तीजमा सँगै नाचे मधेसी-पहाडी
विराटनगरः मोरङ बरगाछीको बासुकीनाथ मन्दिरमा आइतबार कार्यक्रम संयोजक सुधा पौडेलले माइकबाट आह्वान गर्दै भनिन्, ‘अब आदिवासी÷मधेशी समुदायका दिदीबहिनी स्टेजतर्फ आउनु पर्यो, सँगै नाचगान गरौं, लु आउनुहोस्, संकोच छाड्नुहोस्, तीज–छठ तपाईं हामी सबैको हो ।’
उनको यो आह्वानपछि रातै साडीचोली र सुनका गरगहनामा सजिएका आदिवासी-मधेशी महिला स्टेजतर्फ अघि बढे । अघिल्लो पक्तिमा नाच्न तम्तयार भएकी थिइन् चाँदनी चौककी सुनिता कामत । उनले आफ्ना समुदायका अन्य दिदीबहिनीलाई इशारा गरेर स्टेजतर्फ बोलाइन । माइकमा गीत बज्न सुरु भयो ‘तीजको लहर आयोबरि लै.....’ त्यसपछि गीतको आवाज झन् ठूलो बन्दैगयो । के पहाडी, आदिवासी अनि मधेशी सबै दिदीबहिनीले कम्मर मर्काउँदै धीत मरुञ्जेल नाचे ।
एकआपसमा अंकमाल पनि गरे । संयोजक पौडेलले भनिन्, ‘हामी जातीय रुपमा विभाजित छैनौँ भन्ने सन्देश दिन सामूहिक तीजको कार्यक्रम गरेका हौँ, पहिले हामी सबै नेपाली हौँ, त्यसपछि मात्रै अरु के के हौंला ।’ उनले विगतमा वार्डबाट मात्र प्रतिनिधित्व गर्ने गरिएकोमा यो वर्ष खुला कार्यक्रम गरिएको पनि बताइन् ।
अघिल्लो वर्ष यही बेला तराई÷मधेश बन्द थियो । नाकाबन्दीले जनजीवन उकुसमुकुस भएको थियो । त्यहीबेला परेको तीजमा धेरै महिलाले सँगसँगै नाचगान र रमाइलो गर्न पाएका थिएनन् । अझ समुदाय समुदायबीच जातीय विद्वेष फैलदा मधेशी र पहाडी भन्ने साम्प्रदायिक भावनाले महिलाबीच पनि निकै ठूलो दूरी बढेको थियो । त्यसले तीज नै खल्लो बनेको थियो । तर, यो वर्ष विराटनगरका पहाडी, आदिवासी र मधेशी समुदायले सँगै नाचगान गर्दै दर खाएर उल्लासमय रुपमा तीज मनाएका छन् ।
जामुनगाछीकी प्रेक्ष्या चौधरीले आइतबार ‘अचरा खड्गी’ लगाएकी थिइनन् । यो थारु महिलाले लगाउने पोसाक हो । उनका संगीहरुले पनि पोसाक बदलिएका थिए । सितारा भरेको रातो साडी । सारीको पारीको रंगसँग मेल खाने बुक्रेटको चोली । पुठ्ठा मुन्तिरसम्म झुन्डिएको छड्के तिलहरी । केशमा सिउरिएको सुनकै चन्द्रफूल । घाँटीमा टिमिक्कै टाँसिएको नेकलेस र त्यसमुन्तिरसम्म झरेको मंगलसूत्रले थारु महिलाको सुन्दरता झनै खुलेको देखिन्थ्यो । तीजको रमझममा हँसिली देखिएकी चौधरीले भनिन्,‘हामी पनि तीज मनाउँछौं । व्रत बस्छौ । नाचगान र रमाइलो गर्छौ ।’
तीजमा हिन्दू महिलाले लगाउने गरगहना र पोसाकमा चिटिक्क परेकी सीता चौधरीलाई देख्ने जोहोकीले यिनी थारु समुदायकी हुन भनेर खुट्याउनै सक्तैन थिए । रातो पहिरन, शिरमा गुलावको फूल र हातमा मेहन्दी लगाएकी उनी कुनै हिसाबले पहाडी महिलाभन्दा कम सुन्दर देखिएकी थिइनन् । चौधरीले भनिन्,‘पोहोर साल के के कुराले तीज मनाउन अफ्ठेरो भएको थियो, यो पटक भने मन्दिरमा भेला भएर सबै सँगै मनाउादै छौं ।’ विराटनगरभरि यस्ता धेरै ठाउँमा समुदाय समुदाय मिलेर कार्यक्रम गरेका छन् ।
‘विगतमा मनमा बिझेको तुष मेट्न मद्दत पुगेको छ’, विराटनगर १० सरस्वती टोलकी लक्ष्मी साहले भनिन्,‘अघिल्लो वर्ष टाडिएकाहरु सबै एकै ठाउँ भेला भएर रमाइलो गर्दैछौं ।’ उनले जातीय र साम्प्रदायिक सोचले समाजको कुभलो मात्र गर्ने बताइन् ।