किन हुन्छ आत्महत्या ?

किन हुन्छ आत्महत्या ?

संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनि औसत आठ हजार ६ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेका छन् । यो संख्या अझ बढी हुने सक्ने मानसिक रोग विशेषज्ञहरूको दाबी छ ।

के हो आत्महत्या

सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोसिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ ।
धार्मिक दृष्टिमा त आत्महत्या गर्ने मानिस सीधै नर्कमा जान्छन् भन्ने मान्यता छ । तर मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक विकृति (रोग) हो । यो विकृति पछिल्लो ५० वर्षको अवधिमा ६० प्रतिशतले बढेको छ । हिजोआज आत्महत्या मृत्युको प्रमुख कारण बनेको छ ।

आत्महत्याको कारण

महान् सामाजशास्त्री दुर्खाइमले आत्महत्याको सामाजिक सिद्धान्त प्रतिपादन गरेका छन्, जुन सिद्धान्त निकै चर्चित छ । अर्का समाजशास्त्री हेन्डिनले आत्महत्याका बारेमा छुट्टै सिद्धान्त विकास गरेका छन् । तर यहाँ उल्लेखनीय कुरा के भने आत्महत्या केवल सामाजिक कारणले मात्र हुने गर्दैन । आत्महत्यामा सामाजिक कारणका साथसाथै मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको पनि उत्तिकै ठूलो भूमिका रहन्छ ।

वास्तवमा आत्महत्या एक जटिल सामाजिक, मनोवैज्ञानिक तथा जैविक कारणको उपज हो । त्यसैले आत्महत्याका विविध कारणहरू हुन सक्दछन् । तर आत्महत्याको कोसिस गर्ने तथा आत्महत्या गर्ने ९० प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगहरूबाट पीडित भएका हुन्छन् । तर सबै मानसिक रोगहरूले आत्महत्या तथा आत्मक्षति गर्छन् भन्ने छैन । डा. ढुंगानाका अनुसार १५ देखि २० प्रतिशत डिप्रेसनका रोगीहरूले आत्महत्याको प्रयास गर्छन् ।

डिप्रेसन नै आत्महत्याको प्रमुख कारण हो । डिप्रेसनका साथै दुश्चिन्ता, व्यक्तित्व विकार तथा सिजोफ्रेनिया आदि जस्ता मानसिक रोगहरूको कारणहरूले पनि आत्महत्या गर्छन् । मानिसलाई डिप्रेस्ड बनाउने निम्नलिखित सामाजिक तथा मनोवैज्ञानिक कारणहरूले गर्दा मानिसले आत्महत्या गर्न सक्दछन् । गम्भीर तथा पीडादायक शारीरिक रोगहरू जस्तैः क्यान्सर तथा एड्स आदि । परीक्षामा असफलता । प्रेममा बिछोड तथा असफलता । कष्टदायक वैवाहिक जीवन । अवैध गर्भ ।

व्यापार-व्यवसायमा घाटा तथा क्षति । धेरै ऋण । सामाजिक अपमान तथा बहिष्कार । आत्मसम्मानमा ठेस (जस्तैः झुटो आरोप, उपेक्षा, लाञ्छना, जागिरबाट बर्खास्ती, अरूको सामु बेइज्जती आदि ।) । प्रियजन तथा आफन्तको मृत्यु । मानसिक अन्तद्र्वन्द्व। मद्यपान तथा दुव्र्यसन । पारपाचुके तथा आपसी सम्बन्धमा तनाव तथा कटुता । यौन समस्या । दाइजोसम्बन्धी समस्या । घरेलु हिंसा तथा पारिवारिक कलह । बेरोजगारी तथा आर्थिक समस्या । बलात्कारको पीडा । आत्महत्याको पारिवारिक इतिहास आदि ।’

जैविक दृष्टिमा आत्महत्या गर्ने मानिसको मस्तिष्कमा सेरेटोनिन आदि स्नायु रसायनहरूको कमी हुन्छ । यस्ता रसायनहरूको कमी भयो भने मानिसलाई संवेदना नियन्त्रण गर्न कठिन पर्छ र उनीहरूमा आक्रमक तथा विध्वंसक आचारण बढ्छ, जसले गर्दा मानिस आत्महत्या गर्न पुग्छन् । वंशाणुगत कारणले पनि मानिसले आत्महत्या गर्छन् ।

आत्महत्या गर्नेको विचार

आत्महत्या गर्ने वा आत्महत्याको विचार गर्ने मानिसको मनमा प्रायः यस्ता विचारहरू पैदा हुने गर्छन्ः

. यो जीवन के हो र ? केही पनि होइन । खाली दुःखपीडाको भवसागर हो । यस्तो दुःखपीडा सहेर बाँच्नुभन्दा त मर्नु नै बेस छ ।
मेरो भविष्य अ“ध्यारो छ । अब केही हुनेवाला छैन ।
. म किन बा“चिरहेको छु । मेरो जीवन केही कामको छैन । म बाँच्नुको कुनै अर्थ छैन । धरतीको बोझ बनेर बा“च्नुभन्दा मर्नु निको छ ।
. मेरो समस्या अब म मरेमात्र समाधान हुन्छ ।
. यो संसारमा मेरो आफ्नो भन्ने कोही रहेनछ । अब म बा“च्नु र मर्नुमा के फरक रह्यो र ?
. यस्तो तिरस्कार तथा अपहेलना सहेर बाँच्नुभन्दा त मर्नु नै बेस छ ।
. यो गधाको जस्तो जिन्दगी जिउनुभन्दा त मर्नु नै ठीक छ ।
. जति मेहनत गर्दा पनि जीवनमा केही गर्न सकिन । मेरो कर्म नै फुटेको रहेछ । यस्तो फुटेको कर्म लिएर बाँच्नुभन्दा त मर्नु नै निको ।
. मेरो यो रोग अब ठीक हुँदैन । मैले गर्दा सबैलाई दुःख भएको छ । अब म मर्नु नै ठीक छ ।

जब उपर्युक्त प्रकृतिका विचारहरू व्यक्तिको मनमा लगातार आउ“छन् र यस्ता व्यक्तिले आत्महत्या गर्ने योजना बनाउने गर्छन् भन्ने यस्ता व्यक्तिले कुनै पनि बेलामा आत्महत्या गर्न सक्दछन् ?

आत्महत्या गर्न सक्ने मानिसको प्रकृति


मनोवैज्ञानिक जाँचबाट आत्महत्याको सम्भावनाको अनुमान गर्न सकिन्छ । खासगरी निम्नलिखित प्रकृतिका मानिसले आत्महत्या गर्ने सम्भावना बढी हुन्छ ।
. डिप्रेसन तथा अन्य मानसिक रोगीहरू ।
. धेरै संवेदनशील तथा बिना सोचविचार निर्णय गर्ने व्यक्तिहरू ।
. मानसिक रूपमा अपरिपक्व तथा कमजोर मानिस, जो जीवनमा आउने सानोतिनो उतारचढावदेखि हायलकायल हुने गर्छन् ।
. पारपाचुके गरेका वा एकल जीवन जिउने मानिस ।
. असामाजिक व्यक्तित्व विकार तथा बर्डरलाइन व्यक्तित्व विकारका मानिस ।
. १५ देखि २४ वर्ष तथा ४५ वर्षमाथिका व्यक्ति ।
. आत्महत्याको धम्की दिने तथा पहिला आत्महत्याको कोसिस गरेका व्यक्ति ।

अरूको ध्यान आकर्षित गरी चर्चामा आउन तथा आफ्नो कुरा लागू गर्न, आफैंलाई चोट (सेल्पहार्म) पुर्‍याउने व्यक्ति । यस्ता व्यक्तिको उद्देश्य आत्महत्या गर्ने त हुँदैन, तर असावधानी र उचित उद्धारको अभावमा यस्ता व्यक्तिको मृत्यु हुन सक्दछ । समाजमा यस किसिमका आत्महत्या पनि प्रशस्त हुने गर्छन् । हिन्दी फिल्मका नायक अभिषेक बच्चन र नायिका ऐश्वर्या रायको विवाहको बेलामा एक कनिष्ट अभिनेत्रीले आफ्नो विवाह अभिषेक बच्चनसँग भएको दाबी गर्दै हातको नसा काटेकी थिइन्, यदि समयमै उनको उद्धार नगरेको भए उनको मृत्यु पनि हुन सक्थ्यो ।

रोकथाम

माथि भनिएझैं आमहत्या एक जटिल सामाजिक, मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको उपज भएकाले आत्महत्याको रोकथाम त्यत्ति सरल छैन । तर, बृहत् प्रयासको थालनी भएमा आत्महत्या न्यूनीकरण गर्न सकिन्छ । विकसित देशहरूमा आत्महत्या रोकथामका लागि अनेकौं प्रयासहरू भएका छन् । यस्ता संस्थाहरूले आत्महत्या गर्न खोज्ने व्यक्तिहरूलाई भावानात्मक सहयोग गर्नुका साथै उपयुक्त परामर्शका लागि मार्गदर्शन गर्ने कार्य गर्छन् ।

नेपालमा भने यस किसिमका संघसंस्थाहरू छैनन् भने पनि हुन्छ । भएका एकाध यस्ता संस्थाहरू पनि प्रभावकारी हुन सकेका छैनन् । दिनप्रतिदिन द्रुत गतिमा बढ्दै गएको आत्महत्याका घटनाहरूलाई नियन्त्रण गर्नका लागि निम्नलिखित कार्यहरू गर्न आवश्यक छ । आत्महत्यालाई सिर्फ पाप र अपराधको कोटीमा राखेर आत्महत्या न्यूनीकरण हुन सक्दैन ।

सुलभ उपचार

मानसिक रोग नै आत्महत्याको प्रमुख कारण हो । यसको उचित औषधि–उपचारको व्यवस्था तथा मानसिक रोगीहरूको उचित स्याहारसुसार र रेखदेख गर्ने हो भने ९० प्रतिशत आत्महत्या स्वतः कम हुन्छ । हाम्रोमा मानसिक स्वास्थ्य सेवाबाट अधिकांश नागरिक वञ्चित छन् । सवर्सुलभ उपचार उपलब्ध गराउनेतिर राज्यले ध्यान दिनु आवश्यक छ ।

राज्य व्यावस्था र सरकारी नीति

राज्यमा उचित शान्ति सुरक्षाको व्यवस्था, निष्पक्ष न्यायप्रणाली, विभेदपूर्ण शासनको अन्त्य तथा सामाजिक न्याय भएको खण्डमा पनि आत्महत्याका घटनाहरूमा कमी आउँछ । सत्तामा बस्नेहरूले ब्रह्मलुट गर्ने तर किसानले समयमा मलसमेत पाउन नसक्ने, गरिबले बिरामी पर्दा सिटामोलसमेत खाना नपाउने स्थिति रह्यो भने आत्महत्याको घटनाहरू यसरी नै बढ्दै रहनेछन् ।

विशेष रेखदेख

तीव्र आर्थिक समस्याले पिरोलिएका व्यक्ति, परीक्षामा असफल भएका विद्यार्थी, अन्यायपूर्ण तरिकाले नोकरीबाट बर्खास्त परेका व्यक्ति, अतिप्रियजनको आकस्मिक निधनद्वारा दुःखी भएका व्यक्ति आदिलाई तुरुन्त उपयुक्त परामर्श तथा सहायताको आवश्यक पर्छ । यस्ता व्यक्तिहरूको विशेष रेखदेख गर्नुपर्छ । आत्महत्या गर्दा प्रयोग गरिने सामग्री तथा लागूपदार्थहरूको नियन्त्रण गर्ने हो भने पनि आत्महत्याको रोकथाममा टेवा पुग्दछ ।

अनुत्तीर्ण भएका विद्यार्थीलाई अभिभावकले राम्रोसँग सम्झाएर–बुझाएर अगाडिको बाटो देखाउन सहयोग गर्नुपर्छ । विद्यार्थीलाई अरूस“ग तुलना गरेर गाली गर्ने तथा पिट्ने गर्नु हुँदैन । केही वर्ष पहिला एसएलसी मौका परीक्षामा समेत अनुत्तीर्ण भएकी एक छात्रालाई आमाबाले त“ राम्री पनि छैनेस्, एसएलसी पनि फेल भइस्, तलाई अब कसले विवाह गर्छ भन्दै खुब गाली गरेपछि उनले विष सेवन गरी आत्महत्या गरिन् । यस्तो स्थिति आफ्नो परिवारमा नआओस् भन्ने कुरामा अभिभावक सचेत हुनुपर्छ ।

पारिवारिक दायित्व

आत्महत्याको मूल कारण मानसिक रोग तथा मानसिक समस्याहरू विभिन्न कारणहरूले पैदा हुने गर्छन् । कतिपय यस्ता रोग तथा समस्याहरू गलत पारिवारिक तथा समाजिक वातावरण तथा गलत जीवनशैलीद्वारा उत्पन्न हुने गर्छन् । सुरुदेखि नै बालबालिकाको उचित देखाभाल गर्ने तथा उनीहरूको आहारबिहार ठीक राख्ने हो भने बालबालिका शारीरिक तथा मानसिक रूपमा स्वस्थ र मजबुत हुन्छन् । यस्ता मानिसहरूमा तनाब थेग्न सक्ने सामथ्र्य पनि बढी हुन्छ ।

जागरण कार्यक्रम


आत्महत्याका घटनाहरू रोकथाम तथा न्यूनीकरण गर्न शैक्षिक तथा जागरण कार्यक्रमहरूको ठूलो भूमिका हुन्छ । त्यसैले आत्महत्या न्यूनीकरणका लागि ठाउँ ठाउँमा आत्महत्या रोकथाम केन्द्रहरूको स्थापना गर्न आवश्यक छ ।

आकस्मिक उपचार

प्रत्येक आत्महत्या गर्ने व्यक्तिले आत्महत्या गर्नुभन्दा पहिला प्रत्यक्ष परोक्षरूपमा आत्महत्याका केही पूर्वसंकेत गर्छन् । यस्ता संकेत सहायताका लागि पुकार हो । त्यसैले यस्ता संकेतहरू बुझेर समयमै उसलाई उचित परामर्श तथा सहयोग गरेको खण्डमा निश्चिय पनि उसलाई बचाउन सकिन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.