दसैंअघि नै कर्णालीमा खाद्यान्न
सुर्खेतः नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी नेपाल खाद्य संस्थानले कर्णालीमा खाद्यान्न ढुवानी सुरु गरेको छ । दसैं र तिहारजस्ता चाडपर्वमा कर्णालीका नागरिकले भोकमरीको समस्या बेहोर्नु नपरोस् भनेर अहिलेदेखि नै ढुवानी गर्न लागिएको संस्थानले जनाएको छ ।
कर्णालीवासीले यस वर्षको दसैं र तिहारजस्ता चाडमा भोकमरीको समस्या भोग्नु नपर्ने संस्थानको दाबी छ । कर्णालीका पाँचवटै जिल्लामा खाद्यान्न ढुवानीका लागि तयारी पूरा भइसकेको जनाइएको छ । नेपाल खाद्य संस्थान सुर्खेत शाखाका प्रमुख भीम थापाले खाद्यान्न ढुवानीका लागि ठेक्का प्रक्रिया पूरा गरिसकिएको जानकारी दिए । उनले कर्णालीका सबै जिल्लाहरूमा आवश्यक खाद्यान्न ढुवानी गरिने जानकारी दिए । ‘केही जिल्लामा त अहिले पनि खाद्यान्न ढुवानी भइरहेको छ’ उनले भने, ‘सबै जिल्लाका लागि पर्याप्त मात्रामा खाद्यान्न पुर्याउन लागिसकेका छौं र दसैंअघि नै त्यो काम हुन्छ ।’
अहिले पनि ती जिल्लामा केही मात्रामा भने खाद्यान्न मौज्दात रहेको नेपाल खाद्य संस्थान सुर्खेत शाखाले जानकारी दिएको छ । ‘डोल्पामा एक हजार ५ सय क्विन्टल र मुगुमा ६ हजार क्विन्टल चालम अहिले पनि मौज्दात छ, अन्य जिल्लाहरूमा पनि केही मात्रामा चामल मौज्दात छ । तर त्यो पर्याप्त होइन, त्यसैले थप खाद्यान्न पठाउन लागिरहेका छौं’, उनले भने ।
समयमै खाद्यान्न ढुवानी नहुँदा अघिल्ला वर्षहरूमा कर्णालीवासीले दसैं र तिहारजस्ता चाडपर्व पनि खुसीसाथ मनाउन पाएका थिएनन् । भोकमरीका कारण उनीहरूका लागि चाडपर्व दशा बनेर आउने गरेका थिए । तर यस वर्ष कर्णालीवासीको उक्त समस्या समाधानका लागि समयमै खाद्यान्न ढुवानीको काम सुरु गरिसकिएको जनाइएको छ ।
वर्षाका कारण स्थलमार्ग अवरुद्ध भएकाले हवाई मार्गमार्फत खाद्यान्न ढुवानी हुने जनाइएको छ । कर्णालीमा समस्या हुन नदिन सुर्खेतस्थित नेपाल खाद्य संस्थानको शाखा कार्यालयमा पनि अहिले १४ हजार ९ सय १२ क्विन्टल चामल संकलन गरी राखिएको छ । मुगुमा सबैभन्दा बढी ६ हजार क्विन्टल चालम मौज्दात रहेको र अन्य जिल्लाहरूमा पनि चामल मौज्दात रहेको शाखा प्रमुख थापाले जानकारी दिए ।
उनले यस वर्षको दसैंमा कर्णालीवासीले खाद्यान्न अभावको समस्या बेहोर्नु पर्ने अवस्था नरहेको दाबी गरे । ‘दसैं र तिहारजस्ता पर्वहरूमा पनि कर्णालीवासीले पेटभरी खान नपाउने अवस्थाको सिर्जना नहोस् भनेर खाद्य संस्थान गम्भीर भएको छ’, शाखा प्रमुख थापाले भने, ‘सबैभन्दा बढी अभाव देखिएको हुम्लामा नेपाली सेनाको हेलिकोप्टरमार्फत दुई पटक खाद्यान्न ढुवानी भइसकेको पनि थापाले जानकारी दिए ।
कर्णालीमा समस्या हुन नदिन सुर्खेतस्थित नेपाल खाद्य संस्थानको शाखा कार्यालयमा पनि अहिले १४ हजार ९ सय १२ क्विन्टल चामल संकलन गरी राखिएको छ ।
संस्थानले दिएको जानकारी अनुसार कर्णालीका पाँच जिल्लामध्ये हुम्लामा बढी खाद्यान्न अभाव हुने गरेको छ । अहिले पनि अन्य सबै जिल्लाहरूमा खाद्यान्न मौज्दात रहँदा हुम्लाका विकट क्षेत्रमा भने अभाव रहेको छ । जनसंख्या बढी भएको हुम्लाको सर्केघाट क्षेत्रको ९ वटा गाविस र श्रीनगर क्षेत्रका ५ वटा गाविसमा खाद्यान्न अभाव कायमै रहेको स्थानीयवासीले जनाएका छन् ।
यद्यपी दसैंभन्दा अगाडि नै ती क्षेत्रमा पनि पर्याप्त मात्रामा खाद्यान्न पुगिसक्ने प्रमुख थापाको भनाइ छ । उनले यस वर्षको कोटाबाट पनि खाद्यान्न पाउन सुरु गरिसकिएको बताए । हुम्लाका स्थानीयवासी भने खाद्यान्न अभावको समस्या समाधान हुनेमा विश्वस्त छैनन् । खाद्य संस्थानले आवश्यक मात्रामा खाद्यान्न पुर्याउन नसकेको उनीहरू बताउँछन् ।
रायघाट- २ हुम्लाका बलवीर रावलले खाद्य संस्थाले प्रयास गरे पनि त्यो पर्याप्त नभएको बताए । उनले हुम्लामा सडक र यातायात सुविधा नपुगेसम्म भोकमरीको समस्या टर्न नसक्ने बताए ।
खाद्य संस्थानले डिपोमा खाद्यान्न मौज्दात छ भने पनि हुम्लाको जैर गाविसका पूर्वअध्यक्ष जोशी धामी वास्तविक अवस्था त्यस्तो नभएको बताउँछन् । उनले सर्केघाट र श्रीनगरमा बढीमा ५६ क्विन्टल मात्रै चामल मौज्दात रहेको भन्दै त्यस क्षेत्रका नागरिकका लागि त्यो अपुग हुने बताए । साथै उनले दसैं र तिहारका लागि पर्याप्त खाद्यान्न व्यवस्था गरिदिन आग्रह गरे । कर्णालीमा हरेक वर्ष चाडबाडको बेलामा सर्वसाधारणले चामल नपाउने समस्या भोग्दै आएका छन् ।
।