वृद्धभत्ता र सुन धरौटी राखेर सडक निर्माण
बैतडीः मणिदत्त बडूले वृद्ध भत्ताबापत पाएको आठ हजार रुपैयाँ सडक खन्नका लागि दिए । सँगै एकल महिला भत्ता थापेकी तारादेवी बडूले पनि आफूले पाएको आठ हजार रुपैयाँ देहीमान्डु–दुर्गास्थान–सलना ग्रामीण सडक निर्माण उपभोक्ता समितिलाई बुझाइन् । दलित भत्ता बुझेका नरुवा कामीले भने दुई हजार थपेर १० हजार रुपैयाँ सुम्पिए ।
एकपछि अर्को गर्दै दुर्गास्थान र देहीमान्डु गाविसका विभिन्न वडाका झन्डै बीसजनाले वृद्धभत्ता घरमै नपु¥याई सडकका लागि बुझाए । असिमकेदार मन्दिरका पुजारी लक्ष्मीदत्त पाण्डेले आफूसँग भएको दुई तोला सुन धरौटी राखेर समितिलाई रकम दिए ।
भारतीय सेनाको जिम्दारबाट सेवानिवृत्त तारादत्त बडूले पनि पेन्सनबाट पाएको रकममा थपेर ३५ हजार रुपैयाँ दिए । नेपाली सेनामा कार्यरत जमदार बलदेव बडूले ठूलै विश्वास गरेर समितिका अध्यक्ष चक्र शर्मालाई अढाइ लाखको चेक दिए ।
समितिका सचिव कृष्णदत्त बडूका अनुसार वर्षौंदैखि गाउँघरसम्म बाटो आउने र गाडी गुडोस् भन्ने सपना देखेका बैतडी दुर्गास्थानका बासिन्दाले एकपछि अर्को गर्दै २६ लाख रुपैयाँ संकलन गरे । उनले भने, ‘२०६२ सालमा राष्ट्रिय योजना आयोगबाट साढे दुई किलोमिटर पास भएको बाटो काम थालेर यसै लथालिंग भएपछि हामी निरीह भएका थियौं ।
एक दशक बित्दा पनि केही नभएपछि कुरैकुरामा आफैं गर्ने र जिल्ला विकास समितिलाई पनि गुहार्दै गर्ने सोच बनाएर काम थाल्यौं ।’ दुर्गास्थान बैतडीको सदरमुकाम गोठालापानीबाट २४ किलोमिटर दूरीमा पर्छ । जिविसबाट राजनीतिक दलका नेतासँग सहयोग गर्न लगाउने प्रतिबद्धतामात्र आएपछि स्थानीयले गत चैतको अन्तिम सातादेखि काम थाले ।
‘उठ्न त उठ्यो अब कसरी फिर्ता गर्ने हो पत्तो थिएन’, समितिकी कोषाध्यक्ष हीरा बडूले भनिन्, ‘माहोल यसरी उर्लियो कि दैनिक एक सयदेखि दुई सयजना सडक खन्न आए । बालबालिका, महिला, पुरुष, वृद्धवृद्धा सबै सडकमा ।’ दुर्गास्थान गाविसमा ४५ हजार जनसंख्या छ । शिक्षक महादेव बडूले अप्ठ्यारा ठाउँमा एक्साभेटर लगाउन प्रतिकिलोमिटर तीन लाख मागेपछि प्रतिघन्टा सात हजार तिर्ने गरी काम थालेको जानकारी दिए ।
समितिका सचिव कृष्णदत्त बडूका अनुसार वर्षौंदैखि गाउँघरसम्म बाटो आउने र गाडी गुडोस् भन्ने सपना देखेका बैतडी दुर्गास्थानका बासिन्दाले एकपछि अर्को गर्दै २६ लाख रुपैयाँ संकलन गरे ।
उनका अनुसार बढीमा १२ हजारसम्म प्रतिघन्टा खर्चिएर आसपासका ठाउँमा काम भइरहेको थियो । उनले भने, ‘गाउँलेले यसरी रकम संकलन गर्न जोस देखाउलान् भन्ने थिएन, पछि जिविस र जिल्ला प्राविधिक कार्यालयले पनि यसरी गर्ला भन्ने थिएन तर सपनाजसरी काम टुंग्यायौं ।’ असार नसकिँदै १४ किलोमिटर सडक निर्माण सम्पन्न भयो । सडक ६ मिटर चौडा बनेको छ ।
समितिका अध्यक्ष चक्र शर्माले १० किलोमिटर खनेपछि स्थानीय विकास अधिकारी खेमराज बिष्ट र प्रमुख जिल्ला इन्जिनियर जगतपसाद जोशी आएर निरीक्षण गरेको जानकारी दिए । ‘गाउँलेको सडकप्रतिको लगाव सुनेर हेर्न आएपछि दुवैले काम गर्नोस् बजेट मिलाउने कोसिस गर्छौं भने’, शर्माले अन्नपूर्णसँग भने, ‘काम सकेपछि आएर निरीक्षण गर्नुभयो । काम चित्त बुझेछ क्यार एकैपटक स्टिमेट, मूल्यांकन, सम्झौता र भुक्तानी भयो ।’
उनका अनुसार ठेक्कामा लगाएको भए दुईदेखि तीन करोड रुपैयाँको काम हो तर ७३ लाखमै सकियो । २० प्रतिशत श्रमदान र १० प्रतिशत आयकर जोडेर ७३ लाखको काम भए पनि जिविसले ४७ लाख ३६ हजार भुक्तानी दिएको उनको भनाइ छ । गाउँलेले असिम केदार मन्दिरसम्म पुग्न खनेको सात सय मिटर र सडकको ६० मिटर ग्याबिन वालको समेत भुक्तानी नपाएको उनले बताए ।
समिति अध्यक्ष शर्माले भने, ‘एलडीओ बिष्ट र इन्जिनियर जोशीले राजनीतिक दलका नेताजस्तै बोलेर जानुभएको थियो तर जिम्मेवार कर्मचारी भएर वचन पूरा गर्नुभयो ।’ जिविसबाट रकम पाएपछि सबैको रकम फिर्ता गरेको जानकारी दिँदै शर्माले भने, ‘अब आठ लाख बाँकी छ, म मन्दिरको पनि अध्यक्ष भएकाले निब्र्याजी ल्याएर तिरेको छु । त्यसलाई कसरी मिलाउने, त्यो टाउको दुखाइको विषय छ ।’ स्थानीय विकास अधिकारी खेमराज बिष्टले अब चार किलोमिटर खनेपछि पाटन पञ्चेश्वरको मूलपिच सडकमा जोडिने जानकारी दिए । उनले भने, ‘त्यसपछि जिल्लाको दुर्गम १७ गाविसका बासिन्दालाई सदरमुकाम पुग्न ३५ किलोमिटर सडक छोटो पर्छ ।’