बल्ल बन्यो भाषा आयोग

बल्ल बन्यो भाषा आयोग

काठमाडौः  सरकारी कामकाजको भाषा सिफारिस गर्न शिक्षाविद् डा. लवदेव अवस्थीको अध्यक्षतामा भाषा आयोग गठन भएको छ । एक वर्षभित्र भाषा आयोग गठन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को बैठकले बिहीबार अवस्थीलाई आयोगको अध्यक्ष नियुक्त गरेको हो । नयाँ संविधान बनाउने बेला सरकारी कामकाजको भाषाबारे दलहरूबीच तीव्र विवाद भएपछि आयोग गठनको व्यवस्था संविधानमा राखिएको थियो । त्यतिखेर नेपाली भाषालाई सरकारी कामकाजको भाषा बनाउने र अन्य भाषाका हकमा आयोगले सिफारिस गरेअनुसार पछि व्यवस्था गर्ने भन्दै विवाद मिलाइएको थियो ।

‘संवैधानिक व्यवस्थाअनुसार अवस्थीको अध्यक्षतामा आयोग गठन गरिएको हो’, भौतिक योजना तथा पूर्वाधारमन्त्री रमेश लेखकले अन्नपूर्णसँग भने, ‘योग्य र सक्षम व्यक्तिलाई अध्यक्ष बनाइएको छ ।’ भाषा आयोगको अध्यक्षमा नियुक्त अवस्थी लामो समयदेखि शिक्षा मन्त्रालयमा कार्यरत थिए । केही समयअघि सचिवमा बढुवा भएका अवस्थीले मध्यमाञ्चलको क्षेत्रीय प्रशासकबाट राजीनामा दिएपछि उनलाई अध्यक्षमा नियुक्त गरिएको हो । बैतडीका अवस्थीले भाषाकै विषयमा बेलायतबाट स्नातकोत्तर र डेनमार्कबाट विद्यावारिधि हासिल गरेका हुन् ।

‘मैले पढेको र व्यवहारबाट जानेको विषयमा नै राष्ट्रलाई योगदान पुर्‍याउने जिम्मेवारी सरकारले दिएको छ’, अवस्थीले अन्नपूर्णसँग भने, ‘संविधानको भावनाअनुसार तोकिएकै मितिमा काम सम्पन्न गर्ने लक्ष्यसहित अघि बढ्नेछु ।’

भाषा आयोगका अध्यक्ष र सदस्यको पदावधि ६ वर्षको हुने व्यवस्था संविधानले निर्धारण गरेको छ । आवश्यकताअनुसार आयोगका सदस्य नियुक्त गर्न सकिने भए पनि प्रदेशहरूको प्रतिनिधित्व मिलाउनुपर्छ ।

मान्यताप्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, नेपालका विभिन्न भाषाबारे अध्ययन, अध्यापन, अनुसन्धान र अन्वेषणका क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव भएको, ४५ वर्ष उमेर पूरा भएको र उच्च नैतिक चरित्र भएको व्यक्ति आयोगको अध्यक्ष वा सदस्य हुन योग्य हुने व्यवस्था संविधानको धारा २८७ मा छ । आयोगमा सदस्यको नियुक्ति भने बाँकी छ ।

आयोगले सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधार निर्धारण गरी सरकारसमक्ष सिफारिस गर्ने दायित्व पाएको छ ।

सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधार निर्धारण गरी सरकारसमक्ष भाषाको सिफारिस गर्ने मुख्य दायित्व आयोगको छ । संविधानको धारा ६ ले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएकाले आयोगले भाषाहरूको संरक्षण, संवद्र्धन र विकासका लागि अवलम्बन गर्नुपर्ने उपायबारे सरकारलाई सिफारिस गर्नुपर्नेछ ।

आयोगलाई मातृभाषाको विकासको स्तर मापन गरी शिक्षामा प्रयोगको सम्भाव्यताका बारेमा सरकारसमक्ष पाँच वर्षभित्र सुझाव पेस गर्नुपर्ने समयसीमा पनि संविधानले नै निर्धारण गरेको छ ।

भाषा आयोगका शाखा प्रदेशमा पनि हुनेछन् । संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भन्ने व्यवस्था छ । तर, नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने पनि संविधानमा उल्लेख छ ।

संविधान बनाउने बेला मधेस केन्द्रित दलले हिन्दीलाई पनि सरकारी कामकाजको भाषा बनाउनुपर्ने प्रस्ताव गरेका थिए । आफ्नो प्रदेशमा बोलिने एकभन्दा बढी भाषालाई प्रदेशले नै सरकारी कामकाजको भाषा बनाउन पाउने र केन्द्रीय कामकाजको भाषाका लागि आयोग गठन गर्ने सहमति दलहरूबीच भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.