नगरभित्रै नागरिकताविहीन गाउँ

नगरभित्रै नागरिकताविहीन गाउँ

मैनतडा सुर्खेतः जिल्लाको भेरीगंगा नगरपालिकाअन्तर्गत मैनतडाका अधिकांश बासिन्दा नागरिकताविहीन छन् । नागरिकताको प्रमाणपत्र नहुँदा उनीहरू सरकारी तथा गैरसरकारी निकायले दिने सेवाबाट समेत वञ्चित हुनु परेको छ । नागरिकताका बारेमा जानकारी नहुनु र सदरमुकामसम्म पुग्ने गाडीभाडा नहुँदा आफूहरूले नागरिकता बनाउन नसकेको स्थानीयको भनाइ छ ।

सदरमुकाम वीरेन्द्रनगरबाट पूर्वमा रहेको मैनतडा भेरीगंगा नगरपालिकाको वडा नम्बर ३ मा पर्छ । गाउँमा उत्पादन नहुँदा यहाँका अधिकांश परिवार मजदुरीका लागि घरमा ताला लगाएर भारत जाने गर्छन् ।

दसैंको बेलामा मात्र गाउँलेहरू भारतबाट घर फर्कने र त्यतिबेला प्रशासन बन्द हुने भएकाले उनीहरूले नागरिकता बनाउन नपाएका हुन् । यस्तै प्रायः पुरुषहरू रोजगारीका लागि भारतमा रहेको र महिलाहरू नागरिकताका बारेमा अनभिज्ञ हुँदा पनि गाउँमा नागरिकताविहीनको संख्या बढेको हो ।

करिब एक हजार जनसंख्या रहेको यो वडामा साढे तीन सयजनाको नागरिकता छैन । स्थानीय अगुवा विमला परियारले नागरिकता नभएकै कारण गाउँका महिलाहरू सरकारी तथा गैरसरकारी संस्थाले दिने सेवाबाट वञ्चित हुनु परेको दुखेसो पोखिन् ।

‘नागरिकताका बारेमा धेरैलाई जानकारी छैन, उमेर ढल्केकासँग पनि नागरिकता छैन', उनले भनिन्, ‘नागरिकता नहुँदा बूढापाकाले वृद्धभत्ता पाएका छैनन्, धेरैको विवाहदर्ता र जन्मदर्ता पनि भएको छैन ।' आफूहरूले स्थानीय समूहको सक्रियतामा गाउँमा नागरिकता नभएकाहरूको तथ्यांक संकलन गरेको भन्दै साढे तीन सयजना उमेर पुगेर पनि नागरिकताविहीन रहेको उनले जानकारी दिइन् ।

गाउँलेहरू परिवारसहित भारत जाने र दसैंमा मात्र गाउँ आउने बताउँदै उनले थपिन्, ‘अघिपछि गाउँमा कोही हुँदैनन्, दसैंको बेलामा मात्र सबै आउँछन् । तर त्यसबेला प्रशासन खुल्दैन, कसरी नागरिकता बनाउने ? '

स्थानीय ३५ वर्षीय चैते विकले सदरमुकामसम्म पुग्ने गाडीभाडा नभएकै कारण आफूले नागरिकता बनाउन नपाएको बताए । नागरिकता नहुँदा धेरै काम रोकिएको भन्दै उनले आफूहरूका लागि गाउँमै शिविर राखिदिन आग्रह गरे । भारत जान नागरिकता अनिवार्य नभएका कारण पनि धेरैले नागरिकता बनाउनेतर्फ ध्यान दिएका छैनन् ।

पुरुषहरूले नागरिकता नबनाएका कारण महिलाहरूले पनि नागरिकता बनाउन सकेका छैनन् । उमेरले ६५ वर्ष नाघेकाहरूसँग पनि हालसम्म नागरिकता छैन । उनीहरूले आफ्ना सन्तानकोसमेत नागरिकता बनाउन सकेका छैनन् ।

नागरिकता नभएकै कारण यहाँका बासिन्दा वृद्धभत्ता, विवाहदर्ता, जन्मदर्ता र अन्य सुविधाबाट वञ्चित हुनु परेको हो । नागरिकता नहुँदा धेरै महिलाहरूले विभिन्न उपभोक्ता समूह र अन्य स्थानीय संरचनामा सहभागी हुनसमेत पाएका छैनन् ।

सदरमुकाम वीरेन्द्रनगरबाट पूर्वमा रहेको मैनतडा भेरीगंगा नगरपालिकाको वडा नम्बर ३ मा पर्छ । गाउँमा उत्पादन नहुँदा यहाँका अधिकांश परिवार मजदुरीका लागि घरमा ताला लगाएर भारत जाने गर्छन् । दसैंको बेलामा मात्र गाउँलेहरू भारतबाट घर फर्कने र त्यतिबेला प्रशासन बन्द हुने भएकाले उनीहरूले नागरिकता बनाउन नपाएका हुन् ।

नगरपालिकाभित्रै नागरिकताविहीन गाउँ भएको बारे भेरीगंगा नगरपालिकाले पनि चासो देखाएको छ । नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्काले गाउँलेहरू प्रायः भारतमा बस्ने भएकाले पनि यस्तो भएको हुनसक्ने बताए । उनले भने, ‘हामीले पटकपटक गाउँमा नागरिकताका बारेमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेका छौं, नागरिकताको महत्वका बारेमा पनि बुझाएका छौं ।

अब दसैं र तिहारको बीचमा गाउँमै घुम्ती शिविरमार्फत नागरिकता वितरण गर्ने हाम्रो योजना छ, त्यसका लागि जिल्ला प्रशासनसँग हामी आवश्यक समन्वय गर्नेछौं ।' गाउँलेहरू भारतबाट फर्केको मौका पारेर शिविर सञ्चालन गर्न पहल थाल्ने खड्काले जानकारी दिए । आर्थिक अभावका कारण नागरिकता बनाउन सदरमुकाम जान नसक्नेहरूका लागि गाउँमै शिविर चलाएर भए पनि नागरिकताको समस्या समाधान गरिने उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले भने तत्काल उक्त स्थानमा घुम्ती शिविर सञ्चालन गरेर नागरिकता वितरण गरिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले आर्थिक अभावकै कारण कोही पनि नागरिकता पाउनबाट वञ्चित हुन नहुने बताए । उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका र विपन्न समुदायका लागि हामी गाउँमै शिविर सञ्चालन गर्नेछौं, मैनतडाको समस्या पनि समाधान हुन्छ ।

अब नगरपालिकासँग आवश्यक समन्वय गरेर मैनतडा पुगरे नागरिकता वितरण गर्नेछौं ।' नागरिकता पाउने अधिकारबाट कोही पनि वञ्चित हुन नहुने प्रजिअ श्रेष्ठको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.