समाजशास्त्र, मधेस, थारू, जनजाति र प्रचण्ड
एमाले वृत्तमा हरेक नेताबारेका 'जोक' सुन्न पाइन्छ । नेता एवं पूर्वमन्त्री राधाकृष्ण मैनाली हिजोआज अलि स्लिम देखिए पनि पहिला भीमकाय शरीरका थिए । बिरामी परेर उनी एक दिन डाक्टरकहाँ जचाउन पुगेछन् ।
उनको रोग पत्तो लागेपछि डाक्टरले भनेछन्, 'मन्त्रीजी तपाईंलाई सुगर भएछ । अब बिहान दुइटा र बेलुका दुइटा फुल्का रोटी र तरकारी खानुस् । एक महिनापछि फेरि जचाउन आउनुस् ।
मन्त्री मैनालीजी हुन्छ भन्दै तीनतले क्लिनिकबाट झरे । डाक्टर अरू बिरामी जाँच्न लागे । तर लगत्तै मैनाली डाक्टरकहाँ फर्किए । स्याँस्याँ गर्दै डाक्टरका सहायकलाई भने, 'मैले अघि डाक्टर सा'बलाई एउटा कुरा सोध्न बिर्सिएछु । यसो भन्दाभन्दै बिरामी जाँचिरहेका डाक्टरको ढोका धकेलेर चियाउँदै मैनालीले गर्जिंदो स्वरमा सोधिहाले, डाक्टर सा'ब, तपाईंले मलाई बिहान र बेलुका जुन दुइदुइटा रोटी खान भन्नुभयो, म अलमलमा परें । खासमा त्यो रोटी खानाअघि खाने हो कि खानापछि ?
डाक्टर मरीमरी हाँस्न थाले ।
मैनाली भने डाक्टरलाई हेर्दै जिल्ल परेर उभिइरहे !
पूर्वमन्त्री एवं एमाले नेता मैनालीबारे एमालेजनले बनाएको यो जोकको सम्झनाबाट आलेख सुरु किन गरिएको हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अहिले त्यस्तै भएको छ । भोजनप्रेमी मैनालीले त दुई रोटीलाई पूर्ण खाना नै मानेनन् र डाक्टर अलमलिए भनेर सोध्न पुगे तर प्रधानमन्त्री प्रचण्ड जे भनेर एमालेसँगको रसोबसो विच्छेद गर्दै कांग्रेस र मधेसीसँग लगनगाँठो कस्न गएका थिए, महिना दिन बितिसक्दा पनि न मधेसी समस्या समाधान भयो न त मधेसी नै प्रचण्ड सरकारमा सामेल भएका छन् ! स्थिति जहाँको तहीँ छ ।
'ओल्लो घरको नरे पल्ला घरमा सरे !' एमालेसँग बसुन्जेल मधेस समस्या समाधान हुन्न भनेरै प्रचण्ड सरेका हुन् । उनले भनेका पनि थिए, मधेस समस्या समाधान नगरी न स्थानीय चुनाव हुन्छ न त संविधान कार्यान्वयन !
यसो गर्दागर्दै प्रचण्ड सरकारको महिना दिन सकियो । तर मधेसी नेता बाउँडिन छोडेका छैनन् । यहीबेला प्रचण्डको भारत भ्रमण आउँदो हप्ता हुँदैछ । हेर्नु छ, भारत यिनै मुद्दालाई आधार बनाएर कति बाउँडिने हो ?
प्रचण्ड भारतबाट फर्केलगत्तै गणतान्त्रिक संविधानको पहिलो दिवस तीन दिन भव्य रूपमा मनाउने भनेका छन् । त्यसपछि प्रचण्ड अमेरिका उड्ने छन् । अमेरिकाबाट फर्केर थाइल्यान्ड जानेछन् । त्यसपछि पाकिस्तानमा हुने सार्क सम्मेलनमा पुग्नेछन् । त्यहाँबाट फर्केपछि फेरि भारतमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन भारत जानेछन् । अर्थात् प्रचण्डको विदेश भ्रमण तीव्र गतिमा जारी हुनेछ, तर उनी जे भनेर सत्तामा पुगेका थिए, त्यो एजेन्डा भने टसकोमस हुने छैन ।
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणअघि अहिले फेरि भारतीय दबाबमा परेका छन् । दबाबमा केही गरे भने फेरि पनि त्यो काम लाग्दैन र लाग्नेवाला पनि देखिँदैन किनभने मधेसी समस्या यसरी खिल पल्टिसकेको छ कि त्यसलाई अपरेसन नगरी त्यो निको हुनेवाला छैन ।
नेपाल र तराईको अस्थिरताबाट भारत सधैं लाभ लिन खोजिरहन्छ । हिजोआज पश्चिमा मुलुक पनि यसैमा आफ्नो स्वार्थको रोटी सेकिरहेछन् । तथाकथित भारतीय सुरक्षाविद् र थिंकट्यांकहरू कश्मीर र नेपाललाई भारतको उत्तिकै चासो छ भन्दै लेख्ने, बोल्ने र व्यवहार गर्ने गरिरहेछन् । तर उनीहरूले के बिर्सिएका छन् भने नेपाल कश्मीर होइन । यो स्वाधीन मुलुक हो ।मधेस, थारू र जनजातिका सामाजिक विषयवस्तु विचारणीय छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएपछि सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा मधेसको नाउँमा भारतले नेपालमाथि नाकाबन्दी लगायो । ओलीको प्रयत्नपछि भारतीय नाकाबन्दी मात्र हटेन । उत्तरी छिमेकी चीनसँग ऐतिहासिक पारवहन सन्धि भयो र नेपाल प्रशान्त महासागरसँग जोडिने ढोका खुल्यो ।
चीनसँग रेल जोडेर सामान निकासी र पैठारी गर्ने सहमति पनि भयो । चिनियाँ राष्ट्रपति असोजमा नेपाल आउने (भ्रमण स्थगित) चर्चा चलिरहँदा प्रचण्डले मधेसी समस्या समाधान गर्छु भनेर विग्रह गरी सत्ता साझेदारलाई छोडे । मधेसका नाउँमा सत्ता त प्राप्त गरे तर न मधेसी समस्या समाधान हुने छाँट देखिन्छ, न त मधेसी नेता नै सरकारमा सामेल भएका छन् ! बरु प्रचण्डको नौमहिने कार्यकालका दिन घट्दै सकिँदैछन् !
प्रचण्डले मधेसलाई समाजशास्त्रीय रूपमा पर्गेलेको देखिँदैन । अरूको एजेन्डामा दौड्ने क्रममा प्रचण्डको माओवादी आन्दोलनको पतन मधेसबाटै सुरु भएको उनले बिर्सिए पनि त्यसलाई नजिकबाट नियालिरहेकाले बिर्सिएका छैनन् र बिर्सिने घटना पनि होइन त्यो ।
०६३ सालमा रौतहटको आमसभामा भेला भएका माओवादीका लगभग तीस नेता–कार्यकर्तालाई तथाकथित मधेसी आन्दोलनकारीले कुटीकुटी, भाला घोचीघोची र काटीकाटी क्रूर र हिंस्रक रूपमा मारेका थिए ।
मधेसलाई समाज/मानवशास्त्रीय रूपमा नपर्गेल्ने हो भने मधेस समस्यालाई राजनीतिक रूपमा सम्बोधन गर्न सकिने छैन । राजनीतिलाई समाजशास्त्रीय फ्रेमबाट सही रूपमा बुझिने र निक्र्योल गर्न सकिन्छ ।
तर नेपालका सरोकारवाला यो लेन्सबाट हेर्न सधैं चुकेका छन् किनभने समाज÷मानवशास्त्रको नाउँमा यहाँ खुलमखुला समाज विग्रह र विखण्डनको प्रयास भइरहेको छ । समाज/मानवशास्त्रको नाउँमा त्यसका मसिहाहरू एनजीओ र कन्सल्टेन्सी समातेर नेपाली समाजको प्रगति होइन, यसलाई पश्चगमन गर्न कन्दनी कसेर लागेका छन् ।
जसरी बेपारीले कपाल नभएकोलाई काँगियो बेच्ने चतुरता देखाएर मार्केटिङ गर्छन् त्यसैगरी समाज÷मानवशास्त्रको नाउँमा आफ्ना एजेन्डालाई विद्वान्, विदेशी विश्वविद्यालयबाट पीएचडी गरेका, प्राडा, विदेशमा ख्यातिप्राप्त विश्वविद्यालयको फेलो भन्ने जस्ता ढाँचा देखाएर नेपाललाई विखण्डन, धर्म परिवर्तन, विद्रोह-विग्रह र सामाजिक क्षयीकरण गराइरहेका छन् ।
समाज/मानवशास्त्रीहरू सबै नीतिको मूल नीति राजनीतिक समस्या समाधानमा सहयोगी हुनुपर्नेमा राजनीतिलाई यसैले पो आफ्नो पुच्छर बनाइरहेको छ । हामी सबैलाई थाहा छ, हाम्रो मूल खाना दाल, भात वा रोटी ढिँडो हो । अचार त्यसको सहायक मात्र हो । तर समाज/मानवशास्त्रले अचारलाई मूल खाना भन्दै भात-रोटी-ढिँडोलाई अचार सावित गर्न खोजिरहेको छ ।
नेपाली विशेषता
प्रजातन्त्र, लोकतन्त्र, संघीयता र गणतन्त्र आइसक्दा पनि किन नेपालका समस्या सुल्झिँदै जानुपर्नेमा बल्झिँदै गइरहेका छन् ? नेपालको राजनीतिक समाज/मानवशास्त्र बुझेका एक प्राध्यापकले भने, यसका केही विशेष कारण छन्-
१. खान्दानी घरानियाको स्वभाव-नेपालका गाउँ÷सहर, मधेस÷राजधानीमा बस्ने धनीमानीको स्रोतसाधन घरभाडा, जग्गाजमिन, उद्योगधन्दाको ठूलो आम्दानी त्यसको संरक्षण र त्यसबाट प्राप्त हुने प्रतिफलको सुरक्षित लगानी, सुखसयल, मोजमस्ती र आफ्नो पहिचान कायम गर्न र इज्जत प्रतिष्ठा प्राप्त गर्न प्रयोग भइरहेछ । यो तप्का राजनीति र नेतालाई गन्दैन किनभने उसलाई समाजको रूपान्तरण नै गर्नु छैन ।
२. सम्पन्न युवा पुस्ता- यो दुई भागमा बाँडिएको छ । पहिलो, पैत्रिक सम्पत्ति जगेर्ना गर्दै त्यसको प्रयोग गरी देशविदेश र विदेशी कम्पनी र घरानिया कुलिन संस्कृति प्रदर्शन गर्दै जायजेथाको आडमा राजनीति, व्यापार-व्यवसाय गर्ने वा कुनै क्षेत्रको अगुवाको रूपमा स्थापित हुने ।
दोस्रो, बाबुबाजेको सम्पत्तिले फुटसल जाने, क्याफेमा समय बिताउने, ह्विस्की-वाइन-बियरको नसामा सुरासुन्दरीको परख गर्ने, मोजमस्ती लागि देशविदेशको टुर जाने, जाँडरक्सी र ड्रग्सका कारण कतिपय राजधानीभित्र वा बाहिरका सुधार सेन्टरमा दिन कटाउने हुन्छन् ।
३.युवा विदेशमा- सहर हुन् वा गाउँका युवा आफ्नो आर्थिक हैसियतअनुसार खाडीका मुलुक, मलेसिया, कोरिया, अस्ट्रेलिया, क्यानडा, युरोप-अमेरिकासम्म जान प्रयत्न गर्ने र त्यसैमा रमाउन विवश छन् ।
४.स्वदेशमा रहेका युवा-गाउँ कस्तो भइसकेको छ भने कोही युवा विदेश गएन भने यसमा के खोट छ हँ भन्ने चर्चा हुन्छ । आश्चर्य नै मानिन्छ र कुरा काटिन्छ । तर गाउँमा रहेका युवा पनि राजनीतिक पार्टीका मुखियाको झुन्डमा समाहित हुने र विनाश्रम दिन व्यतित गर्ने जत्था पनि कम ठूलो छैन ।
गाउँसहरमै अर्को जत्था पनि छ, जो बिचौलिया, धनीमानी र सहरियाका लागि वैधअवैध प्राकृतिक स्रोतसाधन दोहन र व्यापार–व्यवसाय ठेक्कामा लागिपरेको छ । अर्को जत्था डन, गुन्डा र स्थानीय अपराधीको छ । यो झुन्डमा बस्ने जाँडरक्सी खाने, धम्क्याउने, तर्साउने, हप्ता उठाउने र आफ्नो उपस्थिति जबर्जस्त देखाइरहेछ, जसलाई कुनै (परिवर्तन) ले छोइरहेको छैन ।
५. पढालिखा सहरिया बुद्धिजीवी- यिनको आर्थिक अवस्था पुगेस पुगेस मात्र छ । सामाजिक रूपमा जागिर, पेसा, व्यवसाय, एनजीओ, बैंक र पहुँचका आधारमा सामाजिक, राष्ट्रिय र क्षेत्रीय पहिचान छ । आफ्ना छोराछोरी र स्वयंका लागि अहोरात्र खटिरहन्छन् । यिनलाई देश-समाजको बाल मतलब छैन ।
सन्तानलाई विदेशी विश्वविद्यालयमा पढाउने, डीभी, पीआर भर्न खटिइरहन्छन् । त्यसबाहेक अरू कुराको लेखाजोखा र सम्बन्ध स्थापना पनि गर्दैनन् । जागिरे भए कमाउ अड्डा खोजिरहने र पेसाकर्मी भए पहुँच बढाउन अहोरात्र लागिरहन्छन् र देश-समाजको लागि सोच्दैनन् । यी दिनहुँ नवधनाढ्य बन्दैछन् । अरूलाई गाली गरेर आफूलाई सन्तुष्ट पारिरहेका हुन्छन् ।
६) राजनीतिज्ञको जेठो पुस्ता-हिजो देशमा बहुदलीय परिवर्तन हुँदा युवा भनिन्थ्यो आज यो जेठो पुस्ता भइसकेको छ । यो तीन भागमा बाँडिएको छ, पहिलो- धेरै र सधैँ अवसर पाइरहेको दोस्रो कहिल्यै अवसर नपाएको र तेस्रो एकपटक अवसर पाएर थन्किएको । यो पुस्ता थोत्रा, पुराना, आदर्श, विगतको रोइलो गाएर अहिले पनि पद प्राप्तिकै लिप्सामा छ । समय यसैमा सिध्याइरहेको छ ।
राजनीतिक समाधान, संविधान कार्यान्वयन र गणतन्त्र संस्थागत गर्न यी वाधक छन् । यी गणतन्त्रमा पनि घँचेटिएर मात्र पुगेका हुन् । यिनबाट समाज रूपान्तरणको के कुरा समाजलाई गतिशील हुन र चल्न पनि दिँदैनन् । यी यस्ता ऐजेरु हुन्, जो समाजलाई समयको प्रवाहविपरीत दिशातिर धकेलिइरहेछन् । यिनको बोलीव्यवहार नै आत्मकेन्द्रित र स्वार्थलिप्सामा चुर्लुम्म डुबेको छ ।
समाज/मानवशास्त्रीहरू सबै नीतिको मूल नीति राजनीतिक समस्या समाधानमा सहयोगी हुनुपर्नेमा राजनीतिलाई यसैले पो आफ्नो पुच्छर बनाइरहेको छ । हामी सबैलाई थाहा छ, हाम्रो मूल खाना दाल, भात वा रोटी ढिँडो हो । अचार त्यसको सहायक मात्र हो । तर समाज÷मानवशास्त्रले अचारलाई मूल खाना भन्दै भात-रोटी-ढिँडोलाई अचार सावित गर्न खोजिरहेको छ ।
७) राजनीतिको माइलो पुस्ता-यो पुस्ता पार्टीमा होल्ड गर्छ । यो तस्कर, बिचौलिया, माफिया, जग्गा दलाली, ठेकेदार, बेपारी, मेनपावर, हाइड्रो र स्रोतसाधन भएकाहरूको बिचौलियाको काम गर्छ । गुन्डा, अपराधी र लठैतहरूको झुन्ड बनाएर ससाना मुखिया तोक्दै सबैतिर एकछत्र राज फैलाउन लागिरहेको हुन्छ । यिनीहरू देशीविदेशी शक्ति र डोनरका मतियार र एजेन्ट हुन् । पार्टीका पहिलो पुस्ताले यिनैलाई अगाडि सार्छ ।
यो पुस्ताबाट समस्या समाधान सम्भव छैन । तराई समस्या समाधानको वाधक पनि यही पुस्ता हो । सधैँ अस्थिरता, अन्योल, सत्ता परिवर्तन र गुटको राजनीतिमा मात्र यसले आफ्नो भविष्य देख्छ ।
८) राजनीतिको कान्छो पुस्ता- राजनीतिमा जबर्जस्त उदाउँदो र स्थापित हुन चाहने यो पुस्ता किनारामा छ । यो पढेलेखेको, अनुभवी, संसार देखेको, विज्ञान प्रविधि बुझेको र व्यवस्थापकीय सीप कलाकौशल, उद्यमशील छ । जोस, जाँगर र समाज परिवर्तन गरौं भन्ने ठान्छ । सपना बोकेको छ र त्यसलाई पूरा गर्न काविल पनि छ ।
यो पुस्ता स्वच्छ छ, भ्रष्ट छैन । जुन अघिल्ला पुस्तामा कल्पना पनि गर्न सकिँदैन । यो पुस्ता सामाजिक सञ्जालमा प्रभावशाली छ । नेपालमा मात्र होइन, विदेशमा पनि क्रियाशील छ । अंग्रेजी जान्दछ । आफूलाई लागेको कुरा लेख्न, बोल्न र प्रस्तुत गर्न काविल छ । विषयवस्तु प्रस्तुत गर्छ । बैकल्पिक समाधान पनि दिन्छ तर राजनीतिक पार्टीमा किनारामा भएकोले यसको सेप छैन र अपवादबाहेक कार्यकारी भूमिका पाएको छैन ।
८) आम जनता-जो दाल–भात डुकुमै जीवन व्यतित गरिरहेछ । उसलाई देश र समाज परिवर्तनका कुरा बेकारजस्तै लाग्छ । यसले दिएको जवाफबारे आमजनबारे ती प्राध्यापकले भने, बिहान–बेलुका हातमुख जोर्न र परिवार धान्न कठिन भएकाले मुन्टो उठाउन नै फुर्सद छैन ।
न समाज परिवर्तन यसको बुतामा छ, न त स्वयं परिवर्तन हुन चाहेरै परिवर्तन हुन सक्छ । गरिबीले चुनावमा पश्चगमनकारी, यथास्थितिवादी र परम्परागत शक्तिको पक्षमा उपयोग भइरहेको छ । घोटिएको घोटियै छ, उठ्न सकेको छैन ।
प्रचण्डका पाँच काम
यस्तो सामाजिक चित्रण गर्दै ती प्राध्यापकले मधेस, जनजाति र थारूका समस्या सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डको लागि पाँच सूत्र सिफारिस गरे ।
१) आफ्ना राज्यसञ्चालनका दैनिक काम उपप्रधानमन्त्रीहरूलाई सुम्पेर प्रचण्ड पूर्णकालीन रूपमा मूल समस्यामा घोत्लिँदै क्रियाशील बने भने उनले यसको निकास दिन सक्छन् ।
२) प्रचण्डले तेस्रो पुस्तासँग बसेर तिनको कुरा सुन्न र तिनैलाई समस्याको समाधान निकाल्न अग्रसर बनाउनुपर्छ । यसो भए प्रचण्ड देशको मियो बन्न सक्छन् ।
३) समाज, अर्थशास्त्र, भूगोल, जनसंख्या, विकास, प्राकृतिक स्रोतसाधन र वातावरणलाई मूल आधार बनाएर समाधानको बाटो खोज्दै निकास निकाल्नुपर्छ ।
४) मधेसको समाधान वास्तविक मधेसी, थारू र जनजातिसँग बसेर प्रचण्डले खोज्नुपर्छ । अहिले देखिएका त्यो क्षेत्रका नेता भनेका जनमत नभएका मधेसी मुखिया ठेकेदार हुन् । वास्तविक मधेसी खोज, पहिचान गर र तिनलाई समावेश गरेर अगाडि बढ प्रचण्ड । याद गर प्रचण्ड जनताले नपत्याएका मधेसी, थारू र जनजाति नेताभनाउँदाहरूले वास्तविक मधेसीलाई रोकेका, छेकेका र निषेध गरेका छन् ।
५) देशलाई चुनावमय बनाउन मिति घोषणा गर प्रचण्ड । मधेसी, थारू र जनजातिलाई उनीहरूको अधिकार सुनिश्चित गर्न उनीहरूले नै चुनेका प्रतिनिधिमार्फत सम्भव छ भन्ने उनीहरूले नै महसुस गर्न सकून् र अधिकाधिक चुनावमा सहभागी होऊन् ।