आन्तरिकलाई पनि पर्यटक स्विकार्न माग

आन्तरिकलाई पनि पर्यटक स्विकार्न माग

पोखराः भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन उद्योग धराशयी हुने अवस्थामा पुग्दा आन्तरिक पर्यटकको घुमफिर गर्ने बानीले पोखराको पर्यटन उद्योग जेनतेन धानियो । नेपाली युवकयुवती देशभित्र मात्र होइन, विश्वका विभिन्न देशमा समेत घुम्ने संस्कृति बढ्दै गएको छ । यही संस्कृतिका कारण पछिल्लो समयमा आन्तरिक पर्यटकले नेपालको पर्यटन उद्योगको ठुलो हिस्सा ओगट्दै गएको पोखराका पर्यटन व्यवसायी बताउँछन् ।

नेपालीको घुम्ने संस्कृति बढ्दै गएपछि सरकारले आन्तरिक पर्यटनलाई थप प्रवद्र्धन गर्न २०७३ लाई घुमफिर वर्ष घोषण गरेको छ । आन्तरिक पर्यटकलाई आफ्नै देश घुम्न प्रोत्साहित गर्ने उद्देश्यले सरकारले घोषणा गरेको घुमफिर वर्षलाई नै असर गर्नेगरी यातायात मन्त्रालयले आन्तरिक पर्यटकलाई पर्यटक स्वीकार नगरी स्वदेशी पर्यटकलाई पर्यटक बस (हरियो प्लेटको) चढ्न रोक लगाउने नियमावली ल्याउन लागेको भन्दै पोखराका व्यवसायी आन्दोलित भएका छन् ।

पोखराका पर्यटन व्यवसायीले सरकारलाई दबाब दिन नेपाल पर्यटन बोर्डका पूर्वसदस्य अग्नि कँडेलको संयोजकत्वमा आन्तरिक पर्यटन अधिकार संरक्षण समिति गठन गरेका छन् ।

यातायात मन्त्रालयले आन्तरिक पर्यटकले पर्यटक बसमा घुम्न पाउने अधिकार कुण्ठित हुनेगरी नयाँ नियमावली ल्याउने तयारी गरेकोले राजधानी केन्द्रित दबाबमूलक कार्यक्रम गरिने हालै गठित आन्तरिक पर्यटन अधिकार संरक्षण समितिका संयोजक कँडेलले बताए ।

आन्तरिक पर्यटक र आम नागरिकको अधिकार कुण्ठित हुनेगरी यातायात मन्त्रालयले हरियो नम्बर प्लेटका सवारीसाधनमा आन्तरिक पर्यटक घुमफिर गर्न नपाउने गरी ल्याउन लागेको नियमावली आन्तरिक पर्यटकको अधिकारविरुद्ध रहेको संयोजक कँडेलले बताए ।

सिन्डिकेटवालाको इसारामा सरकारले नागरिकको अधिकार खोस्नेगरी पर्यटक बसमा आन्तरिक पर्यटक चढ्न नपाउने गरि नियमावली ल्याए दुर्भाग्यपूर्ण हुने नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले बताए ।

आफूले सुरक्षित महसुस गरेको सुविधासम्पन्न बसमा चढ्न पाउनु आम नागरिकको अधिकार भएको उनले बताए । पर्यटक बस आन्तरिक पर्यटकमाझ सुरक्षित सवारीसाधनका रूपमा चिनिएकाले हरियो प्लेटका बस विदेशीमात्र होइन, स्वदेशी पर्यटकको पनि रोजाइ बनेका छन् । पर्यटक बस अहिलेसम्म मानवीय क्षति हुनेगरी दुर्घटनामा परेका छैनन् ।

यसैले पनि आन्तरिक पर्यटकमाझ पर्यटक बस आकर्षक बनेको छ । यसैले सिन्डिकेटवालाको दबाबमा आन्तरिक पर्यटकलाई हरियो प्लेटको बस चढ्न रोक लगाउने नियमावली ल्याउन लागेको व्यवसायीको बुझाइ छ ।

पर्यटन ऐन २०३५ मा भएको दोस्रो संशोधन (२०५३) ले नेपालीलाई पर्यटकका रूपमा स्वीकार गरेको छ । सोही ऐनअनुसार आन्तरिक पर्यटकले पर्यटक बस होस् वा अन्य, आफूले रोजेको बसमा चढ्न पाउनुपर्ने व्यवसायीको माग छ । संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएकाले पनि संयुक्त राष्ट्रसंघको पर्यटकको परिभाषाविपरीत सरकारले आन्तरिक पर्यटकको हितविपरीत नियमावली ल्याउन नपाउने नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासुदेव त्रिपाठीले बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले सिन्डिकेटवालाको उक्साहटमा यातायात मन्त्रालय र सरकारले आन्तरिक पर्यटकले पर्यटक बसमा यात्रा गर्न नपाउने नियमावली ल्याउन लागेको भन्दै विरोध गरे । यसो गरे नागरिक अधिकार र व्यावसायिक हितका लागि पनि व्यवसायी आन्दोलनमा उत्रनुको विकल्प नरहेको उनले सुनाए ।

नेपालमा हरियो प्लेटका ठूला तथा साना गरी दुई हजार सवारीसाधन रहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्सी (नाट्टा) पश्चिमाञ्चलका अध्यक्ष डिल्लीप्रसाद गौतमले बताए । पर्यटकलाई लक्षित गरी चलाइएको हरियो प्लेटका सवारीसाधनमा मात्रै पर्यटन व्यवसायीको करिब १५ अर्ब लगानी भएको नाट्टा पश्चिमाञ्चलका पूर्वअध्यक्ष केदारनाथ शर्माले जानकारी दिए ।

भूकम्प र नाकाबन्दीपछि पोखरामा विदेशी पर्यटकको तुलनामा आन्तरिक पर्यटक बढी आएकाले नै पर्यटन उद्योग धानिएको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले बताए । भूकम्पपछि तातोपानी नाका बन्द हुनु, चीनबाट नेपाल हुने नियमित हवाई उडान कटौती हुनु र भारतीय नाकाबन्दीपछि भारतीय पर्यटक कम आएको बेलामा आन्तरिक पर्यटकले नै पर्यटन उद्योगलाई साहारा दिएको उनले सुनाए ।

भूकम्पपछि अफसिजनमा ३० प्रतिशत आन्तरिक र १० प्रतिशत विदेशी पर्यटक गरी जम्मा ४० प्रतिशत पर्यटक पोखरामा आएको उनले सुनाए । सिजनमा पनि विदेशी पर्यटक आन्तरिक पर्यटकको हाराहारीमा जम्मा ३० प्रतिशत रहेको उनले बताए । विदेशीसरह आन्तरिक पर्यटकलाई पनि मान्यता दिनुपर्ने नेपाल पर्यटन बोर्डका पूर्वसदस्य गणेशबहादुर भट्टराईले बताए ।

घुमफिर वर्षलाई नै असर गर्नेगरी यातायात मन्त्रालयले स्वदेशी पर्यटकलाई पर्यटक बस चढ्न रोक लगाउने नियमावली ल्याउन लागेको भन्दै पोखराका व्यवसायी आन्दोलित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.