'नेपालबाटै विश्व शान्तिको सन्देश फैलाउन सकिन्छ'
काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाटै विश्व शान्तीको सन्देश फैलाउन सकिने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा चीन बौद्धधर्मावलम्बी सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले विश्वका बौद्ध धर्मावलम्बीलाई मात्रै नेपाल आउने वातावरण सिर्जना गर्न सके देशले ठूलो लाभ लिन सकिने बताएका हुन्।
'यसले नेपालाई पनि चिनाउँछ, आर्थिक समृद्धिको मार्ग प्रशस्त गराउँछ।' दाहालले भने।
प्रधानमन्त्री दाहालले नेपालमा बौद्ध समुदायको आवागमनका लागि जोड दिनुपर्ने बताए। ‘यसो गर्न सकियो भने विश्वभर शान्तिको सन्देश प्रवाह हुनुका साथै नेपालको आर्थिक एवम् पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्छ’
बुद्धको शिक्षा सार्वभौम सर्वकालका लागि मान्य हुने भन्दै दाहालले विश्व शान्ति चाहने सबैका लागि समेत उपयोगी हुन बताए। ‘नेपाल बुद्धको भूमि भएकाले पनि शान्तिको सन्देश नेपालबाटै फैलनुपर्छ र फैलन्छ भन्नेमा म पूर्ण रुपमा विश्वस्त छु ' दाहालले भने।
प्रधानमन्त्रीले मगध सम्राट् अशोकको भूमिका युद्धबाट फर्केर शान्तिका लागि भए जस्तै आफूले पनि युद्धबाट शान्ति प्रक्रियामा आएको र नेपालमा जन्मेका गौतम बुद्धको सन्देश विश्वभर फैलाउन सकारात्मक योगदान पुर्याउन चाहेको बताए।
प्रतिनिधिमण्डलले विश्व शान्तिका लागि बुद्ध भूमिलाई सहयोग गर्न आफूहरु तयार रहेको प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।