‘सबै भन्दा पहिले सेल्फी मैले खिचेको हुँ’
काठमाडौँ: प्रज्ञा भवन कमलादीको भरिएको ठूल हलभित्र चन्द्रमायात्री बज अल्ड्रिनले भित्तामा झुण्ड्याइएको सेता पर्दामा फोटो देखाउदै भने, ‘सबै भन्दा पहिले सेल्फी मैले खिचेको हुँ,’ आफूसँगको भएको क्यामराले चन्द्रमामा पाइला टेकेपछि आफ्नो फोटो खिचेको करिव ४५ वर्ष पुरानो घटना स्मरण गर्दा हल तालीले गुञ्जियो । उनले थपे, ‘मैले खिचेको जस्तो फाटो खिच्ने (सेल्फी) शैली अहिले संसारभरी प्रचलित छ ।’
करिब एकसाता लामो भ्रमणका लागि नेपाल आएका अल्ड्रिनले सर्वसाधारणका अघि मंगलग्रह जाने आफ्नो योजना र सपना पुरा हुनै लागेको पनि बताए।
‘सपना देखेछि पुरा गर्न सकिन्छ । सपना देखिरहनुपर्छ,’ उनले मंगलग्रहमासमेत आफूले पाइला राख्ने सपना देखेको दोहोर्याएका थिए । ‘जसरी चन्द्रमामा मेरो पाइलाको तस्वीर अरुले खिचेर आए, मंगल ग्रहबाट पनि मेरो पाइलाको फोटो अरुले खिचुन् भन्ने चाहन्छु,’ अल्ड्रिनले भने ।
उनले चन्द्रमामा यात्राबारे विस्तृत अनुभव सुनाएका थिए । चन्द्रमा यात्राका सहयात्री आर्मस्ट्रङले खिचेका तस्बिर पनि उनले देखाएका थिए । चन्द्रमामा पाइला राख्न पाउनु भाग्मानी भएको उल्लेख गर्दै मिसन मंगल पूरा गरेरै छोड्ने प्रतिबद्धता दोहोर्याए ।
उनले मंगल मिसनका लागि हजारौं वैज्ञानिक तथा इन्जिनियर लागि परिरहेको प्रसंग कोट्याउदै सबैलाई सहयोग र साथका लागि आग्रह गरे । नासासहितको वैज्ञानिक अनुसन्धान केन्द्रले मंगल ग्रहमा सन् २०२८ सम्ममा मानिस पठाउने तयारीका साथ काम गरिरहेका छन् । तत्काल भने मंगल ग्रहमा मान्छे पुगिहाल्ने अवस्था छैन ।
एभरेष्ट साइन्स सेन्टरको निम्तामा नेपाल आएका उनले सोमबार दिनभरी लुम्बिनी भ्रमण गरेका थिए । उनले मंगलबार चितवन राष्ट्रिय निकुञ्ज पुगेर हात्ती सफारी गरेका थिए भने गैंडाबारे चाखपूर्वक सुनेका थिए । शुक्रबार माउन्टेन फ्लाइट जाने योजना रहेको आयोजक एभरेस्ट साइन्स सेन्टरका दिलीप अधिकारीले बताए । उनी शुक्रबारै आफ्नो टोलसहित अमेरिका फर्किदैछन् ।
सन् १९६९ जुलाई २० का दिन राति १० बजे निल आर्मस्ट्रङले चन्द्रमामा पाइला राखेका थिए । अर्को दिन २१ जुलाई बिहान दुई बजे अल्ड्रिन चन्द्रमामा पुगेका थिए । उनीहरु सवा दुई घण्टा चन्द्रमामा बसेर २१ किलो विभिन्न सामाग्रीको नमूना संकलन गरेर फर्किएका थिए । निल आर्मस्ट्रङको नेतृत्वमा जेमिनी–१२ रकेट चढेर चन्द्रमामा पुग्ने तीनमध्ये अल्ड्रिन मात्र जिवित छन् ।