तीन करोडका अखाद्य सामग्री नष्ट
काठमाडौंः बजारमा बिक्रीमा राखिएका तीन करोड रुपैयाँ मूल्य बराबरका मानवस्वाथ्यलाई हानि गर्ने र अखाद्य सामग्री नष्ट गरिएको छ । विभिन्न सरोकारवाला निकायको सहयोगमा आपूर्ति मन्त्रालयले गरेको बजार अनुगमनका क्रममा फेला पारिएका सामग्री आइतबार नष्ट गरिएको हो । बजार अनुगमनका क्रममा सरकारले उपत्यका विभिन्न पसलबाट करिब तीन साताको अवधिमा ती सामग्री बरामद गरेको थियो ।
आपूर्ति मन्त्री दीपक बोहोराले काठमाडौंको सुन्दरीघाटस्थित बागमती किनारमा खाल्डो खनेर ती सामग्री नष्ट गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले गुणस्तरहीन सामग्री नष्ट गर्ने योजना भए पनि उनी नआएपछि आपूर्ति मन्त्री बोहोराले नष्ट गरे । ‘अनुगमनका क्रममा तीन करोड मूल्य बराबरको गुणस्तरहीन र म्याद नाघेका दैनिक उपभोग्य वस्तु जफत गरेका छौं’, सामान नष्ट गर्दै मन्त्री बोहोराले भने, ‘जनताको आँखामा छाडो हालेर स्वास्थ्यसँग खेलवाड गरी गुणस्तरहीन सामग्री बिक्री गर्ने व्यापारिक प्रतिष्ठान र उद्योगलाई कुनै शर्तमा म छाड्दिन् ।’
अनुगमनको क्रममा जफत गरिएका यस्ता वस्तु ओसार्न काठमाडौं महानगरपालिकाका १५ वटा गाडी प्रयोगमा ल्याएको थियो । प्रधानमन्त्री दाहालको ठाडो आदेशमा आपूर्ति मन्त्रालयले आपूर्ति विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, नेपाल आयल निगम, खाद्य संस्थान, औषधि व्यवस्था विभाग, पशुपन्छी क्वारेन्टाइन, नेपाल प्रहरी, उपभोक्तावादीसहित १० वटा निकाय सम्मिलित कार्यदल बनाएर अनुगमनका लागि परिचालन गरेको थियो । साउन ३१ गतेदेखि भदौ १७ गतेसम्म परिचालन भएको यो विशेष अनुगमन टोलीले सामग्री जफत गरेको हो ।
यसरी जफत गरिएका सामग्रीमा माछामासु, दूध तथा दुग्धजन्य पदार्थ, चामल, दाल, पास्ता, दालमोठ, भुजिया, चाउचाउ, बिस्कुट, चकलेट, मिठाई तथा मिठाईजन्य पदार्थ, कच्चा पदार्थ, चियापत्ती र कफी, चिसो पेय पदार्थ, पीठो, क्यान जुस, परफ्युम, औषधि, मदिरा, चिप्स, मम, तरकारी, खानेतेल र तयारी खाद्य पदार्थ छन् । यसैगरी स्याम्पु, कस्मेटिक, खाना पकाउने भाडावर्तन, कर्न फ्लेक्स, केकलगायत करिब एक लाखभन्दा बढी प्रकारका दैनिक उपभोग्यका सामग्री नष्ट गरिएको छ ।
आपूर्ति विभागका महानिर्देशक गोकुल धितालले १९ दिनको अवधिमा बजार अनुगमन गरेर राज्य पहिलो पटक ठूलो मूल्य बराबरको गुणस्तरहीन सामग्री जफत गर्न सफल भएको जानकारी दिए । अनुगमनका क्रममा एउटै व्यापारिक प्रतिष्ठानबाट २५ लाख मूल्यसम्मका सामान जफत गरी नष्ट गरिएको छ । विभिन्न स्थानमा आउटलेट सञ्चालन गरी दैनिक उपभोग्य सामग्री बिक्री गर्दै आएको मेगा मार्ट र बिगमार्ट डिपार्टमेन्टल स्टोरबाट २५ लाख १४ हजार मूल्य बराबरका गुणस्तरहीन र म्याद नाघेका दैनिक उपभोग्य वस्तु जफत गरिएको थियो ।
मेगा मार्ट र बिगमार्ट डिपार्टमेन्टल स्टोरबाट २५ लाख १४ हजार मूल्य बराबरका गुणस्तरहीन र म्याद नाघेका दैनिक उपभोग्य वस्तु जफत गरिएको थियो ।
यी सामग्री विभिन्न मुलुकबाट आयात गरी ठूला डिस्ट्रिब्युटरमार्फत बिक्री भइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । विभागका अनुगमन निर्देशक लक्ष्मण श्रेष्ठका उपत्यकाका विभिन्न पसलबाट गुणस्तरहीन अवस्थामा फेला पारिएको कुखुरा, खसी, अस्ट्रिजको मासु एक हजार २७ किलो जफत गरी नष्ट गरिएको छ । यसैगरी मासुजन्य पदार्थ १६ किलो र माछा ६३ किलो नष्ट गरिएको छ ।
सेलवेज डिपार्टमेन्टबाट २१ लाख, युनिलिभर नेपालबाट दुई लाख ७० हजार, रुचिका ट्रेडर्सबाट एक लाख ८४ हजार, सुभ सिंगल इन्टरनेसनलबाट एक लाख ३८ हजार आठ सय ९५, कृष्ण नेपाल टे«ेडिङबाट एक लाख १० हजार सात सय ८५, युनाइटेड डिस्ट्रिब्युटरबाट एक लाख एक हजार (थप सामग्रीको मूल्यांकन हुँदै), हेभेन इन्टरनेसनलबाट ९४ हजार सात सय ३१ र पुष्पाञ्जलीबाट ८९ हजार रुपैयाँ मूल्य बराबरका सामग्री जफत गरिएको थियो ।
एलाइट कन्टिनेन्टलबाट ६६ हजार नौ सय ६७, अनु ट्रेड लिंकबाट ५७ हजार ६ सय ३०, विजयकुमार अग्रवालको प्रतिष्ठानबाट ५२ हजार सात सय १३, डाबर नेपालबाट ५० हजार एक सय ७४ र रिसभ ट्रेडबाट ३५ हजार तीन सय ८९ रुपैयाँ बराबरको गुणस्तरहीन र म्याद नाघेको सामग्री जफत गरी नष्ट गरिएको छ । चावहिलस्थित भाटभटेनी फुड्सको खाद्य वस्तु प्रयोगशाला परीक्षण गर्ने काम भइरहेकाले डिपार्टमेन्टको मूल्यांकन आइपुगेको छैन ।
यस्तै ओम श्री बालाजी इन्टरनेसनलबाट ३४ हजार सात सय ८५, हेभेन इन्टरनेसनलबाट ३४ हजार एक सय ३१, पीएस ट्रेडबाट ३२ हजार सात सय ४४, जोडियक मार्केटिङबाट ३१ हजार, नेप टे«डबाट २८ हजार एक सय ४७ र हल्दिरामको नेपाल डिस्ट्रिब्युटर विश्वनाथ ट्रेड हाउसबाट २४ हजार सात सय ८६ रुपैयाँ बराबरको गुणस्तरहीन सामग्री बरामद गरी नष्ट गरिएको छ ।
अनुगमनका क्रममा म्याद नाघेका वस्तुलाई पुनः नयाँ प्याकिङ गरी बिक्री गरेको पनि फेला परेको थियो । उनका अनुसार १९ दिनको अवधिमा चार सय सातपटक अनुगमन गरिएको थियो । अनुगमनका क्रममा कैफियत भेटिएका ४६ व्यापारिक प्रतिष्ठानमा सिलबन्दी गरिएको थियो । व्यापारिक प्रतिष्ठानले त्रुटि सच्याएपछि ती प्रतिष्ठानमध्ये २२ वटा खुला गरिएका छन् ।