दुबईमा झापाली समाजको तीज कार्यक्रम
दुबईः झापाली समाज युएईले असहाय बालबालिकाको सहयोगका लागि तीज विशेष कार्यक्रम गरेको छ । झापाली समाजले समाज सेवाको सोच सहित ‘असहाय बालबालिकाका लागि १० लाखको अक्षयकोष’ नारा दिएर तीज विशेष कार्यक्रम गरेको हो ।
तीज विशेष कार्यक्रममा नेपाली संगीत क्षेत्रका नयाँ र चर्चित अनुहार टंक बुढाथोकी, तारावीर पाण्डे, कविता सिवाकोटीले संगीतिक प्रस्तुति पस्किए । सँगै कलाकार प्रकाश पौडेल, रमण दाहाल, पारस लामा, उर्मिला बस्नेको प्रस्तुतिले तीज विशेष कार्यक्रम अझ रोचक बन्यो ।
दुबईमा भएको कार्यक्रममा पाँच सय बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीको उपस्थिति थियो । रातो साडी, चौबन्दी चोलीसँगै परम्परागत गहनामा सजिएका नेपाली दिदीबहिनी कलाकारसँगै नाचेका दृश्यले युएईमा नेपालकै झल्को मिल्यो ।
झापाली समाज युएईका अध्यक्ष मोहन सिवाकोटीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली समाज युएईका अध्यक्ष चन्द्र सिवाकोटी थिए ।