पूरक बजेट ल्याउने अर्थमन्त्रीको संकेत
काठमाडौंः माओवादी नेतृत्वको सरकारले पूरक बजेट ल्याउने संकेत गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले आइतबार पत्रकारसँगको भेटघाटमा पूरक बजेट ल्याउन सक्ने संकेत दिएका हुन् ।
अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेटसँग सम्बन्धित तीनवटा विधेयक अझै पारित भएका छैनन् । बजेट कार्यान्वयन नहुने अवस्था आएमा पूरक बजेट आउन सक्ने महराको भनाइ छ । केपी ओली सरकारले ल्याएको बजेटका विधेयक परित गर्न कांग्रेस र एमाले नै बाधक बन्दै आएका थिए । अहिले दुई दलको संयुक्त सरकार बनेको छ ।
अर्थमन्त्री महराले भूकम्पपीडितलाई घर बनाउन दिने भनिएको दुई लाख रुपैयाँ अनुदान दुई किस्तामा उपलब्ध गराउन लागेको जानकारी गराए । यसका लागि अनुदान रकम वितरण कार्यविधि संशोधन गर्ने उनको भनाइ छ । अहिलेको कार्यविधिमा पीडितलाई तीन किस्तामा उपलब्ध गराउने व्यवस्था छ ।
सोही अवसरमा महराले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा हुलाकी राजमार्ग निर्माणका विषयमा ठोस सम्झौता हुने जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले यही भदौ अन्तिम साता भारत भ्रमण गर्दैछन् ।
हुलाकी राजमार्र्ग चार लेनको बनाउने भनिए पनि भारतसँग अहिलेसम्म ठोस सम्झौता हुन सकेको छैन ।
‘हुलाकी राजमार्ग निर्माण गर्न भारतले आठ अर्ब रुपैयाँ सहयोग गरेको छ त्यसमा नेपाल सरकारले पाँच अर्ब ६० करोड रुपैयाँ थपेर साढे १३ अर्ब रुपैयाँ पुर्याएको छ’, अर्थमन्त्री महराले भने, ‘यो रकमबाट पहिलो चरणको हुलाकी राजमार्ग निर्माणकार्यले तीव्रता पाउनेछ ।’