बोधिचित्त र रुद्राक्ष खेतीमा किसानको आकर्षण
सिन्धुलीः एउटै रुखबाट लाखौं रुपैयाँ आम्दानी लिन सकिने बोधिचित्त र रुद्राक्षको जिल्लामा ब्याबसायीक खेती थालीएको छ । काभ्रे र रामेछाप जिल्लाका कृषकहरूले राम्रो आम्दानी लिने गरेको थाहा पाएपछि जिल्लाका कृषकहरूले पनि काभ्रेबाट विरुवा मगाएर बोधिचित्त र रुद्राक्षको ब्याबसायीक खेती थालेका हुन् ।
जिल्लाको भुवनेश्वरी गाविसमा यसको ब्यावसायीक खेती थालीएको हो । विश्वकै एकमात्र वनस्पति बोधिचित्त(बुद्धचित्त) माला अर्थात गौतम वुद्धले तपस्या गर्दा र वुद्धत्व प्राप्त गर्दा हातमा लिने माला र हिन्दु धर्मालम्बीहरूले प्रयोग गर्ने रुद्राक्षी मालाको सिन्धुलीमा पहिलो पटक व्यवसायीक खेती सुरु गरिएको हो ।
उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष बिनेश श्रेष्ठ सहित सात जनाको समुहले भुवनेश्वरी गाविस-५ सुदामेमा बोधिचित्त र रुद्राक्षको व्यवसायीक खेति सुरु गरेका हुन ।
परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्र यसको बिरुवा रहि आएको थियो । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा हुँदा र उच्च बजार मूल्यले गर्दा त्यसको व्यवसायीक खेति अन्य क्षेत्रमा समेत मौलाउँदै गएको हो । कम मेहनत र लगानीमा धेरै आम्दानी हुने भएकाले यस्को व्यवसायीक खेति सुरु गरिएको व्यवसायी बिनेश श्रेष्ठ बताए ।
उनले भने, ‘अत्याधिक माग र उच्च मुल्यको कारण व्यवसायिक खेति सुरु गरेका हौं, नयाँ भुगोल र हावापानीमा भएकाले कस्तो उत्पादन हुन्छ अहिले नै भन्न सक्ने अवस्था छैन ।’
जिल्लाको भुवनेश्वरी गाविस-५ सुदामेमा २१ लाख रुपैयाँ लगानीमा २० रोपनी जग्गामा तिन सय बोधिचित्तका बेर्ना र १ सय ५० रुद्राक्षको बेर्ना रोपिएको श्रेष्ठले बताए । काभ्रेको तिमाल क्षेत्रमा उत्पादन हुने बोधिचित्त मालाको व्यापक प्रचार र करोडौं आम्दानीको चर्चा पछि सोहि क्षेत्रबाट बेर्ना ल्याएर उनीहरूले व्यवसायीक रुपमै खेति सुरु गरेका हुन ।
बोधिचित्त माला तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने गरेको छ । बोधिचित्त मालाको विरुवा समशितोष्ण भुभाग ४०० मि देखी २००० मिटर मा लगाउन सकिन्छ । यसलाई खास गरी माघ र फागुनमा रोप्नु उत्तम मानिन्छ । यसको वोटमा रोपेको ३ र ४ वर्षदेखी दाना फल्न शुरु हुन्छ ।
बोधिचित्त मालाको बजार मूल्य यसको प्रकार र साइज अनुसार निर्धारण हुन्छ । हाल फली रहेको प्रकार अनुसार ३ देखी ७ मुखे सम्मको मुल्य प्रती गोटा रु ४ सय देखी ४ लाख सम्म पर्छ । त्यसै गरी दुई मुखे मालाको भने साइज अनुसार मुल्य हुन्छ ७ मिमी को १०८ गेडाको एक माला रु ४ लाख पर्छ भने साइज बढ्दै जाँदा मुल्य कम हुंदै जान्छ । सबभन्दा ठुलो साइजको माला भने पाथिमा बेचिन्छ । बजारमा १ पाथिको मुल्य रु २५ देखी ३५ हजार सम्म पर्छ ।
बौद्ध धर्मावलम्बीहरूले बोधिचित्तको १ सय ८ दाना जडित मालाले नाम जप्दा ठुलो पुण्य मिल्ने विस्वासका साथ यो माला खरीद गर्न थालेपछि एकाएक यसको मुल्य र महत्वमा बृद्धि भएको हो ।
वनस्पतिविद डा. केआर भट्राईको समुहले लामो समय अनुसन्धान गरेर ‘जिजिफस बुद्धान्सीस’ नाम दिएको यो बोटमा स-साना दाना फल्छन । सयौं बर्ष देखि बौद्ध लामाहरूले यसलाई मालाको रुपमा प्रयोग गर्दै आएका थिए । पछिल्ला बर्षहरूमा भारत, चीन, सिंगापुर, जापान र कोरियामा समेत बुद्धचित्तको माग बढेपछि सुन भन्दा मंहगो बन्न पुगेको हो । वनस्पति विज्ञानले नै नेपालमा मात्रै पाउने भनेर पुष्टि गरेको यो वनस्पति मुलुकको अमुल्य सम्पदा पनि हो ।