हो, म बोक्सी नै हुँ
'बोक्सीको घर' नाटक मञ्चन गर्ने क्रममा दैनिकजसो पत्रपत्रिकामा बोक्सीको आरोपमा अत्याचार गरिएका समाचार पढेँ, टेलिभिजनमा हेरेँ । ती सबै पीडा आफैंले भोगिराछु जस्तो लाग्यो । ती महिला जसले बोक्सीको आरोपमा अत्याचार खेपे, ती सबैको प्रतिनिधित्व आफैंले गरिरहेजस्तो लाग्यो ।
मनमा प्रश्न आइरहन्छ, 'साँच्चै बोक्सिी भएको भए आफ्नो सुरक्षाका लागि किन केही गरेनन् त ? आफ्नो सुरक्षाका लागि किन मान्छे नमारेको ? साँच्चै त्यत्रो शक्ति हुने भए किन ढुंगामुढा, दिसा, पिसाब खुवाउँदा प्रतिकार गर्न सक्दैनन् ? '
मञ्चमा पीडा र उत्पीडनको अभिनय गरिरहँदा म बढी शक्तिशाली महसुस गरिरहेकी थिएँ । त्यो स्थानमा आफू भएको भए आफूमाथि भएको दुर्व्यवहार, अमानवीयता सहेर बस्दिनथेँ । कसैले एउटा ढुंगा हान्दा त्यसलाई चारवटा ढुंगा हान्न सक्थेँ होला । ती महिलामा त्यति पनि आत्मबल किन नभएको होलाजस्तो लाग्यो ।
नाटकमा विवाह गरेर पुरुषको चरित्रमा प्रवेश गर्दाको समय आफूलाई साह्रै चित्त बुझेको थियो । 'आई हेट द्याट काइन्ड अफ' लोग्नेमान्छे । पुरुषको दम्भ अभिनयमा पोख्दा रमाइलो लागेको थियो । त्यति बेला महसुस गरेँ, 'म लोग्नेमान्छे भइदिएको भए आफ्ना आमा, दिदीबहिनीको सुरक्षा गर्थेँ । उनीहरूलाई बोक्सी बन्न दिन्नथेँ ।'
वास्तविक जीवनमा बोक्सी हुन्छ भनेर कहिल्यै विश्वास लागेन । बोक्सी कसरी बनाइँदो रहेछ भन्ने थाहा पाएँ । बोक्सीको चरित्रभित्र पुग्दा म बोक्सीमै रूपान्तरित भएको महसुस गरेँ । यस्तो लाग्यो, 'म बोक्सी नै हुँ ।' नाटक मञ्चन भएको पहिलो दिन नै समाचारमा पढेँ आफ्नै आमालाई छोराबुहारीले बोक्सीको आरोपमा थुनेर राखेको । आफ्नो जीवन जोखिममा राखेर सन्तान जन्माउने, आफ्नो गाँस काटेर उनीहरूलाई पाल्नेपोस्ने आमालाई कसरी त्यस्तो गर्न सकेको होला समाजले । आफ्नी आमालाई सम्झेर बेस्सरी रोएँ ।
नाटक गरेदेखि दिनदिनै यस विषयप्रति चिन्ता बढ्दै गएको छ । पिरोलिइराछु, ती आमा, दिदीबहिनीहरूको बिजोग सम्झेर, पीडा महसुस गरेर । अभिनय अभ्यास गर्दा धेरैपटक रोएँ । म पनि महिला हुँ, मलाई छुन्छ यस्तो कुराले । अहिले यही विषयलाई बहसमा ल्याउने योजना बनाउँदैछु ।
समाजलाई सचेत गराउने जिम्मेवारी मेरो हो । राज्य, एनजीओ, आईएनजीओको मात्रै मुख ताकेर हुँदैन । कम्तीमा म त्याग्दिनँ । किनकि बोक्सी बनाइनुको पीडा कति दर्दनाक हुन्छ, त्यो मैले महसुस गरेकी छु । हो म साँच्चै समाजमा भनिने बोक्सिनी नै बनेकी छु । त्यो नाटक गरिरहँदा ।
प्रस्तुति: विनीता मरहठ्ठा