भारतले किन रोक्यो नेपालको अदुवा ?

भारतले किन रोक्यो नेपालको अदुवा ?

काठमाडौं: भारतको क्वारेन्टाइनले नेपालमा उत्पादन भएको अदुवामा विषादी भेटिएको कारण देखाउँदै एक सातादेखि निर्यातमा रोक लगाएको छ । करिब १५ वर्षअघि आयात, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाइएको विषादीको अवशेष नेपाली अदुवामा पाइएको भन्दै निर्यात रोकिएको हो ।

निर्यात रोकिएपपछि पछिल्लो एक सातामा निर्यात गर्न तयार पारिएको सात हजार दुई सय मेट्रिक टन (झन्डै ७२ लाख किलो) अदुवा मुलुकका विभिन्न स्थानमा अलपत्र परेको छ । कृषि विकास मन्त्रालयका अनुसार नेपालले सन् २००१ मा प्रतिबन्ध लगाइएको अल्दिकार्ब (एएलडीआईसीएआरबी) नामको विषादीको अवशेष नेपाली अदुवामा पाइएको दाबी गर्दै भारतले यही भदौ १६ गतेदेखि निर्यातमा रोक लगाएको हो ।

'यो औषधिको आयात, बिक्री, वितरण र प्रयोगमा १५ वर्षअघि नै सरकारले प्रतिबन्ध लगाइसकेको छ', मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले भने, '१५ वर्षअघि प्रतिबन्ध लगाइएको औषधि अदुवामा भेटिनु सम्भव छैन । तैपनि हामी छानबिन गर्दैछौं ।' उनका अनुसार प्रतिबन्ध लगाइएको औषधि आयात, बिक्री र प्रयोग भएको पाइए आयातकर्ता, बिक्रेता र प्रयोगकर्तालाई कडा कारबाही गर्ने तयारी मन्त्रालयले गरेको छ ।

स्रोतका अनुसार भारतले नेपाली अदुवामा विषादी भेटिएको बहानामा निर्यातमा रोक लगाए पनि भित्री तथ्य अर्कै भेटिएको छ । चीनबाट आयात हुने अदुवालाई नेपाली उत्पादनको नाममा केही व्यवसायीले भारत निर्यात गरेपछि भारतले विषादीको बहानामा नेपाली अदुवाको निर्यातमा रोक लगाएको स्रोतले बताएको छ । मन्त्रालयले यो विषयमा पनि छानबिन गर्न सुरु गरेको छ ।

नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अनुसार भारतले दिल्लीस्थित सब्जी मण्डीबाट अदुवाको नमुना लिएर गत साता परीक्षण गरेको थियो । तर, अदुवा कुन मुलुकको हो भन्ने पुष्टि भएको छैन । सब्जी मण्डीबाट लिइएको अदुवाको नमुनामा उच्च परिमाणमा विषादी भेटिएको भन्दै भारतको दिल्लीस्थित क्वारेन्टाइनले प्रतिवेदन दिए लगक्तै अदुवाको नमुना नेपालकै हो भनेर भारतीय भन्सारले नेपाली अदुवाको निर्यातमा रोक लगाएको छ ।

'तर नमुना सब्जी मण्डीबाट लिइएको छ, त्यो सब्जी मण्डीमा अन्य मुलुकबाट निर्यात भएको अदुवा पनि बिक्री हुन्छ', संघका अध्यक्ष नरेन्द्रकुमार खड्काले भने, 'हाम्रै अदुवामा विषादी भेटिएको हो भनेर विश्वास गर्ने अवस्था छैन । नेपाली नाकाबाट नेपाली अदुवाको नमुना परीक्षण गरेपछि मात्रै हामी विश्वस्त हुन्छौं ।'

गत सातादेखि नेपाली अदुवा काँकडभिट्टा, वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्ज नाकामार्फत भारत निर्यात भएको छैन । 'एक सातादेखि तयारी अवस्थामा रहेको नेपाली अदुवा भारत निर्यात गर्न पाएका छैनौं', संघका अध्यक्ष खड्काले भने, 'भारतको क्वारेन्टाइनले नेपाली अदुवामा विषादी भेटियो भनेर निर्यातमा रोक लगाएको छ ।' व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) का कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले पनि नेपाली अदुवामा विषादी भेटिएको भन्दै भारतले निर्यातमा रोक लगाएको जानकारी दिए ।

'औपचारिक रूपमा भारतीय पक्षबाट हामीलाई जानकारी आएको छैन', कार्यकारी निर्देशक घिमिरेले मंगलबार अन्नपूर्णसँग भने, 'तर हामीले आफ्नो स्तरबाट बुझ्दा अदुवामा विषादी भेटियो भनेर भारतीय क्वारेन्टाइनले निर्यातमा रोक लगाइएको फेला परेको छ ।'

निर्यातमा रोक लगाइएपछि पाँचवटा नाकामार्फत भारत पठाउन तयारी अवस्थामा रहेको २१ लाख ६० लाख मूल्य बराबरको करिब ६ सय गाडी अदुवा अलपत्र परेको छ । ६ सय गाडीमा ७२ लाख किलो अदुवा छ । नेपाली किसानले निर्यातकर्ता व्यवसायीलाई ३० रुपैयाँ प्रतिकिलोमा अदुवा बिक्री गर्दै आएका छन् ।

नेपालमा उत्पादन हुने अदुवा खेतबाट उखेलेर सीधै भारत निर्यात हुन्छ । करिब ९५ प्रतिशत अदुवा भारत निर्यात हुन्छ । सबैभन्दा बढी कुल उत्पादनको झण्डै ५५ प्रतिशतको हाराहारीमा काँकडभिट्टा नाकाबाट नेपाली अदुवा कोलकात्ता निर्यात हुँदै आएको छ ।

भारत पुगेको अदुवाको मेसिनबाट सफा गरी कटाई छँटाई गरी ग्रेडिङ गरी विभिन्न ब्रान्डिमा त्यहाँको आन्तरिक बजारमा खपत हुनुका साथै पाकिस्तान, बंगलादेश, जापान, जर्मनी, श्रीलंका, युएई र युकेलगायतका मुलुकमा निर्यात गर्दै आएको छ । नेपालबाट स्वतन्त्र रुपमा पनि यस्ता मुलुकमा अदुवा निर्यात हुँदै आएको टीईपीसीले जनाएको छ ।

नेपालमा इलाम, पाँचथर, तेहथुम, धनकुटा, सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगा, मकवानपुर, झापा, नवलपरासी, धादिङ नुवाकोट, रसुवा, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ सल्यान र कैलालीलगायतका जिल्लाको २३ हजार आठ सय २६ हेक्टरमा अदुवाको खेती हुन्छ ।

अध्ययन गर्न कार्यदल

कृषि विकास मन्त्रालयले अदुवाको निर्यातसम्बन्धी समस्या अध्ययन गर्न अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन शाखाका उपसचिव डा.प्रधुम्न पाण्डेको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ । मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईको अध्यक्षतामा मंगलबार बसेको बैठकले वाणिज्य मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रम, कृषि उद्यम केन्द्र र नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका प्रतिनिधि रहने गरी कार्यदल गठन गरेको हो ।

यसैगरी सोही बैठकले निर्यातसम्बन्धी समस्या अध्ययन गर्न मन्त्रालयका सहसचिव डा.सुरज पोखरेलको संयोजकत्वमा नेपाली टोली बुधबार भारत जाने निर्णय गरेको छ । बैठकले अदुवा निर्यात समस्यालाई नेपाल–भारत संयुक्त कृषि कार्यदल समूहको बैठकमा पनि मुद्दाका रूपमा उठाउने निर्णय गरेको छ । यस्तै अदुवामा भेटिएको विषादीका विषयमा सत्यतथ्य पत्ता लगाएर मन्त्रालयमा प्रतिवेदन बुझाउन खाद्य विभागलाई जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.