साढे २ वर्षीया नाबालिकालाई बलात्कार गर्नेलाई १६ वर्ष कैद
स्याङ्जाः साढे २ वर्षीया नाबालिकालाई बलात्कार गर्ने एक व्यक्तिलाई १६ वर्ष जेल सजाय सुनाइएको छ। जिल्ला अदालत स्याङ्जाले नाबालिकामाथि बलात्कार गर्ने ५४ वर्षीय सन्तबहादुर विकलाई १६ बर्ष कैद सजायसहित पीडित परिवारलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको हो।
जिल्ला न्यायधीश चन्द्रबहादुर सारुको एकल इजलाले सोमबार यस्तो फैसला सुनाएको हो। मुलुकी ऐन २०२० को जवरजस्तीकरणीको दफा ३ को उपदफा १ अनुसार १० वर्षभन्दा मुनिका बालिकामाथिको करणीमा १० देखि १५ वर्षसम्मको कैद व्यवस्था छ। त्यसलाई आधार बनाएर न्यायाधीश सारुले नावालिकामाथि भएको यौन दूराचारसमेत भएको देखिएका कारण जवरजस्ती करणीको दफा ९ को (क) अनुसार थप एक वर्ष कैद सजायसहित महलको १० को (ग) अनुसार पीडितलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाइएकी हुन्।
चापाकोट नगरपालिका–८ का विकले २०७२ फागुन १८ गते साढे दुई वर्षिया नावालिकालाई बलात्कार गरेका थिए। आफ्नै घरमा खेल्दै गरेकी नावालिकालाई फकाउँदै गोठमा लगेर दिउँसै बलात्कार गरेको आरोपमा पक्राउ परेका विक पूर्पक्षका लागि थुनामा थिए।