महिला संघ महाधिवेशनको तयारीमा, ७३ जिल्लाको अधिवेशन सकियो

महिला संघ महाधिवेशनको तयारीमा, ७३ जिल्लाको अधिवेशन सकियो

काठमाडौं: तेस्रो राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेपाल महिला संघको ७३ जिल्लामा अधिवेशन सकिएको छ।

सङ्घको यही भदौ २९ देखि ३१ गते काठमाडौँमा हुने तेस्रो अधिवेशनका लागि नुवाकोट र रुपन्देहीबाहेक ७३ जिल्लामा अधिवेशन सकिएको केन्द्रीय सदस्य हरिप्रभा खड्गीले जानकारी दिए। नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट पार्टी सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले सबै भ्रातृ संस्थाको निर्वाचन ६ महिनाभित्र गरिसक्ने निर्णय गरेसँगै महिला सङ्घ अधिवेशनमा गर्न लागिएको हो।

तेस्रो राष्ट्रिय महाधिवेशनमा दुई हजार २४४ मतदाताले मतदान गर्न पाउने भएका छन्। देशभरका २४० निर्वाचन क्षेत्रबाट नौ जनाका दरले दुई हजार १०, सभापतिले मनोनीत गर्ने १० जना, वर्तमान केन्द्रीय समिति ४४ र विदेशस्थित सम्पर्क समितिबाट ३० जनाले भाग लिन पाउने महिला नेत्री इन्दिरा तिवारीले जानकारी दिइन्।

लोकतान्त्रिक राज्य व्यवस्था एवम् मूल्य पद्दतिको स्थापनाका लागि स्वर्गीय मङ्गलादेवी सिंहको नेतृत्वमा विसं २००४ साउन २४ मा स्थापना भएको महिला सङ्घको अहिले बल्ल तेस्रो अधिवेशन हुन लागेको हो।

सामाजिक, आर्थिक र राजनीतिक रुपमा पछाडि परेका महिला वर्गको हकहितको संरक्षण र संवद्र्धन गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई अगाडि बढाउन विसं २००४ मा स्व सिंहको सक्रियतामा चिनियाँलाल श्रेष्ठको घरमा महिला भेला गराई ११ सदस्यीय कार्यसमिति गठन गरिएको थियो।

आगामी महाधिवेशनमा वर्तमान केन्द्रीय समितिका सदस्य लड्न नपाउने व्यवस्था गरिएको छ। यही भदौ २९ गतेदेखि हुने निर्वाचनमा अध्यक्ष, महासचिव, कोषाध्यक्षसहित कुल ४२ पदका लागि निर्वाचन हुँदैछ।

बयालिस केन्द्रीय कार्यसमितिमध्ये खुला १५, प्रत्येक प्रदेशमा दुई जनाका दरले १४, जनजाति तीन, दलित तीन, मधेसी तीन र मुस्लिम एक पदका लागि निर्वाचन हुनेछन् । यस्तै, एक उपाध्यक्ष, एक महासचिव र एक सचिवसहित ९ सदस्य मनोनीत गरिने व्यवस्था गरिएको छ।

लामो समयपछि हुन लागेका निर्वाचनमा अध्यक्षका लागि अहिलेसम्म मीना पाण्डे, रुक्मिणी कोइराला, गोमा केसी, प्रतिमा गौतमलगायत चुनावी प्रतिस्पर्धामा उत्रने आकाङ्क्षा देखाएका छन्।

विसं २००७ को राणा शासनको अन्त्यका लागि भएका सङ्घर्षमा महिला सङ्घको ठूलो भूमिका रहेको छ। विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले दलहरुमाथि प्रतिबन्ध लगाएपछि महिला सङ्घ पनि प्रतिबन्धमा पर्यो। विसं २०४६ को आन्दोलनपछि राजनीतिक दलहरु फुकुवा भएपछि महिला सङ्घ पनि फुकुवा भयो।

विसं २००४ मा स्थापना भएको सङ्घको पहिलो राष्ट्रिय अधिवेशन विसं २०५८ असोज १७ देखि १९ सम्म विराटनगरमा सम्पन्न भयो। पहिलो महाधिवेशनले अध्यक्षमा उमा रेग्मीसहित ३२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको थियो।

दोस्रो केन्द्रीय महाधिवेशन २०६४ वैशाख २७ देखि २९ सम्म नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा सम्पन्न भयो र अध्यक्षमा अम्बिका बस्नेत निर्वाचित भएकी थिइन्। महाधिवेशनले ३५ केन्द्रीय कार्यसमितिको पनि चयन गरेको थियो।

दोस्रो महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचित बस्नेतको कार्यसमितिले तोकिएको समयमा अधिवेशन गर्न नसकेपछि २०६९ सालमा डा डिला सङ्ग्रौलाको अध्यक्षतामा ४५ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो। सङ्ग्रौलाकै कार्यसमितिले अहिले निर्वाचन गराउन लागेको हो। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.