प्रधानमन्त्री प्रचण्डको सम्बोधन हावादारीः एमाले
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल एमाले प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वको विषयमा सदनमा दिएको वक्तव्यलाई प्रचारमुखी मात्र भएको बताएको छ छ ।
एक महिना अघि प्रधानमन्त्रीमा निर्वाचित दाहालले पहिलोपटक बिहीबार व्यवस्थापिका–संसदमा दिएको सम्बोधन हावादारी भएको एमालेको टिप्पणी छ ।
साउन १९ गते सदनबाट प्रधानमन्त्री निर्वाचित भएका प्रचण्डले सरकारका प्राथमिकता, हालसम्मका उपलब्धिका बारेमा एकघन्टा लामो दिएको मन्तव्य प्रचारमुखी भएको एमालेको भनाइ छ ।
बैठकबाट बाहिरिने क्रममा एमालेका उपाध्यक्ष भीम रावलले बजेटमै व्यवस्था नभएको कार्यक्रमका बारेमा प्रधानमन्त्री दाहालले आफ्नो भनाइ राख्नु सस्तो प्रचारमात्र भएको टिप्पणी गरे ।
रावलले बजेटमा नभएको योजना हावादारी भएको बताए । ‘प्रधानमन्त्रीले बोल्नुभएका विषय बजेट वक्तव्यमा छैन । कहाँबाट पैसा ल्याएर त्यो पूरा गर्नुहुन्छ ?’, रावलले भने ।
उपाध्यक्ष रावलले संविधान संशोधन कसका लागि किन चाहियो भन्ने प्रश्न गर्दै यो बेकारमा चलाइएको हल्लामात्र भएको समेत बताए ।