हिरतालिका तीज मनाइयो

 हिरतालिका तीज मनाइयो

काठमाडौंः हिन्दु नारीले आइतबार मुलुकभरका शिवालयमा महादेवको पूजाआराधना गरेर हरितालिका (तीज) मनाएका छन् । काठमाडौं उपत्यकाको आकर्षक पशुपतिनाथ मन्दिरमा लाखौं ब्रतालुले दर्शन र पूजाआराधना गरेका छन् ।

यद्यपि साँझमा पशुपति मन्दिर परिसरमा भक्तजनहरू तनावमा देखिन्थे । हजारौं भक्तजनहरू मन्दिर दर्शनका लागि लाममै रहेका बेला भण्डारीहरूले सात बजेर २० मिनेटमा आरतीलगत्तै मन्दिरका चारै ढोका बन्द गरेका थिए । सामान्यतयाः तिजको बेला साढेआठ नौ बजेसम्म पशुपतिका सबै ढोका खोलिने चलन भए पनि भेटीमा असन्तुष्ट भएर भण्डारीहरूले भक्तहरूको पर्वाहै नगरी ढोका बन्द गरिदिएको स्रोतले जानकारी दिएको छ ।

परापूर्वकालदेखि तिजको दिनमा अविवाहित नारी सुयोग्य वरको कामना र विवाहित महिला पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै निराहार बसी भगवान् शिवको दर्शन, पूजाआराधना गर्दै आएका छन् ।

२० वर्षदेखि क्यानडामा बस्दै आएकी सिर्जना गिरीले आइतबार पौने घन्टामै पशुपतिनाथ मन्दिरको दर्शन र पूजा गरिन् । ‘पाँच वर्षअघि आउँदाभन्दा यो वर्ष धेरै व्यवस्थित पाएँ’, उनले भनिन्, ‘पाशुपत क्षेत्रको कोर एरियाभित्र यो वर्षदेखि पुरुषलाई निषेध गरिएकाले खुला महसुस भएको छ । तीन हजारभन्दा बढी स्वयंसेवक हुन्थे तिनको भीडबाट मुक्त भएछ ।’

सँगै आएकी बानेश्वरकी मञ्जु जंगमले भने कोर एरियाबाहिर लाइनको व्यवस्था अव्यवस्थित भएको बताइन् । कोषले यसपटक गौशाला, मित्रपार्क र गुह्येश्वरीबाट लाइन लागेर क्रमशः मन्दिरको दक्षिण, पश्चिम र उत्तर गेटबाट प्रवेश गरी दर्शन र पूजा गर्ने व्यवस्था मिलाएको थियो ।

उनले भनिन्, ‘पहिले चाबहिलदेखि सिनामंगलसम्म र गुह्येश्वरीका साथै पुरानो बानेश्वरबाटै सवारी निषेध गरिन्थ्यो अहिले गाडीकै भीडभाड र धुवाँधुलोबाट लाइन बस्नुपर्‍यो ।’ उनले कोषले माइकिङ नगर्दा कतै आधा, एक घन्टा र कतै तीनचार घन्टामा दर्शन गर्नुपरेको जानकारी दिइन् । बिहान दुई घन्टा परेको वर्षात्का कारण लाइनमा रहेका ब्रतालुलाई समस्या भए पनि दिनभर बादल लागेकाले यसपटक बेहोस हुनेको संख्या एकदमै न्यून रह्यो ।

स्वयंसेवकको व्यवस्था हटाएपछि मूल प्रवेशद्वार पश्चिम गेटमा विगतजस्तो ठेलमठेल र होहल्ला भएन । नित्य दर्शनार्थी पुरुषसमेतका लागि बिहान ६ बजेसम्ममात्र प्रवेश दिइएको थियो । विशेष पूजाका भक्तजनलाई मन्दिरको पूर्व ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको थियो । यसपटकदेखि कोषले एक हजार रुपैयाँ तिरेर गर्न पाउने विशेष पासको व्यवस्थासमेत खारेज गरेको छ । प्रेस, सुरक्षा निकाय, कोषका कर्मचारी र सेवा प्रदायकले आआफ्नै निकायबाट जारी गरिएका परिचयपत्र प्रयोग गर्न पाउने व्यवस्था पहिलोपटक गरिएको थियो ।

कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले कोषले सहज दर्शनका लागि यस पटकदेखि स्वयंसेवक र विशेष पासको व्यवस्था खारेज गरेर प्रहरीलाई जिम्मेवारी दिएको जानकारी दिए । उनले भने, ‘लगभग १० हजार पास वितरण हुन्थ्यो, कतिले त डुप्लिकेट बनाएर पनि काम चलाएछन् ।

त्यसैले पास खारेज गर्‍यौं । एक हजार तिरेर विशेष पास लिनेविरुद्ध घन्टौं लाइन लाग्नेले विरोध गरेर भगवान् सबैका समान हुन् भने । त्यसपछि त्यो पनि हटाएका हौं ।’ उनका अनुसार यसपटक करिब चार हजार प्रहरीले सुरक्षासहित लाइनको व्यवस्थापन गरेका थिए ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश सुशीला कार्कीले साँझ पशुपतिनाथ मन्दिर पुगी दर्शन र पूजा गरेको कोषका सदस्यसचिव गोविन्द टन्डनले जानकारी दिए । उनले भने, ‘यसपटक सात लाखजति ब्रतालुले पशुपतिनाथको दर्शन र पूजा गरेका छन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.