मेरो शरीर पोल्दा निस्केको धुवाँ नेपालतिर जावोस्'
बिर्तामोडः साहित्यकार दान खालिङको पार्थिव शरीरलाई बुधबार उनकै जन्मथलो भारतको दार्जिलिङमा अन्त्येष्टि गरिएको छ ।
उनले झापा बसाइका क्रममा पटकपटकका सार्वजनिक कार्यक्रमहरूमै मरिसकेपछि आफ्नो पार्थिव शरीरलाई मेची नदीमा जलाइदिन आग्रह गर्दै आएका थिए । उनले भनेका थिए, ‘मलाई मेचीमा जलाइदिनू ताकि मेरो शरीर पोल्दा निस्केको धुवाँ आधा नेपालतिर जावोस्, आधा भारततिर ।’
खालिङ आफूलाई नेपाली बाहुल्य क्षेत्र भारतको दार्जिलिङ र नेपालमा बसोबास गर्ने सबै नेपालीको साझा बनाउन चाहन्थे । झापाको बिर्तामोडमा लामो समय बसाइका क्रममा उनले विभिन्न शैक्षिक संस्थामा शिक्षण पेसा गरेका थिए । धुलाबारी क्याम्पस धुलाबारीमा लामो समय उनले अंग्रेजी विषयको अध्यापन गराए ।
वरिष्ठ साहित्यकार खालिङको ८९ वर्षको उमेरमा निधन भएको हो । विक्रम संवत् १९८४ मा भारतको दार्जिलिङमा जन्मिएका खालिङको सोमबार दार्जिलिङमा निधन भएको हो । उनी पछिल्लो समय नशासम्बन्धी रोगबाट पीडित थिए । सिलिगुडीमा बस्दै आएका भए पनि उनको शारीरिक अस्वस्थतालाई ध्यानमा राखी केही दिनअघि दार्जिलिङ पुर्याइएको थियो । उनको सोमबार बेलुका ४ः३० बजे निधन भएको थियो ।
दार्जिलिङको बदमताम चिया कमानमा २५ डिसेम्बर १९२७ सालमा उनी जन्मिएका थिए । पूरा नाम दानियल खालिङ भएका उनले पछि दान खालिङमात्र लेख्न थालेका हुन् । उनले दानियल नाममा नेपालीपन नझल्किएको भन्दै नाम परिवर्तन गरेर दान बनाएका थिए । विश्वेश्वरप्रसाद कोइरालासँग पहिलोपल्ट दार्जिलिङमा भेटेपछि निकै प्रभावित भएका उनी पढाइ छाडेर २००७ सालको आन्दोलनमा बन्दुक बोकेर नेपाल पसेका थिए ।
सात सालको आन्दोलन सफल भएपछि भने उनले बन्दुक बिसाएर कलम समातेका थिए । साहित्यकार महानन्द सापकोटाको संगतले साहित्य र शिक्षा क्षेत्रमा उनी सक्रिय भएका थिए । सापकोटासँग मिलेर उनले विभिन्न ठाउँमा विद्यालय खोल्ने र सञ्चालन गराउने काम गरे । खालिङले झापाको भद्रपुरमा ‘मेची छापाखाना’ सञ्चालन तथा प्रकाशन गरेका थिए । उनी नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्यसमेत भइसकेका व्यक्ति हुन् ।