आधा घट्यो पाँचतारे होटेलको नाफा
काठमाडौः राजधानीमा सञ्चालित पाँचतारे होटेल र्याडिसनले दुई वर्षअघि सेयर धनीलाई पहिलोपटक १० प्रतिशत लाभांश खुवाउन सक्यो । होटेलले आर्थिक वर्ष २०७०/०७१ मा २१ करोड नाफा कमायो । सोही नाफाबाट १५ करोड ९४ लाख सञ्चित नोक्सानी कटौती गरेर लाभांश खुवाएको थियो ।
राजधानीकै अर्को पाँचतारे होटेल हायात रिजेन्सीले पनि दुई वर्ष अघिमात्र लगानीकर्तालाई प्रतिफल दिन सफल भएको थियो । पब्लिकमा गएको सोल्टी क्राउन प्लाजाले मात्र यसअघि लाभांश खुवाउँदै आएको थियो । बल्लतल्ल चलिरहेका पाँचतारे होटेल जब नाफामा जान थाले मुलुकमा भूकम्प र नाकाबन्दीजस्तो विपत्ती आइलाग्यो । यसले पर्यटन क्षेत्रलाई धरासायी बनायो ।
नेपाल भ्रमणमा आउने पर्यटकको संख्या घटेपछि होटेलको नाफा पनि सँगसँगै घटिरहेको छ । पाँचतारे होटेलले सार्वजनिक गरेको वर्षिक वित्तीय प्रतिवेदनले यस्तो देखाउँछ । पछिल्लो दुई वर्ष पाँचतारे सोल्टी, र्याडिसन र हायात होटेलको नाफामा निरन्तर गिरावट आइरहेको छ । पब्लिक कम्पनी भएका कारण तीन होटेलले मासिकरूपमा प्रतिवेदन सार्वजनिक गर्छन् ।
२०७२ वैशाखमा गएको भूकम्पले पर्यटक घटेपछि सोल्टीको नाफा डेढ करोड र र्याडिसनको दुई करोडले घट्यो । भूकम्पबाट सुस्ताएको पर्यटन उद्योग तंग्रिन नपाउँदै सुरु भएको मधेस आन्दोलन र भारतीय नाकाबन्दीले गएको वर्ष पाँचतारे होटेलको नाफा आधा घटेको छ ।
अघिल्लो वर्ष २० करोड ७४ लाख नाफा कमाएको सोल्टी होटेल गत वर्ष आठ अर्ब नाफामा खुम्चिनु पर्यो । र्याडिसनको नाफा पनि १९ करोडबाट ११ करोड ७५ लाखमा झरेको छ ।
०७१/७२ को तेस्रो त्रैमाससम्म २३ करोड ३६ लाख नाफा गरेको हायात होटेलले ०७२/७३ को सोही अवधिमा झन्डै आधा कम १२ करोडमात्र नाफा कमाउन सकेको छ । हायात होटेलको यो मुनाफा कर्मचारी बोनस, कर र आवास व्यवस्थाअघिको हो । हायातले गत वर्षको चौथो त्रैमासिक प्रतिवेदन अझै सार्वजनिक गरेको छैन ।
प्राकृतिक र मानवीय विपत्तीका कारण अप्रत्यासित रूपमा पर्यटक घटेपछि होटेलको आम्दानी प्रभावित भएको हो । गत वर्ष पर्यटक ३२ प्रतिशतले घटेको अध्यागमन विभागको तथ्यांक छ । भूकम्प र नाकाबन्दीको बेलामा पाँचतारे होटेलको ‘अकुपेन्सी’ २० प्रतिशतसम्म झरेको थियो ।
भूकम्प, भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण उत्पन्न अशान्ती, आर्थिक तथा राजनीतिक अस्थिरता, विभिन्न देशको प्रतिकूल यात्रा निर्देशिका, ऊर्जा/इन्धन संकट, उपभोग्य वस्तुको अभाव तथा मूल्य वृद्धिलगायतका कारण पर्यटन क्षेत्र लामो समय प्रभावित हुन पुग्यो ।
प्राकृतिक र मानवीय विपत्तीका कारण अप्रत्यासितरूपमा पर्यटक घटेपछि होटेलको आम्दानी प्रभावित भएको हो ।
अघोषित बन्दहडताल, नाकाबन्दीका कारण गएको वर्ष पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको र्याडिसन होटेल व्यवस्थापनको भनाइ छ । पर्यटक संख्यामा भएको गिरावटसँगै विद्युत् आपूर्तिमा भएको कटौती, इन्धन र उपभोग्य वस्तुमा भएको मूल्य वृद्धिले सञ्चालन खर्चसमेत बढिदिँदा नाफा स्वात्तै घटेको र्याडिसनको वित्तीय प्रतिवेदनमा उल्लेख छ । साथै, क्यासिनो बन्दले पनि पर्यटक आगमनमा प्रत्येक्ष असर परेको उसको तर्क छ ।
हायात होटेलको नाफा आधा घट्नुको कारण पनि उही हो । यो होटेलले पनि गएको वर्षमा बन्दहडताल र नाकाबन्दीले बजारमा भएको मूल्यवृद्धि, इन्धन अभाव, विनिमय दरमा हुने उतार चढावको सामाना गर्नुपर्यो । पाहुँनाको अभाव सबै होटेलको साझा समस्या बन्न पुग्यो । अचानक आइपर्ने असहज परिस्थिति, प्राकृतिक विपत्तीले पर्यटन उद्योग मारमा परिरहेको होटेल सोल्टीको भनाइ छ ।
वित्तीय प्रतिवेदनअनुसार गत वर्ष सोल्टी होटेलको कुल आम्दानी १७.२४ प्रतिशतले घटेको छ । यस्तै र्याडिसन होटेलको कुल आम्दानी १४.५२ प्रतिशतले घट्न पुग्यो । हायात होटेलको कुल आम्दानी गत वर्षको तेस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशतले घटेको देखिन्छ ।
गत पुसपछि भने पर्यटन क्षेत्रमा विस्तारै सुधार भइरहेको छ । नाकाबन्दी र तराई आन्दोलन साम्य भएका कारण विस्तारै पर्यटन क्षेत्र तंग्रिन थालेको र्याडिसन होटेलको भनाइ छ । पर्यटन क्षेत्रमा क्रमिक सुधार हुँदै गएपछि होटेलको चौथो त्रैमासिक अवधिमा आय र नाफासमेत वृद्धि भएको देखिन्छ । यही अनुपातमा सुधार हुँदै गएमा अक्टोबर महिनाबाट सुरु हुने पर्यटकीय सिजनमा पर्यटक आगमन बढ्ने विश्वास गर्न सकिन्छ ।
होटेल व्यवसायीले पर्यटन उद्योगलाई छिट्टै पूर्वावस्थामा फर्काउन पर्यटक आकर्षित गर्ने गरी आक्रामकरूपमा प्रचारप्रसार तथा प्रर्वद्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् । भूकम्पबाट क्षतिग्रस्त पर्यटन पूर्वाधारको पुनर्निर्माण गर्दै नयाँ पूर्वाधार पहिचान गरी निर्माण गर्नुपर्ने व्यवसायीको सुझाव छ ।