घरभित्रै चितुवाले बच्चा जन्माएपछि स्थानीय त्रसित
भक्तपुर: नन्तलिङ्गेश्वर नगरपालिका–८ सिरुटार ढल्यापिपल सोमलिङ्गेश्वर मन्दिर नजिकै रहेको ललितजङ्ग थापाको घरमा चितुवाले बच्चा जन्माएपछि सिरुटार क्षेत्र आतङ्कित भएको छ।
भूकम्पले माथिल्लो तला भत्किएपछि खाली भएको थापाको घरको दोस्रो तलामा एक साताअघि आएको चितुवाले तीनवटा बच्चा जन्माएर राखेपछि स्थानीय बासिन्दा आतङ्कित भएको स्थानीय प्रदीप कार्कीले जानकारी दिए। चितुवाले साँझ बिहान घरबाट ओहोरदोहोर गर्न र खेतबारीमा जानसमेत समस्या परेको बताउँदै कार्कीले भने,' बिहान घरको आँगनबाटै चितुवा हिँड्छ, दिउँसो बाँसको झाङ र मकैबारीमा चितुवा लुकेर बसेको देखिन्छ, खेतबारीमा काम गर्न र बच्चालाई स्कुल जानसमेत समस्या परिसक्यो।'
स्थानीय ईश्वर बुढाथोकीले एकसातादेखि त्यस क्षेत्रमा चितुवा देखिन थालेको र पाँचदिनअघि थापाको घरमा चितुवाको बच्चा देखिएको बताए। घर वरिपरि नै चितुवा देखिन थालेपछि यहाँको बस्तीमा त्रास फैलिएको उनको भनाइ थियो। स्थानीयवासीले चितुवाका बच्चा देखेपछि प्रहरी र जिल्ला वन कार्यालयलाई खबर गरेका थिए। महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले चितुवाले त्यही घरमा आएर बच्चा जन्माएको बताउँदै चितुवाले आतङ्कित पारेको उजुरी स्थानीयवासीबाट आइरहेको बताए।
जिल्ला वन कार्यालयलाई यसबारे जानकारी गराएको र बच्चासहित चितुवालाई लैजान आग्रह गरेको उहाँले जानकारी दिए। जिल्ला वन कार्यालय भक्तपुरका निमित्त प्रमुख न्हुछेंकृष्ण श्रेष्ठले चितुवाको तीनवटा बच्चा फेला परे पनि चितुवा आसपासको झाडीमा लुकेर बसेकाले कसरी चितुवा समाउने भन्ने समस्या परेको बताए।
उनले शुक्रवारनै वन विभाग र सदर चिडियाखाना गएर त्यससँग सम्बन्धित विज्ञलाई लगेर चितुवा समाउने प्रयास गरिने बताए।