सुषमाः अपडेटेड गायिका

सुषमाः अपडेटेड गायिका

'ज्याक अफ अल मास्टर अफ वन बन्न चाहन्छु', सुषमा राईको जीवनको रोडम्याप यही हो । देख्नमा सामान्य सुषमा बुझाइमा गहन लाग्छिन् । उनको अनुभवको आयतन फराकिलो छ । बुझाइको रंग थप रंगीन हुँदै गएको छ । चितवनको पटिहानी–४ मा दिलबहादुर राई र मैना राईको जेठो सन्तानका रूपमा जन्मिएकी सुषमाको एउटामात्रै परिचय छैन ।

उनी नेपाली गीतकी कुशल अंग्रेजी अनुवादक हुन् । आईईएलटीएस पढाउँछिन्, असल प्रशिक्षक हुन् । अर्किट साइन्स कलेजबाट प्लस टु गरेपछि उनले क्यापिटल एफएममा चार वर्ष आरजे बनेर काम गरिन्, श्रोताले रुचाएकी रेडियो जक्की हुन् । त्यो यात्रा पाँच वर्षयता इमेज एफएममा जारी छ ।

एनटीभी प्लसमा भीजे हुँदा पनि उनलाई नरुचाउने धेरै थोरै थिए होला । फस्टाउँदो अवस्थामा भए पनि नेपाली कलाकारिता त्यति सपाट छैन । विवादरहित पाइँदैन । अनेक खाले शोषणको आरोप यस क्षेत्रलाई लाग्दै आएको छ । धेरै कमजोरी चोकचौतारोमा टिप्पणी गरिएको सुनिन्छ । 'पढ्दै नपढेका र थोरै कम्मर मर्काउन जाने त भइगयो नि' भन्दै कलाकारको टिप्पणी गर्नेका लागि सुषमा दरिलो जवाफ हुन् ।

चितवनको ब्राइट स्टार बोर्डिङ स्कुलबाट प्रवेशिका गरेकी सुषमा सानैदेखि कलाकारितामा लाग्न चाहन्थिन् । 'बाबाआमाले पहिला पढाइ भन्नुभयो', सुषमाले भनिन्, 'मैले पढाइलाई विशेष ध्यान दिएँ, अनिमात्रै अन्य क्षेत्रमा हात हालेँ, रुचि त मलाई अञ्जान अवस्थादेखि नै थियो ।' सुषमाले सेन्ट जेभियर्सबाट बीएसडब्लू गरिन्, त्रिचन्द्र कलेजबाट मास्टर्स गरिन् ।

आईएसीईआरबाट एमफिल गरिरहेकी उनको 'नबाँड न त्यो मन' बोलको म्युजिक भिडियो यति बेला चर्चामा छ । यसमा सुषमाकै स्वर छ, उनकै निर्देशन छ, आफ्नै शब्दमा आफैं मोडलिङ गरेकी छन् । गीतमा कम्पोज भने कल्याण सिंहको छ । उनले भनिन्, 'सबै भूमिका मेरा लागि नयाँ अनुभव हो ।'

असल अंग्रेजी अनुवादकको परिचय बनाएकी सुषमाले गीतकार अरुण तिवारीको ३५ वटा गीतलाई 'सेलेक्टेड पोइम्स अफ अरुण'मा अनुवाद गरेकी छन् । उनको अनुवादको यात्रा रफ्तारमा छ । यति बेला उनी गीतकार रमेश अधिकारीको 'सेलेक्टेड पोइम्स अफ अधिकारी'को अनुवाद सकेर 'पाटेबाघ' अनुवादको अन्तिम चरणमा छिन् ।

परिवारमा संगीत क्षेत्रमा कोही नभए पनि उनका लागि यो क्षेत्र नयाँ हो । 'नयाँमा नै जीवनको असली अनुभूति हुँदो रहेछ', सुषमाले भनिन्, 'म हरेक कुरा अनुभूति गर्न चाहन्छु, त्यसैले हरेक क्षेत्रमा म हरेक पल अपडेटेड छु ।' सामाजिक विषयमा पीएचडीको योजना बनाएर एमफिल गरिरहेकी सुषमा दुई घन्टा म्युजिकलाई दिन्छिन्, दुई घन्टा आईईएलटीएस पढाउँछिन्, दुई घन्टा आरजेको भूमिकामा रमाउँछिन्, बाँकी समय विद्यार्थी बनेर पढ्छिन् । 'म जे गरिरहेकी हुन्छु, त्यति बेला त्यहीँ समर्पित हुन्छु', उनले भनिन्, 'म एउटा क्षेत्रको ह्याङओभर अर्को क्षेत्रमा बोक्दिनँ ।'

नेपालमा 'इलेक्ट्रो पप म्युजिक'लाई बढावा दिने सोचले संगीत क्षेत्रमा लागेकी सुषमा अब एक्सपेरिमेन्ट गीत गर्ने सोचमा छन् । मिस मंगोलको पाँचवटा शृंखलामा प्रस्तोताको भूमिका निर्वाह गरिसकेकी उनी सधैं सकारात्मक सोचमा हिँड्नुपर्ने सोच राख्छिन् । कलाकारितामा सकारात्मक पक्षमात्रै नभएको बुझेकी उनी सबै नकारात्मकमात्रै पनि नभएको भन्न रुचाउँछिन् ।

संगीत क्षेत्रमा आर्थिक उपार्जनको पक्ष कमजोर भए पनि उनी भन्छिन्, 'आत्मसन्तुष्टि पनि केही चिज हो, त्यसैले मेरो रुचिको पाटो यही बन्यो ।' जीवनलाई संघर्ष र अनुभवको यात्राका रूपमा परिभाषित गर्न रुचाउने सुषमा वैवाहिक जीवनका बारेमा 'यस्तै गर्छु' भन्ने योजनामा छैनन् ।

'उमेर भयो भन्दैमा आत्तिएर विवाह गर्दिनँ, हिँड्दै जाँदा कोही आफूलाई सुहाउने भेटियो भने नाइँ पनि भन्दिनँ', सुषमाले भनिन्, 'प्रेम जिन्दगीमा अपरिहार्य छ, धेरैले प्रेमको धेरै परिभाषा गर्लान्, यसका धेरै रूप छन्, यो पूजा पनि हो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.