उपत्यकामा बर्सेनि हैजा
काठमाडौः उपत्यकामा वर्षा मौसम सुरु भएदेखि भदौ १७ गतेसम्म ललितपुरमा एक सय १०, काठमाडौंमा १९, भक्तपुरमा एकजना र ठेगाना स्पष्ट नभएका सातजना गरी एक सय ३७ जनामा हैजाको संक्रमण पुष्टि भयो । कसैको मृत्यु भने भएको छैन । गत साल कलंकी, कुलेश्वर, कालीमाटी, बागडोल र त्यस आसपासका बस्तीमा एक सय ५० बढीमा हैजा फैलिएको थियो । कुनै कडा खाले हैजासमेत भेटिएकाले महामारी फैलन सक्ने खतरा सधैं रहिरहेको छ । जार र ट्यांकरका पानी खाने नै बढी संक्रमित देखिने गरेका छन् ।
आज बिहानै एक करोड ४० लाखभन्दा बढी नेपालीले खुला ठाउँमा दिसा गरेभन्दा अपत्यारिलो भए पनि वास्तविकता त्यही हो । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जहाँ मलमूत्रको सफाइ र खानेपानीको समुचित व्यवस्था हँदैन, तहाँ तीव्रगतिमा संक्रमित व्यक्तिको दिसाबाट झाडापखाला, हैजाजस्ता विभिन्न संक्रामक रोगहरू फैलिन्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार फोहोर छोएपछि, खानेकुरा पकाउँदा तथा खाना, खाँदा साबुनपानीले राम्ररी हात धोएमा झाडापखाला हुने दरलाई आधा गर्न सकिन्छ । चेतनाको अभाव छ हामीकहाँ । गरिबी छ, दुई छाक राम्रोसँग खान पाउँदैनन् जसले गर्दा कुपोषण हुन्छ । शारीरिक शक्ति कमजोर भएर स-साना रोगले भेट्दा पनि रोगसँग लड्ने क्षमता नभएर मृत्यु हुने गर्दछ । वयस्क बिरामीको झाडापखालाबाट मृत्यु भएमा त्यसलाई चिकित्सकीय भाषामा हैजा अर्थात् कोलेरा भनिन्छ ।
खानेपानीको मुहान संक्रमित त छन् व्यक्तिगत स्वक्षमताको अभाव छ, कुपोषण ठूलो समस्याको रूपमा रहेको छ । हरेक स्रोतका पानीमा कोलिफर्म बढी देखिन्छन् ।
हैजा भिब्रियो कालेरी ब्याक्टेरियाद्वारा आन्द्राको संक्रमणले उत्पन्न हुने झाडापखालासम्बन्धी गम्भीर रोग हो । संक्रमित आहार र पानीले यसको जीवाणु स्वस्थ व्यक्तिमा प्रवेश गर्छ र आन्द्रामा तीव्र गतिले आक्रमण गर्छ ।
संक्रमण भएको २४ घन्टादेखि पाँच दिनसम्म लक्षण सुरु हुन्छ । लक्षण देखिएको ३ देखि ६ घन्टामा समेत हैजाले घातक रूप लिन सक्छ । रक्तचाप कम हुन्छ र रोगी गम्भीर रूपले अचेत अवस्थामा पुग्छ ।
आन्द्राको कोषिकाबाट बढी मात्रामा पानी निस्कन थाल्छ र चौलानीजस्तै दिसा हुन थाल्छ । संक्रमण भएको २४ घन्टादेखि पाँच दिनसम्म लक्षण सुरु हुन्छ । लक्षण देखिएको ३ देखि ६ घन्टामा समेत हैजाले घातक रूप लिन सक्छ । रक्तचाप कम हुन्छ र रोगी गम्भीर रूपले अचेत अवस्थामा पुग्छ । बिरामीलाई साह्रै पातलो दिसा लाग्छ, बान्ता हुन्छ, कमजोरीले खुट्टा काम्छ, शरीरमा तरल पदार्थ तीव्र गतिले कमी हुन्छ । हैजाबाट संक्रमित प्रत्येक २० जनामध्ये एक जनालाई यसले निकै सिकिस्त बनाउँछ । उपचार नहुँदा शरीरमा पानीको कमी भएर मिर्गौलाले काम गर्न छोडेर केही घन्टामै रोगीको मृत्यु हुन सक्छ । स्वस्थ वयस्कलाई पनि केही घन्टामै सिध्याउन सक्छ ।
विश्व स्वास्थ्य संघका अनुसार करिब ७५ प्रतिशत हैजा संक्रमितलाई भने कुनै लक्षण देखिँदैन तर उनीहरूको दिसामा भने सातदेखि १४ दिनसम्म जीवाणु देखिन्छ । यसले नै अन्य स्वस्थ व्यक्तिमा वातावरणसँग सारिरहेको हुन्छ ।
विश्वभरि देखिने हैजाका कुल बिरामीहरूमध्ये करिब १० प्रतिशतमात्र रिपोर्टिङ हुन्छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका कुपोषित, बालबालिका, एचआईभी संक्रमित, दीर्घरागीहरू, अंग प्रत्यारोपण गरेका व्यक्तिहरूमा हैजा लागेमा मृत्यृको खतरा बढी हुन्छ । हैजाको लक्षण देखिएका वा विकसित भएकामा ८० प्रतिशत रोगीलाई भने सामान्य झाडापखाला हुने गरेको पाइन्छ । बाँकी २० प्रतिशतमा भने शरीरमा बढी पानी कम हुनुका साथै कडा पानी जाने झाडापखाला लाग्ने गरेको पाइन्छ र उपचार नपाए यसमा ५० प्रतिशत मृत्यृदर हुन्छ ।
उपचार
हैजाको उपचार करिब ८० प्रतिशतमा ओआरएस वा जीवनजल, नुन, चिनी, पानीद्वारा गरिन्छ । बान्ता पनि भए र गम्भीर अवस्थामा भने यो झोल नसाद्वारा दिइन्छ । प्रतिजैविक औषधिले गम्भीर हुनबाट रोक्छ । उपचार नगरिए यस्ता दुई बिरामीमध्ये एकको मृत्यु हुन सक्छ । विश्व स्वास्थ्य संघका अनुसार उपयुक्त र उचित उपचार गरे हैजाको मृत्युदर एक प्रतिशतभन्दा तल छ ।
बच्ने उपाय
रोगीको मलमूत्रलाई पानीको मुहानदेखि टाढा वा जथाभावी नफाली खाल्डोमा पुर्नुपर्दछ । पाउरोटी मक्खन नलगाई खानुस् । भाँडाकुँडा उपयोग अघि उमालेको पानीले सफा गर्नुपर्छ । लुगाफाटा पनि उमालेको पानीले पखाल्नुस् ।
. खानेकुरालाई झिंगाबाट बचाउनुपर्दछ ।
. झिंगा लागेको, बासी, सडेगलेका, नपाकेका, चिसिएको खाद्यपदार्थ खानु हुँदैन ।
. दिसा गरिसकेपछि, खानाअघि तथा पछि साबुनपानीले हात पखाल्नुपर्दछ ।
. खाना घरमै राम्ररी पकाएको खानुपर्दछ । सलाद नखाए बेस हुन्छ ।
. बजारको वरफ, आइसक्रिम तथा दुग्धजन्य पदार्थ नखानुस् ।
. सडक छेउ, होटेल, रेस्टुराँको खाद्यपदार्थ नखानुस् ।
. हातधुने तथा खानेपानी पहिले कम्तीमा पाँच मिनेटसम्म उमाल्नुस् वा क्लोरिन चक्कीले संक्रमणमुक्त बनाउनुस् ।
. हरेक पटक सफा तौलिया उपयोग गर्नुस् ।
. दाँत माँझ्दा उमालेर चिसो भएको पानी प्रयोग गर्नुस् ।
. हैजा रोगीलाई छुट्टै कोठामा राख्नुस्, तर एक्लै पनि नछोडौं ।
. हैजा पीडितका शव, लुगाफाटा वा मलमूत्र भएको ठाउँमा नजानुस् ।
अन्त्यमा, शुद्ध खाना, खानेपानी, पर्याप्त सरसफाइ, व्यक्तिगत स्वच्छता हैजाबाट बचाउ गर्न सकिने उपाय हुन । हैजाबाट बच्ने प्रभावकारी उपाय भनेकै शुद्ध खाना र पानीको उपयोग तथा पर्याप्त व्यक्तिगत सरसफाइ हो । यी सबैका लागि स्वास्थ्यसम्बन्धी जनचेतना नै यस्ता रोग तथा महामारीबाट बच्ने र बचाउने सर्वोत्तम तरिका हो ।
-लेखक लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कार्यरत छन् ।