‘राम्रा योजना होल्ड गरेर किन फास्ट–ट्रयाकमा आँखा लगाएको ?’
लखनउः एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले ‘होल्ड’ गरेका ठूला परियोजना निर्माण नगर्ने भारतलाई फास्ट्र–ट्रयाकमा आँखा लगाउनुको कारण सोधेका छन् ।
सोमबार भारत लखनउ पुगेका सचिव भट्टराईले भारतीय सरकार र भारतीय कम्पनीले होल्ड गरेका पञ्चेश्वर परियोजना, माथिल्लो कर्णाली, अरुण तेश्रो, हुलाकी राजमार्ग लगायतको निर्माण गर्न नसक्दा समेत फास्ट्र–ट्रयाकमा आँखा लगाएकोप्रति प्रश्न गरेका हुन्।
प्रवासी नेपाली संघ भारत, उत्तर प्रदेश राज्य समितिको आठौँ सम्मेलनको उद्घाटन समारोहलाई गान्धी भवनमा सम्बोधन गर्दै सचिव भट्टराईले भने, ‘भारतले होल्ड गरेका परियोजना नबनाउने अनि फेरी फास्ट–ट्रयाक लगायतका आयोजनामा किन आँखा लगाउने ?’ उनले फास्ट–ट्रयाक नेपाल आफैँले बनाउने भन्दै कुनै पनि हालतमा फास्ट–ट्रयाक भारतलाई दिन नसकिने बताए ।
भट्टराईले फास्ट–ट्रयाकमा आँखा लगाउनुभन्दा पहिला होल्ड गरेका परियोजना बनाउन भारतलाई सुझावसमेत दिएका छन् ।
नेपालले भारत र चीनसँग समानतामा आधारित भएर असंलग्न आन्दोलनका सिद्धान्त तथा पञ्चशीलका आधारमा सम्बन्ध स्थापित गर्न चाहेको उनको भनाइ छ । सचिव भट्टराईले नेपाल भारतसँग भाषा, संस्कृति र दैनिक व्यवहारका आधारमा र चीनसँग व्यापारका मित्रताको साथै एतिहासिकका आधारमा सम्बन्ध रहेको बताए । तर, छोटे भाइ र बडे भाइका आधारमा कसैले कुरा गरे एमालेलाई मान्य नहुने बताए ।
‘छोटे भाइ र बडे भाइका आधारमा कसैले कुरा गर्छ भने एमाले त्यो मान्न तयार छैन । हामी भाइ–भाइ र मित्रका आधारमा सम्बन्ध सुदृढ गर्न चाहन्छौँ,’ भट्टराईले भने ।
तीस लाख भारतीयलाई नेपालमा रोजगारी
सचिव भट्टराईले तीस लाखभन्दा बढी भारतीयले नेपालमा रोजगारी पाएको उल्लेख गर्दै दुबै देश श्रमिकका समस्याप्रति संवेदनशील हुनुपर्ने बताए ।
‘नेपाली मात्रै भारतामा काम गरिरहेको छैनन् । ३० औँ लाख भारतीयले पनि नेपालमा काम गरिरहेका छन् । दुवै देशका सरकारले छिमेकी देशका श्रमिकका समस्याप्रति संवेदनशील हुनु पर्दछ,’ उनले भने, ‘भारतका विभिन्न सहरमा नेपालीमाथि हुने दुव्र्यवहारप्रति भारत सरकारले गम्भीर चासो दिनु पर्दछ ।’
भारतका लागि रेमिट्यान्स भित्र्याउने नेपाल पाँचौँ मुलुक भएको उल्लेख गर्दै भारतको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा नेपाल पनि भएको बताए । ‘नेपाली अरुका मुलकमा काम खोज्दै हिडेका मात्र छैनन्, बरु अरुलाई काम पनि दिइरहेका छन्,’ उनले भने, ‘भारतको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा नेपाल हो । यो कुरा भारतका नीति निर्माताल राम्ररी बुझ्न सक्नुपर्छ ।’
सचिव भट्टराईले भारतले नेपालमाथि नाकाबन्दी गर्नु एतिहासिक भूल भएको समेत बताए। ‘नेपालमाथि लागाइएको नाकाबन्दीको भारतीय नेताले मृत्यु पछि पनि पाप पखाल्न सक्दैनन्। उनीहरुले पश्चाताप गरिरहनु पर्नेछ,’ भट्टराईले भने, ‘भारत वा चीनका चासो के हुन उनीहरुले खुलस्त रुपमा नेपाललाई भन्नु पर्यो ती जायज चासो हामी सम्बोधन गर्न तयार छौँ । तर, हाम्रा छिमेकीले यो पनि बुझ्नु पर्छ कि नेपालका पनि विशेष चासोहरु छन् त्यसलाई तपाईहरुले सम्बोधन गर्नु पर्दछ ।’