काठमाडौंबाट हराउँदैछ काठमाडौं

काठमाडौंबाट हराउँदैछ काठमाडौं

काठमाडौंमा कसैले अवैध, अनियमित अथवा अव्यवस्थित भवन वा कुनै संरचना बनाउन खोज्यो भने त्यसलाई रोक्ने निकाय काठमाडौं महानगरपालिका हो । तर, अहिले पहिलोचोटि काठमाडौं महानगरपालिकाले नै बनाएको संरचनालाई अनियमित भयो भन्दै पुरातत्त्व विभागबाट रोक्ने काम भएको छ ।

रानीपोखरीको बीच भागमा निर्माण गरिएको बालगोपालेश्वर मन्दिर सम्पदासम्बन्धी मापदण्डविपरीत पुनर्निर्माण गरेको भन्दै पुरातत्त्वले हालै रोकिदिएको हो । पुरातत्त्वमात्र होइन, अहिले राष्ट्रसंघीय निकाय युनेस्कोले समेत रानीपोखरी निर्माणमा गरिएको यो लापरबाहीप्रति खेद व्यक्त गरेको छ । युनेस्कोले त रानीपोखरीको यही नजिरलाई अघि सार्दै अब काठमाडौंका अरू सम्पदाहरूको पुनर्निर्माण पनि शंकाको घेराभित्र आएको संकेत दिएको छ ।

उक्त मन्दिर बनाउने जिम्मा महानगरपालिकाले पाएको हो । पुनर्निर्माणमा भएको यो रोकावटको साथसाथै अब युनेस्को, पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाबीच पुनर्निर्माण भनेको कसरी हुन्छ त भन्ने विषयमा बहस पनि सुरु हुन्छ होला ।

गत सालको महाभूकम्पमा क्षति भएका धेरै सम्पदामध्ये रानीपोखरीको बालगोपालेश्वर मन्दिर पनि एक हो । पानीको बीच भागमा उभिएको कारणले यो मन्दिर फरक भए पनि वास्तुका हिसाबले भने त्यति जटिल भने होइन । यति सामान्य मन्दिर त उसको मौलिक शैलीअनुसार पुनर्निर्माण गरिँदैन भने अरू जटिल सम्पदाहरूको पुनर्निर्माण झन् कसरी गरिने होला भन्ने डरलाग्दो प्रश्न यसले उठाइदिएको छ ।

-सदियौंदेखि काठमाडौंको मौलिक सम्पदाका रूपमा रहँदै आएको रानीपोखरीमाथि अहिले भएको असभ्य आक्रमणबाट काठमाडौंका जनता खिन्न छन् ।

अझ त्योभन्दा पनि डरलाग्दो त के हो भने मापदण्ड मिचेर सम्पदाहरू बनाउने यो काम कुनै ठेकेदारले नभई स्वयं आफैं नियामक संस्था रहेको काठमाडौं महानगरपालिकाको नेतृत्वमा भइरहेको छ । पुरातत्त्वले काम रोक्ने निर्देशन दिइसक्दा पनि महानगरपालिकाले आफूलाई त्यस्तो निर्देशन दिने अधिकार पुरातत्त्वसँग नभएको जिकिर गरिरहेछ । वास्तवमा महानगरपालिकाले पनि काठमाडौं महानगरलाई अझै बुझिसकेको रहेनछ, उसको भनाइले यस्तै बताउँछ ।

रानीपोखरी काठमाडौंको सामान्य पोखरी होइन । निकै वर्ष लगाएर यसको निर्माण गरिएको थियो । १७२७ सालको शुक्लपदा पूर्णमास्या तिथि सोमबारका दिन यसले पूर्णता प्राप्त गरेको इतिहासकार शंकरमान राजवंशीद्वारा लिखित पुस्तक 'रानीपोखरीको इतिहास'मा उल्लेख छ । स्थानीय नेपाल भाषामा यसलाई 'न्हूपुखू' भनिन्छ अर्थात् नयाँ पोखरी ।

त्यति बेला काठमाडौं उपत्यकामा आफैं बनेका वा बनाइएका अन्य पोखरीहरू पनि थुप्रै थिए । जस्तै– खिचापोखरी (जुन अहिले छैन), इखापोखरी (जुन अहिले लोप हुने क्रममा छ), कमलपोखरी आदि । कीर्तिपुरको देय्पोखरी । भक्तपुरको सिद्धपोखरी । यी सबै पोखरीभन्दा रानीपोखरी भिन्न छ । इतिहासकार योगेन्द्रमान श्रेष्ठका अनुसार रानीपोखरी काठमाडौंको तत्कालीन सहरभन्दा अलिकति मुनितिर पारी बनाइएको छ ताकि पानी यसमा सजिलै जम्मा हुन सकोस् ।

पोखरीमा सधैं पानी आइरहोस् भनी पोखरीको बीच बीचमा धेरै इनारहरू पनि खनिएका छन् । साथै पानीको 'क्याचमेन्ट एरिया' कायम रहोस् भनी पोखरीसँगै टुँडिखेलको ठूलो चौर पनि खुला छोडिएको छ । पोखरीलाई तीर्थकै रूप दिन यसमा नेपाल र भारतका ५१ वटा तीर्थहरूबाट ल्याइएको पानी खन्याइएको थियो ।

यसमा भारतको वाराणसी, विश्वनाथ, वैद्यनाथ, गंगासागर र समुद्रको पानीका साथै नेपालका कालीगण्डकी, मुक्ति क्षेत्र, सप्तगण्डकी, सप्तकोसी, वराह क्षेत्र, गोसाइँकुण्ड, बूढानीलकण्ठलगायत काठमाडौंका विभिन्न नदीमा अवस्थित तीर्थहरू पर्छन् । यसरी यो पोखरी त्यति बेला पूर्ण रूपले नै नयाँ थियो, त्यसैले यसलाई 'न्हूपुखू' भनियो ।

स्थानीय मानिसहरू हरेक बिहान यो पोखरीमा मुख धोई सँगैको मन्दिरमा भगवान्को दर्शन गर्थे । पोखरीको बीच भागमा अवस्थित मन्दिरसम्म सीधै जान सकिन्थ्यो । तर, कालान्तरमा पोखरीमा फाल हाली आत्महत्या गर्नेहरू बढ्न थालेपछि राणा प्रधानमन्त्री जुद्धशमशेरले त्यहाँ फलामे बार र कुरुवासमेत राखिदिएका थिए ।

राजा प्रताप मल्लले पुत्रवियोगमा परेकी आफ्नी रानीको मन बहलाउन यो पोखरी निर्माण गरेको इतिहासमा उल्लेख छ । नेपालको राजनीतिक इतिहासमा राजा प्रताप मल्लको छुट्टै स्थान रहेको पाइन्छ । उनी आफ्ना बुवा राजा लक्ष्मीनरसिंह मल्ललाई 'अपदस्थ' गरी सिंहासनमा पुगेका थिए ।

पछि उनले पनि आफू जिउँदो छँदै कान्छा छोरा चक्रवेर्तिन्द्र मल्ललाई गद्दीमा राखी राजा बनाएका थिए । तर, दुर्भाग्य, छोरा चक्रवेर्तिन्द्र गद्दीमा रहेकै बेला मृत्यु भयो । त्यति बेला प्रताप मल्लका थुप्रै रानी थिए । भनिन्छ, उनका वैध रानीहरू नै नौजना थिए । तीमध्ये सबैभन्दा प्रिय रानी थिइन्— राजमाता अनन्तप्रिया । चक्रवेर्तिन्द्र अनन्तप्रियाबाटै जन्मिएका छोरा थिए ।

-काठमाडौं काष्ठ, प्रस्तर, धातुकलामा मात्र होइन' वास्तुकलामा पनि आफ्नै मौलिकता भएको सहर हो । काठमाडौं उपत्यकाको तीन सहरमा निर्मित तीनवटै दरबार यो मौलिक वास्तुकलाको नमुना हो ।

छोराको मृत्युले आफ्नी सबैभन्दा प्रिय रानीले अत्यन्तै विरह गरेको हेर्न नसकी प्रताप मल्लले यो विशाल पोखरी निर्माण गरेको वंशावलीहरूमा उल्लेख छ । रानीको मन बहलाउन बनाएको पोखरी भएकाले यसलाई पछि 'रानीपोखरी' पनि भन्न थालियो । प्रताप मल्ल तन्त्रविद्यामा अत्यन्तै विश्वास गर्ने भएकाले उनले यो पोखरी पनि तन्त्रविद्यामा आधारित भई निर्माण गरेको विश्वास गरिन्छ ।

रानीपोखरीमा पानी सुक्यो, पानीको रङ फेरियो वा त्यहाँका माछा मर्न थाले भने देशमा विघ्न हुनसक्छ भन्ने जनधारणा छ । भीमसेन थापाको अन्त्यअघि रानीपोखरीको पानी रातो हुँदै आएको देवमाला वंशावलीमा उल्लेख छ ।

प्राचीन कलाविद् डा. गौतम वज्राचार्यका अनुसार प्रताप मल्लले रानीपोखरी निर्माण गरेको बेला त्यहाँ बनाइएको मन्दिरलाई 'लुँ देगः' भन्ने गरिएको थियो । नेपाल भाषामा 'लुँ देगः' को अर्थ 'सुनको मन्दिर' भन्ने हुन्छ । यसबाट थाहा हुन्छ, त्यहाँ सुन लेपन गरिएको छानावाला कुनै मन्दिर रहेको हुनुपर्छ ।

यो मन्दिर निर्माणको ८० वर्षपछि बनाइएको एउटा पुरानो चित्रमा त्यहाँ शिखर शैलीको मन्दिर बनिसकेको देखिन्छ । जंगबहादुरले त्यसलाई पनि भत्काएर गुम्बज शैलीको मन्दिर बनाए । अहिले त्यो गुम्बज पनि ध्वस्त भएर पिल्लरवाला 'बंगला शैली' को मन्दिर बन्न लाग्दैछ । पुनर्निर्माण भनेको त बीचमा जीर्णोद्धार हुँदा हुन गएको त्रुटिलाई समेत सच्याएर 'ओरिजिनल'तिर जाने अवसर पो हो त ।

महानगरपालिकाले यति पनि नबुझ्नु दुःखको विषयमात्र नभई खतरनाक पनि हो । सम्पदा संरक्षणकर्मी आलोक तुलाधर भन्छन्, 'सायद यही खतरालाई इंगित गर्न होला, युनेस्कोले आफ्नो विज्ञप्तिमा दुई पंक्ति थपेको छ- ...रानीपोखरीको यो पुनर्निर्माणले वसन्तपुरको काष्ठमण्डप, मैजुदेगः जस्ता सम्पदाको पुनर्निर्माणमा समेत शंका जन्माइदिएको छ ।'

-काठमाडौंलाई सांस्कृतिक नगरी भनेर प्रचार गरिएको छ । तर, राज्यले आजसम्म यो सांस्कृतिक नगरको चीरहरणबाहेक अरू केही गर्न जानेन ।

यसरी सदियौंदेखि काठमाडौंको मौलिक सम्पदाका रूपमा रहँदै आएको रानीपोखरीमाथि अहिले भएको असभ्य आक्रमणबाट काठमाडौंका जनता खिन्न छन् । तर, प्रसंग यतिमै सीमित छैन । काठमाडौंका सम्पदाप्रेमीले यति बेला महानगरपालिकाकै पहलमा पुरानो बसपार्कमा निर्माण गर्न लागिएको 'काठमाडौं टावर'बारे पनि प्रश्न उठाएका छन् ।

त्यसविरुद्ध प्रदर्शन गरेका छन् । महानगरपालिकाले त्यहाँ २३ तले भवन बनाई पूर्णकालीन व्यापार गर्ने रणनीति बनाएको छ । यसबाट धेरै प्रश्न उठेका छन् । जस्तो, थुप्रै सांस्कृतिक सम्पदाहरू रहेको काठमाडौंमा ती सम्पदाहरूको छेवैमा यति ठूलो भवन बनाउन मिल्छ ? काठमाडौं उसै पनि भूकम्पको जोखिम क्षेत्र हो । यस्तो क्षेत्रमा खुला स्थान (ओपन स्पेस) हरू प्रशस्तै रहनुपर्छ । महानगरपालिकाको यो कामले ओपन स्पेसहरू बचाउँछ कि नाश गर्छ ?

काठमाडौं महानगरपालिकाको काम सेवा हो कि व्यापार ? महानगरपालिकाले त्यहाँ बनाउन लागिएको २३ तले भवनको नक्सा पनि सार्वजनिक गरेको छ । तर, त्यो नक्सामा रहेको घर कुनै पनि कोणबाट काठमाडौंको घरजस्तो लाग्दैन । काठमाडौं काष्ठ, प्रस्तर, धातुकलामा मात्र होइन वास्तुकलामा पनि आफ्नै मौलिकता भएको सहर हो । काठमाडौं उपत्यकाको तीन सहरमा निर्मित तीनवटै दरबार यो मौलिक वास्तुकलाको नमुना हो ।

राणाहरूले बनाएका दरबारहरू बेलायत र फ्रान्सको नक्कल हो । तर, मल्लकालीन दरबार संसारका कुनै पनि दरबारको नक्कल होइन । यी दरबारहरू विश्व सम्पदा सूचीमा पर्नुको कारण पनि यही हो । तर, महानगरपालिकाले पुरानो बसपार्कमा निर्माण गर्न लागेको भवनको नक्सा हेर्नोस्, के त्यो काठमाडौं सहरको कुनै मौलिकतासँग जोडिएको छ ? काठमाडौं महानगरपालिकाजस्तो संस्थाले काठमाडौंमा बनाउने भवन यस्तो हुन्छ ?

-महाभूकम्पमा ढलेका सम्पदाहरूको पुनर्निर्माण रानीपोखरीजस्तै गर्दै जाने हो भने काठमाडौंको जीउमा लाज छोप्नका लागि पनि कुनै पहिचान बाँकी रहनेछैन ।

भन्न त काठमाडौंलाई सांस्कृतिक नगरी भनेर प्रचार गरिएको छ । तर, राज्यले आजसम्म यो सांस्कृतिक नगरको चीरहरणबाहेक अरू केही गर्न जानेन । यसले गर्दा काठमाडौं संस्कृतिको मात्र केन्द्र होइन, अरू धेरै अवाच्छित वस्तुहरूको पनि केन्द्र बन्न पुगेको छ । जस्तो राजनीति, अर्थतन्त्र, स्वास्थ्य, फिल्म निर्माण (त्यसैले यसलाई कलिउड भन्ने नाम पनि दिइएको छ), सहरी विकास, शिक्षा, स्वास्थ्य, उद्योग, खेलकुद, अपराध जम्मैको केन्द्र । के काठमाडौंजस्तो एउटा सानो सहर यति धेरै केन्द्रको भारी बोकेर अघि बढ्न सक्ला ?

काठमाडौंले आफ्नो पहिचान गुमाउँदै गएकोमा अहिले व्यापक चिन्ता जाहेर हुँदैछ । महाभूकम्पमा ढलेका सम्पदाहरूको पुनर्निर्माण रानीपोखरीजस्तै गर्दै जाने हो भने काठमाडौंको जीउमा लाज छोप्नका लागि पनि कुनै पहिचान बाँकी रहनेछैन । त्यति बेलाको सहर काठमाडौंबिनाको काठमाडौं हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.