दसैंलाई थप तीन सय बस
काठमाडौंः दसैंलाई लक्षित गरी यातायात व्यवसायीले लामो दूरीमा तीन सयभन्दा बढी नयाँ बस थप्ने तयारी गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैं र तिहारमा अधिकांश सर्वसाधारण गृहजिल्ला जाने भएकाले यात्रु चापका आधारमा बस थप्ने तयारी गरिएको जनाएको छ ।
महासंघका महासचिव सरोज सिटौलाका अनुसार दसैंको समयमा दैनिक डेढ लाखको हाराहारीमा यात्रु काठमाडौंबाट बाहिरिने भएकाले हाल सञ्चालित बसले चाप थेग्न नसक्ने अवस्था छ । त्यसैले एक अर्ब ५० करोड रुपैयाँ लगानी गरी आधुनिक सुविधा सम्पन्न बस थप्न लागिएको उनले बताए । सामान्य दिनमा दैनिक ६ सय बसबाट ४५ हजार यात्रु बाहिरिने गरेका छन् । छोटो दूरीमा भने दुई सय गाडी थप्ने तयारी छ ।
‘यसपटक पोहोरभन्दा झन्डै दोब्बर सर्वसाधारण उपत्यकाबाट बाहिरिने अनुमान छ', महासचिव सिटौलाले भने, ‘गत वर्ष भूकम्पका कारण घरबारविहीन भएकामध्ये बसोबास उपत्यका सारेका धेरैले घर निर्माण गरिसकेकाले गृह जिल्ला फर्कने तयारी गरेका छन् ।'
फूलपातीदेखि अष्टमीसम्ममा दैनिक करिब चार लाख यात्रु उपत्यकाबाट बाहिरिने गर्छन् । दसैं अवधिमा करिब २६ लाख सर्वसाधारणले उपत्यका छाड्ने अनुमान गरिएको छ ।
दसैंका लागि भनेर व्यवसायीले यसपटक अत्याधुनिक सुविधासहितका सय डिलक्स बस र दुई सय सामान्य नयाँ बस थप्न लागेका हुन् । डिलक्स बस लामो रुटमा सञ्चालनमा ल्याइनेछ भने सामान्य बस छोटो दूरीमा सञ्चालन गरिनेछ । सिटौलाका अनुसार वातानुकूलित डिलक्स (एसी) सहितका अत्याधुनिक बस काठमाडौंदेखि बुटवल, वीरगन्ज, विराटनगर, झापा, भद्रपुर, बिर्तामोड, इलाम, राजविराज, सिरहा, पोखरा, नेपालगन्ज, जनकपुर, बनेपा, भैरहवा, चितवनलगायतका रुटमा थपिनेछन् ।
३५ देखि ४० लाखसम्ममा साधारण र ४० देखि ५० लाखसम्ममा डिलक्स बस निर्माण भइरहेको महासंघले जनाएको छ । यस्ता बस वीरगन्ज, धुलिखेल, काठमाडौं, विराटनगरलगायतका क्षेत्रमा निर्माण भइरहेका छन् । घटस्थापनादेखि उपत्यकाका चार नाका साँगा, फर्पिङ, नागार्जुन र थानकोट हुँदै दैनिक तीन हजारसम्म सानाठूला यात्रुवाहक सवारीसाधान बाहिरिने गरी यातायात व्यवस्था विभागको सहकार्यमा रुट व्यवस्थापन गर्न लागिएको सिटौलाले जानकारी दिए । ‘नयाँ थपिने बसका लागि यात्रु चाप हेरेर थप रुट व्यवस्थापन गर्नेछौं', सिटौलाले भने ।
फूलपातीदेखि अष्टमीसम्ममा दैनिक करिब चार लाख यात्रु उपत्यकाबाट बाहिरिने गर्छन् । दसैं अवधिमा करिब २६ लाख सर्वसाधारणले उपत्यका छाड्ने अनुमान गरिएको छ । २०६८ को जनगणनाअनुसार काठमाडौं उपत्यकाको जनसंख्या ४० लाख छ ।
यसैबीच यातायात व्यवस्था विभागले भने डिलक्स र वातानुकूलित सुविधाको नाममा व्यवसायीले बढी रकम यात्रुबाट असुल गर्न नपाउने जानकारी गराएको छ । विभागका प्रवक्ता वसन्त अधिकारीले सरकारले निर्धारण गरेको दरमै व्यवसायीले टिकट काट्ने व्यवस्था गर्नुपर्ने बताए । ‘व्यवसायीलाई सरकारले तोकेको दरमै टिकट बिक्री गर्न भनेका छौं', अधिकारीले भने, ‘एसी र डिलक्सको नाममा निर्धारित दरभन्दा बढी असुल्न नपाइने व्यवस्था गरेका छौं ।' अधिकारीले बढी रकम लिएको पाइएमा टिकटसहित विभागमा उजुरी गर्न सुझावसमेत दिएका छन् ।
महासंघले सर्वसाधारण यात्रुलाई दलाल र बिचौलियाबाट ठगिन नदिन महासंघबाट जारी कार्ड भएका बिक्री केन्द्रबाट मात्रै टिकट खरिद गर्न आग्रह गरेको छ । यातायात व्यवसायी, ट्राफिक प्रहरी र यातायात विभागको सहकार्यमा उपत्यकाका १२, तराई र पहाडी क्षेत्रमा १० स्थानमा अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन लागिएको यातायात विभागले जनाएको छ । विभागले यात्रुका लागि विभिन्न स्थानमा नागरिक सहायता कक्ष राख्ने तयारी गरेको छ ।
अन्यौलमा अग्रिम टिकट बुकिङ
दसैं आउनु १५ दिन अगावै अग्रिम टिकट काट्ने व्यवस्था भए पनि यसपटक भने सरकार र यातायात व्यवसायीबीचको विवादले यो विषय टुंगो लागेको छैंन् । रुट परमिटबिना सञ्चालन गरिएका बसका कारण विवाद उत्पन्न हुँदा अग्रिम टिकट काट्ने व्यवस्था अलपत्र परेको छ ।
यातायात व्यवस्था विभागले असोज १ गतेदेखि अग्रिम टिकट काट्ने व्यवस्था गर्ने तयारी गरे पनि यातायात व्यवसायीले पहिले रुट परमिटको समस्या समाधान गर्नुपर्ने, नारायणघाट—मुग्लिङ र थानकोट—कलंकी सडक खण्ड सुधार गर्नुपर्नेलगायतका माग अघि सारेर अड्को थापेका कारण अग्रिम टिकट व्यवस्थाको विषयमा टुंगो नलागेको हो । ‘हाम्रो मागको विषयमा सम्बोधन नहुँदासम्म अग्रिम टिकट काट्ने व्यवस्था अघि बढाउन सकिन्न', महासंघका महासचिव सिटौलाले भने ।
व्यवसायीले असोज ६ गतेदेखि टिकट काट्ने आन्तरिक तयारी गरेका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता अधिकारीले आगामी बुधबार हुने सर्वपक्षीय बैठकबाट अग्रिम टिकट काट्ने मिति तय गरिने जानकारी दिए ।