फोहोर फाल्ने डम्पिङ साइड बन्यो फुटबल मैदान

फोहोर फाल्ने डम्पिङ साइड बन्यो फुटबल मैदान

भक्तपुर: भक्तपुरको मध्यपुर थिमि नगरपालिका एक बोडेस्थित फुटबल मैदान बेवारिसे अवस्थामा पुग्दा फोहर फाल्ने डम्पिङ साइट बनेको छ ।

स्थानीय युवा क्लवहरुले पटकपटक गरेको संरक्षणको प्रयास असफल हुँदा खेल मैदान फोहर फाल्ने डम्पिङ साइट बन्न पुगेको हो ।

फुटबलका राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको यो मैदान अहिले स्थानीयको अतिक्रमणको चपेटामा परेको छ । यही मैदानमा फुटबल अभ्यास गरेका सन्तोष साहुखल, बालगोपाल साहुखल र जीवन सिन्केमन फुटबलका राष्ट्रिय खेलाडी बन्न सफल भए ।

तर मैदान भने झन् झनै बेवारिसे बन्न पुगेको छ । प्राचीन बोडे देशको उत्तरमा पर्ने यो मैदानमा पहिरोसमेत गइरहेको छ ।

'बोडे बस्तीको ठीक मुन्तिर भएकाले बस्तीबाट बग्ने पानी तथा ढलले खेल मैदानमा पहिरो गइरहेको छ', स्थानीय दीपेन्द्र बुढा श्रेष्ठले भने, 'पहिरो रोक्न ठाउँ ठाउँमा रिटेनिङ वाल लगाए पनि मैदान बग्न छोडेको छैन ।'

उनले मध्यपुर थिमि नगरपालिका, भक्तपुर जिल्ला विकास समितिलगायतमा मैदानको संरक्षण गरी नियमित फुटबल प्रशिक्षणको व्यवस्था गर्न पटकपटक ध्यानाकर्षण गरिँदा पनि सुनुवाइ नभएको गुनासो गरे ।

'स्थानीयबाट मैदान अतिक्रमण नरोकिएकोले मध्यपुर थिमि नगरपालिका र सरोकारवालाहरुलाई उक्त अतिक्रमण रोक्न माग गरिँदा पनि सुनुवाइ भएन', उनले थपे, 'हामीले मात्र भन्दा अतिक्रमणकारीहरुले टेरेका छैनन् ।'

उनका अनुसार स्थानीय युवाहरुले हिउँदमा जसोतसो मैदानलाई प्रयोगमा ल्याउने गरेका छन् । मैदानमा अभ्यास गर्न स्थानीय युवाहरु फुटबल क्लव रियाले (एफसी रियाले) गठन गरी अभ्यास गर्ने गरेका हुन् ।

उक्त क्लवमा ६० जना युवा तथा विद्यार्थीहरु संलग्न भई हिउँदे फुटबल प्रशिक्षण क्याम्प सञ्चालन गर्दै आएको फुटबल प्रशिक्षक सुरेश खम्बूले जानकारी दिए ।

उनका अनुसार उक्त फुटबल क्लवलाई राष्ट्रिय फुटबल खेलाडीहरु बालगोपाल, सन्तोष र जीवनको अगुवाइमा गत वर्ष जापानबाट आर्थिक सहयोगसमेत प्राप्त भएको थियो । जापानका सहयोगीहरुले उक्त मैदानलाई संरक्षण गर्ने आश्वासन दिए पनि हालसम्म पूरा नभएको प्रशिक्षक खम्बूले बताए ।

'अतिक्रमण गरिएको क्षेत्र फिर्ता सरेर यसको संरक्षण गर्न सकिए फुटबल मैदान र प्याराफिट बनाउन पर्याप्त ठाउँ छ', उनले भने, 'मैदानको दक्षिण बस्तीसहितको भिरालो क्षेत्र भएकाले यहाँ प्याराफिट बनाउन सकिन्छ ।'

स्थानीयले पनि बिस्केट जात्राको अवसरमा प्रसिद्ध जिब्रो छेड्ने जात्रा सञ्चालन हुने बोडेमा राष्ट्रियस्तरको फुटबल मैदान बनाउन सकिए बोडेको अर्को परिचय बन्ने विश्वास व्यक्त गरेका छन् ।

फुटबल मैदान संरक्षणसँगै यसको पूर्वाधार निर्माण भएलगत्तै फोहर फाल्न बन्द हुने स्थानीयको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.