तरुण दलमा तनाव, समानान्तर समिति बनाउने चेतावनी
काठमाडाैं:नेपाल तरुण दलका एक चौथाई केन्द्रीय सदस्यहरुले समानान्तर समिति गठन गर्ने चेतावनी दिएका छन्। विधान समिति संयोजकसमेत रहेका असन्तुष्ट पक्षका मोदिनी सिटौलाले तमाम तरुणहरूको उर्जाशिल विचार, संगठनको भावनामाथि संस्थापन पक्ष र तरुण दलको अवैधानिक नेतृत्वले जथाभावी रुपमा कुल्चन खोजेको आरोप लगाए।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा शुक्रवार पत्रकार सम्मेलन गरी उनले भने,‘विभिन्न जिल्लाको विवाद समाधान नगरी महाधिबेशन हुन्छ भन्ने कसैले सोचेको छ भने केवल कोरा कल्पना हो।’ उनले निर्देशन समिति र केन्द्रीय समितिलाई यो बेला आँखा खोल्ने हिम्मत गर्न चेतावनी दिए।
कार्यक्रमका सभापति एव्म केन्द्रीय समितिको तर्फबाट नेतृत्व गरिरहेका रमेशप्रसाद खरेलले विधिसम्वत महाधिबेशन गर्नुपर्ने उल्लेख गरे। उनले भने,‘यदि हाम्रा मागहरूलाई वेवास्ता गरियो भने देश भर समानान्तर समिति गठन गरेरै भएपनि चुनावि मैदानमा उभिनेछौं।’
असन्तुष्ट पक्षले अघि सारेको मागहरुमा कतिपय जिल्लामा एक पक्षीय ढंगबाट विवादास्पद काम कारबाही गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न माग गरेका छन्। असन्तुष्ट पक्षले महाधिवेशनबाट कुनै पनि जिल्ला बञ्चित गर्न नपाइने, तत्काल जिल्ला अधिवेशन गरि महाधिबेशन प्रतिनिधिहरुको नामावली केन्द्रिय कार्य समितिको बैठकबाट अनुमोदन गरि महाधिबेशनको मिति र स्थान तय गर्नुपर्ने, संगठनको विधान पनि संशोधन गरि महाधिबेशन पहिले नै संघीय संरचना विद्यान निर्माण गर्नु पर्ने लगायत माग अघि सारेको छ।
उनीहरुले आफूहरुले अघि सारेका मागहरु बेवास्ता गर्दै बहुमत वा समूहका नाममा जवरजस्ती वा एकलौटी ढंगले अगाडि बढेमा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी दिए। त्यस्तै उनीहरुले आवश्यक परेमा देशभरि समानान्तर समिति गठन गरी महाधिवेशन बहिष्कार गर्ने परिस्थिति समेत सिर्जना हुने चेतावनी दिएका छन्।