउँदमा हरिसिद्धितिर बरालिँदा पीपलको बोटमुनि बसिरहेकी ९१ वर्षीया हिलठकुँ महर्जनले जुत्ता लगाउने अनुभव सुनाएकी थिइन्, ‘कपासको खोजीमा काठमाडौंबाहिर जाँदा तीन जोर परालका जुत्ता लिएर जान्थ्यौं, फर्किंदासम्म तीनै जोर फाट्थे ।’ यो अनुभव राणाकालको थियो । विभिन्न कामले उपत्यकाबाहिर जाँदा ‘उपत्यकेली’ले परालको जुत्ता लिएर जान्थे । चाहे राणा सरकारको गाडी बोक्न होस् वा काठ बोक्न या उनीहरूको नुनतेल बोक्न अथवा आफ्नै कामले । कसैकसैले उतै जुत्ता बनाउन भन्दै परालै वा तयारी जुत्ता बोकेर जान्थे ।
उति बेला कवाज खेल्ने सिपाहीलाई जुत्ता नलाउँदा पनि हुन्थ्यो रे । टुँडिखेलमा ‘कवाज खेल्न बुटजुत्ता अनिवार्य थिएन । विशेष समारोहमा सिपाहीले बुटजुत्ता लगाउन पर्दा कति सिपाहीका हातमा जुत्ता हुन्थे, मेसो नपाएर हो वा जुत्ताले खुट्टा खाएर ।’ त्यस्तो देखेरै भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ मा लेखेका छन् । ‘कताकति चाडपर्वमा मात्र सिपाहीले जुत्ता लगाउने हुँदा त्यस्ता बुटजुत्ता पनि बन्दुकझैं हातहतियार राख्ने ठाउँमा राखिन्थ्यो’ पनि भनेका छन् । यसबाट सहरमा पनि जुत्ताको प्रयोगमा व्यापकता देखिँदैन ।
पाँडेका अनुसार त्यस बखत मतवालीले जुत्ता लगाउँदैनथे । लगाइहाले पनि उनीहरूले तागाधारीलाई देख्नासाथ सो फुकालेर परैबाट ‘जदौ बराजु’ भन्दथे । सम्भवतः जुत्ता लगाउनेलाई ठालु ठानिन्थ्यो होला । खोजकर्ता दीपक अर्यालका अनुसार काँचा छालाका जुत्तालाई अशुद्ध मान्ने जात र सम्प्रदायका व्यक्तिले पनि विसं १९७०–८० तिर खेतबारीमा तिनको प्रयोग थालेका थिए तर घरमा होइन ।
‘छालाका जुत्तालाई मूल घरको वरिपरि नराखी गोठ वा घरभन्दा केही पर राखिन्थ्यो ।’ छालाबाट बनेको वस्तु भएकाले यसो गरेको हुनुपर्छ किनभने छालाको जुत्ता बिक्री गर्न पनि मानिस हिच्किचाउँथे । मदन पुरस्कार पुस्तकालय (मपुपु)को स्रोत सामग्रीको आधारमा अध्येता अर्यालले तयार पारेको खोजी रिपोर्टअनुसार ठहिँटीका मुसलमानका बाहेक अन्य पसल छालाका जुत्ता बिक्री गर्न तयार हुँदैनथे । अर्यालका अनुसार व्यापारीहरूले पनि भारतको कानपुरबाट जुत्ताहरू मगाउन खुट्टाको नापो पठाउँथे । ग्राहकका खुट्टा कुनै कागजमा राखेर त्यसको वरिपरी घेरा लगाई ।
विस्तारै जुत्ताको व्यापकता हुन थालेपछि मध्यमवर्गीय चासोमा पर्न थालेको थियो । दीपकले ‘हिमाल खबरपत्रिका’मा लेखेका छन्, ‘त्यो बेला काठमाडौंमा रेन्किङको कोट र ब्यारेटका जुत्ता मध्यमवर्गको सपना थियो ।’ १९८८ सालतिर विश्वबजारमा मन्दी देखिएपछि उत्पादित वस्तुहरू अन्यत्र प्रसार हुने क्रममा विसं १९९० तिर काठमाडौं पनि भित्रिए । भीमबहादुरका अनुसार ‘त्यति बेला काठमाडौंमा स्वदेशी माल पाउन छोडेर विदेशी मालको अड्डा बन्न थालेको थियो ।’
२८ रुपैयाँ तोला सुन भएको बेलामा एक रुपैयाँ मोलको ‘टेनिस सुज’ काठमाडौंको बजारमा छ्यासछ्यास्ती पाइन थालेको थियो । यो सन्दर्भमा स्वदेशी उत्पादनको पक्ष पनि खोजीयोग्य छ । काठमाडौंको चौहद्दीभित्र कपडाका जुत्ताहरू बन्थे भने पनि यो पक्ष अनुसन्धेय छ । उपत्यकावरिपरि भने छाला जुत्ता उत्पादन भने हुन्थ्यो ।
काठमाडौंवरिपरिका मिजारहरूले छाला जुत्ताको उत्पादन गरिरहेका थिए । उनीहरूले नै काठमाडौंका लागि आपूर्ति गर्थे । बनेपा, तिमाल, पलाञ्चोक, मण्डनजस्ता काठमाडौंपूर्वका ठाउँगाउँका जुत्ता सिउने एक सय बाइसजना मिजारले वर्षमा २५ सय ८० जोर जुत्ता उत्पादन गरेको तथ्य पाँडेले दिएका छन् ।
यो राणाकालको अन्त्यतिरको तथ्यांक हो । यसरी काठमाडौंले छालाका जुत्ता उत्पादन नगरे पनि आयातचाहिँ गरेको देखिन्छ । विसं २००० मा भएको ‘प्रथम अखिल नेपाल औद्योगिक प्रदर्शनी’मा पनि यस्ता पलाञ्चोके छालाका जुत्ता प्रदर्शनीमा राखिएको थियो । यसको मूल्य त्यति बेला एक रुपैयाँ थियो ।
काठमाडौंमा ‘इलिट’हरूले लगाउने जुत्तामध्ये पलाञ्चोके मिजारले बनाएको जुत्ता, हरिसिद्धिमा बनेको रेशादार नालुँको जुत्ता, मृगको छालाबाट बनेको दैलेखी सावरको जुत्ता प्रख्यात थिए । दैलेखी जुत्ताबारे दमन तुलाधरले २०३९ सालमा प्रकाशित संस्मरणमा ‘राणाकालमै प्रतिजोर दैलेखी जुत्ताको एक मोहर पर्ने’ सन्दर्भ कोट्याएका छन् । उनी लेख्छन्, ‘जेठा बा भन्ने गर्नुहुन्थ्यो ‘नरमनरम लुगाफाटा आङमा परेपछि केटाकेटीको बानी बिग्रिहाल्छ नि’ । हामीलाई उहाँले एक मोहर जाने दैलेखे जुत्ता, खाँडीको लुगा जिनको कोट हालिदिनुहुन्थ्यो ।’ यसले पनि काठमाडौंमा दैलेखी जुत्ता चल्तीमा रहेको बुझिन्छ ।
जुत्ता उत्पादन र प्रयोगबारे नेपाली गाउँघरतिर कस्तो अभ्यास थियो भन्ने लेख्य प्रमाणको अभाव छ । गाउँघरतिर कमै जुत्ता उत्पादन हुन्थ्यो । अर्घाखाँची ठूलापोखराका ७३ वर्षीय नमबहादुर मिजारका अनुसार काम गर्नलाई जुत्ताले अप्ठ्यारो पार्ने हुँदा सामान्यजनले त्यति लगाउँदैनथे । जुत्ताको उस्तो चलन गाउँघरतिर नहुँदा, स्थानीय वस्तुभाउबाट उत्पादित तयारी छालालाई बाहिरफेर निर्यात गरिन्थ्यो ।
छालालाई बेचेर नुन साट्न अर्घाखाँचीका मिजारहरू ‘बटौली’ जाने ढाक्रे लहरमा मिसिनुपथ्र्यो । विभिन्न पहाडी गाउँका मानिसहरू बटुलिएर जाने ‘बटौली’ बजारमा काँचो छालाले नुन साटिदिने व्यापारी भेटिँदैनथे । घ्यूले नुन साट्ने भेटिए पनि । त्यस्तो बेला आफ्ना ‘बराजु’लाई बटौली छाडेर कानपुरका मिजारकहाँ पुग्नुपथ्र्याे । ‘कपिलवस्तुको कृष्णनगर हुँदै जाने भारतको लठ्ठावारतिर छाला लगेर त्यसले नुन बोकेर ल्याउँथ्यौं’, ७३ वर्षीय नमबहादुरको अनुभव छ । उनका अनुसार जुत्ताको चलन बढेपछि घरका मूलीमन लागि जुत्ता बनाए पनि भुराभुरीका लागि त बनाइँदैनथ्यो । जुत्ताबारे यस्तै वा फरक अनुभव नेपालको अन्य भागमा आआफ्नै छन् ।
डोल्पा जिल्लाको उत्तरी भेगतिरको कथा अर्कै छ । त्यहाँ ल्हाम (लामो आकारको) जुत्ता लगाइन्थ्यो । मेरा साथीका बाबु फुल्चिङ गाउँका ६२ वर्षीय काले चलाउनेका अनुसार त्यस्ता ल्हाम लगाएका मान्छेहरू हिउँदताका २२ सय मिटर उचाइको तल्लो भेग, फुल्चिङतिर व्यापारका लागि झर्थे । यो पचास वर्षअघिको प्रसंग हो । ‘ल्हाम’ जुत्ताको तलुवा चौंरी वा गाईगोरुको छालाबाट बन्थ्यो ।
यस्तो जुत्ताले हिउँमा टेक्दा पनि पैतालामा चिसो छिर्दैनथ्यो । हिउँको चिसोबाट बच्न यस्ता जुत्ताको स्थानीय उत्पादन गरिन्थ्यो । चलाउनेका अनुसार हिँउदताका ‘ल्हाम’ र त्यो जस्तै ‘दोचा’ प्रयोग गरे पनि बर्खामा भने त्यति प्रयोग हुँदैनथ्यो । नांग खुट्टा हिँडिन्थ्यो । तर, पर्वतारोहणको चलन आइसकेपछि जुत्ता प्रयोगमा फरकपन देखिँदै गयो । २००७ सालपछि पर्वतारोहणमा संलग्न भरिया, शेर्पा, गाइडहरूले विशेष प्रकारका आयातीत जुत्ता पनि प्रयोग गर्न थाले । खास किसिमको जुत्ता किन्न नसक्ने भरियाहरूले हिमाल चढ्ने त के पदयात्राका लागि पनि अनुमति पाउँदैनथे । बीचैबाट फर्कनु पथ्र्यो ।
यसरी पर्वतारोहण तथा पदयात्रासँगै भित्रिएका, परम्परागत सीपका आधारमा तयार पारिएका र भारतीय बजार हुँदै आएका जुत्ताको निरन्तरता छँदै २०२२ सालदेखि संस्थागत रूपमा नेपालमा जुत्ताको उत्पादन हुन थाल्यो । चिनियाँ सहयोगमा बाँसबारी छाला जुत्ता कारखाना (बाछाजुका), अहिलेको गंगालाल हृदय रोग केन्द्र भएको ठाउँमा खोलिएको थियो । तर त्यति बेला उत्पादन भएका जुत्ता र जनसंख्याबीच ठूलो अन्तर नै देखिन्छ ।
यो आधारमा खाली खुट्टा हिँड्ने मानिसको ठूलो संख्या अनुमान गर्न सकिन्छ । २०१८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या ९४ लाख १२ हजार थियो । आर्थिक वर्ष २०२३-२४ सालमा बाछाजुकाले २० हजार ९५ जोर जुत्ता उत्पादन गथ्र्याे । अझ २०४१÷४२ सालसम्म पनि यसले हजारकै अंकमा ५३ हजार १९८ जोर जुत्ता उत्पादन गरेको थियो । भनेपछि त्यति बेला धेरै मानिस जुत्ता नै लगाउँदैनथे नभए स्थानीय उत्पादन वा भारतीय बजारबाट आएका जुत्तामा भर पर्थे ।
बुद्धिनारायण श्रेष्ठले लेखेअनुसार सन् १९९२ मा निजीकरण गरिएपछि बाछाजुकाको मेसिन भारतलाई बेचियो । यसको मेसिनले अझै पनि (२०७१ सम्म) गोरखपुरमा जुत्ताको उत्पादन गरिरहेको थियो । यो कारखाना आएपछि नेपालमा सुरुमा २० हजार जोर जुत्ता प्रतिवर्ष उत्पादन गरिएको थियो । यसको निजीकरण हुनुअघि २०४८-४९ सालमा नेपालमा १५ लाख जोर जुत्ता उत्पादन हुन्थ्यो । त्यसपछिका केही वर्ष नेपाली बजारमा विदेशी जुत्ताहरूको बिक्री बढेको थियो ।
अहिले काठमाडौंमा जुत्ता उत्पादन र यसको कच्चा पदार्थबारे दुई थरी विचार सुन्न पाइन्छ । पहिलो प्रवद्र्धनात्मक ढंगको छ जसले जुत्तामा नेपाल आत्मनिर्भर छ । दोस्रो तर्क भने आत्मनिर्भर छैन भन्ने हो । आत्मनिर्भर छ भन्ने तर्कका प्रमाणअनुसार २०७१ सालसम्म नेपालमा ६ सयभन्दा बढी छालाजुत्ता उद्योगमध्ये ८० प्रतिशत काठमाडौंमा रहेका र करिब दुई लाख ७५ हजार जनशक्ति जुत्ता उत्पादनमा सक्रिय रहेको बताइन्छ ।
२०७१ सम्ममा नेपालमा वार्षिक पाँच करोड जोर जुत्ता बिक्रीको अनुमान गरिन्छ । त्यसमध्ये तीन करोड जोर जुत्ता नेपालमै उत्पादन गरिन्छ भने दुई करोड जोर जुत्ता विदेशबाट आयात गरिन्छ । यसको मतलब जनसंख्याको झन्डै दोब्बर अर्थात् एकजनाले वर्षमा डेढ जोर जुत्ता किनेको देखिन्छ । तर, यस्तो विचार राख्नेहरू केही पक्षमा मौन छन् ।
उदाहरणका लागि एउटा जुत्ता बनाउँदा ३७ वस्तु प्रयोग हुने र ४७ प्रक्रियाबाट गुज्रनुपर्ने हुन्छ । ३७ वस्तुमध्ये नेपालमा दुईतीन वस्तुबाहेक अरू उत्पादन हुँदैन । सबै आयात गर्नुपर्छ । ४७ प्रक्रिया पार गर्न पनि नेपालमा दक्ष जनशक्ति छैन । विदेशबाट बोलाउनुपर्छ ।
विभिन्न मोडेलका जुत्ता उत्पादनका लागि नयाँनयाँ मेसिन चाहिने र त्यसको लगानीको पक्षबारे ‘आत्मनिर्भरता’को आवाज उठाउने मौन छन् । अर्को, जुत्ता उत्पादनका लागि गाई र गोरुको छाला राम्रो मानिन्छ, जुन नेपालमा छैन । भैंसी र बाख्राको छालामात्र उत्पादन गरिन्छ । नेपालमा छाला निर्यातको ८० प्रतिशत काँचो छाला निर्यात हुन्छ । त्यही छाला प्रशोधनपछि महँगो मूल्यमा किनेर ल्याउनुपर्छ ।
के नेपाल जुत्ता उत्पादनमा आत्मनिर्भर छ त ? बरु कच्चा पदार्थ आयात गरेर नेपालमै जोडजाड गरी उत्पादन गरिने भएकाले यसलाई आत्मनिर्भर उद्योगका रूपमा परिभाषित गर्न खोजिएको हो कि ? यो प्रश्नलाई थाती राखेर प्रयोगको पक्षलाई मात्र हेर्ने हो भने जुत्ताको व्यापकता र व्यवसाय ठूलो भइसकेको छ । गाउँघरमा पनि फेसनेबल जुत्ताको पसल नै देखिन थालेका छन् । यस्तो अनुभव वा तथ्यांकले जुत्ता प्रयोगबारे समाजको पुरानो चित्र उल्टाएको छ । नयाँ पुस्ताले ‘जुत्ता लाउँदा पनि खुट्टा बिग्रन्थ्यो र ? ’भनेर नपत्याउने भएको छ ।