मिडियाले न्यूनतम पारिश्रमिक लागू नगरे आन्दोलन’
भक्तपुरः नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू नभए महासङ्घले आन्दोलन गर्ने बताएका छन् ।
रफत सञ्चार क्लबले बिहीबार गरेको साक्षात्कारमा उनले सञ्चारगृहले तत्कालै न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरे महासङ्घले चरणबद्ध रुपमा सञ्चारगृह केन्द्रित आन्दोलन गर्ने बताए ।
पत्रकार बिमालाई अझ फराकिलो बनाउँदै लैजाने र सरकारले स्वास्थ्य क्षेत्रमा दिने भनेको ५० प्रतिशत छुटका विषयमा समेत सम्बोधन नभएकाले यसको कार्यान्वयनतर्फ सरकारलाई तत्कालै कदम चाल्न उनले आग्रह गरे ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले नेपालमा औँलामा गन्न मिल्ने सञ्चारमाध्यमबाहेक अन्य सञ्चारमाध्यम आर्थिक सङ्कटमा रहेकाले मिडियालाई आर्थिक रुपमा सबल पार्न नसके समस्या नसुल्झने बताए ।
उनले पत्रकारिता क्षेत्रमा युवा पुस्ताको आकर्षण बढे पनि केही वर्ष काम गरेपछि भविष्य अन्धकार देखेर यस क्षेत्रबाट पलायन हुने क्रम उत्तिकै बढेकामा चिन्ता व्यक्त गरे ।