प्रस्तावित राजदूतको सुनुवाइबारे १० दिने सूचना सार्वजनिक गरिने
काठमाडौं: व्यवस्थापिका–संसद संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइका सम्बन्धमा आमसञ्चार माध्यममार्फत १० दिने सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ।
सरकारले छिमेकी गणतन्त्र भारतका लागि राजदूतमा नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्याय र चीनका लागि पूर्व मुख्यसचिव लीलामणि पौड्यालको नाम प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको हो।
मन्त्रिपरिषदको यही भदौ १६ गतेको बैठकले उनीहरुलाई राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
समितिको मंगलबारको बैठकले उपाध्याय र पौड्याललाई राजदूत पदमा नियुक्ति गर्न उपयुक्त छैन् भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम् सवुत प्रमाणसहित यही भदौ ३१ गतेसम्म सूचना उपलब्ध गराउन सूचित गर्ने निर्णय गरेको हो।
समितिले संसदीय सुनुवाइ समिति, व्यवस्थापिका–संसद सचिवालय सिंहदरबारमा त्यससम्बन्धी सूचना उपलब्ध गराउन सबैमा सूचित गरेको छ। रासस