मानव तस्करी

मानव तस्करी

नेपाल मानव तस्करीको लागि सहज मुलुकको रूपमा स्थापित छ । केही वर्ष अघिसम्म नेपालबाट सीमापारि भारतमा घरेलु कामदारको रूपमा जानेहरू श्रम र तीमध्ये केही यौन शोषणको सिकार हुने गरे पनि उनीहरूको भौतिक सुरक्षा त्यति चिन्ताको विषय बनेको थिएन ।

त्योसँगै भारतीय ‘यौन बजार’ मा नेपाली बालिका तथा युवतीको बेचबिखन र त्यो कारोबारमा नेपाली ‘दलाल’ हरूको संलग्नता कानुन र राज्यका विविध संयन्त्रको सक्रियताबाट निरुत्साहित हुँदै आए पनि नयाँ रूपमा मानव तस्करी मौलाएको छ । सार्कले मानव तस्करीविरुद्धको सहयोग सञ्जाललाई सक्रिय बनाउने निर्णय गरेपछि सम्भवतः ‘यौन बजार’ मा नेपाली महिलाको उपस्थितिमा न्यूनता आएको छ ।

तर दुर्भाग्य, सार्क मुलुकहरूलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर त्यहाँभन्दा बाहिर नेपालीहरूलाई पुर्‍याउने प्रवृत्ति तथा घटनामा अनायास वृद्धि भएको छ, खासगरी गत वर्षको विनाशकारी भूकम्प र त्यसले लाखौंको संख्यामा नेपालीहरूलाई विस्थापन गरेपछि । आर्थिक र सामाजिक हिसाबले अनिश्चिततामा धकेलिनेहरू अनेक प्रलोभन र आश्वासनको सिकार बन्ने गर्छन् । अहिले त्यही भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार भूकम्पपछिको अवस्थामा नेपालबाट तस्करी हुनेहरूको संख्यामा २० प्रतिशतसम्म वृद्धि भएको छ । झन्डै १० हजारको हाराहारीमा गत वर्ष नेपालीहरू मानव तस्करीको सिकार बनेका छन् ।

संख्याको हिसाबले विगतका वर्षहरूभन्दा यस वर्ष त्यस्ता घटनामा गिरावट आए पनि सरकार र दलहरूले यी घटना र त्यसको आपराधिक पक्षबारे उदासीनता देखाएका छन् । वर्तमान संसद्का आठजना सदस्यहरूमाथि मानव तस्करीको आरोप लागे पनि सरकार र सम्बन्धित दलहरूले उनीहरूमाथिको कारबाहीलाई अपेक्षित तीव्रताका साथ अनुसन्धान गरेको छैन ।

कामको खोजीमा नेपालीहरू खाडी मुलुकहरूमा गइरहेका छन्, मुलुकभित्रका विभिन्न ‘म्यानपावर एजेन्सी’ मार्फत भने महिलालाई एजेन्सी तथा बाह्य कारोबारीहरूका दलालमार्फत भारतको दिल्ली, मुम्बई र श्रीलंकाको कोलम्बो हुँदै खाडी मुलुक पुर्‍याइन थालेका छन् । ‘लैंगिक समानता’ आर्थिक, सामाजिक र न्यायिक हकको लागि अत्यावश्यक नागरिक हक हो र त्यसमा राज्य अनि उससँग अनुमति हासिल गरी सञ्चालनमा रहेको कुनै पनि निकायले भेदभाव गर्न पाउँदैन ।

नेपाली नागरिकहरू देशभित्र या बाहिर गई रोजगार गर्दा उनीहरूको सामाजिक र कानुनी सुरक्षाप्रति सरकार उदासीन रहन पाउँदैन । बढ्दो तस्करीबाट मुलुकका नागरिक प्रभावित हुँदै जाँदा सार्क संयन्त्र र अन्य दुईपक्षीय कूटनीतिक च्यानल अनि विदेशस्थित आफ्ना दूतावासलाई सक्रियताका साथ परिचालन गरी ‘तस्करी’ का सिकारहरूको सुरक्षा र तस्करहरूलाई कानुनको दायरामा ल्याउने दायित्वबाट सरकार पन्छिन पाउँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.