चिया पढेकाले रोजगारी पाएनन्
बिर्तामोडः मेची बहुमुखी क्याम्पस भद्रपुरले चिया विषयका जनशक्ति उत्पादन गरे पनि तिनलाई निजी चिया उद्योगले रोजगारीको अवसर प्रदान गर्न चासो नदिएको प्राध्यापक तथा विद्यार्थीको गुनासो छ । उद्योगीले भने चिया विषयमा स्नातक तह उत्तीर्ण विद्यार्थीमा व्यावहारिक ज्ञानको कमी भएका कारण उनीहरूले चाहेजस्तो रोजगारी चिया उद्योगहरूमा नपाएको बताएका छन् ।
२०६८ सालमा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस मेची बहुमुखीमा चिया प्रविधि तथा व्यवस्थापन बीएससी टीटीएम विषयमा स्नातक तहमा पढाइ सुरु भयो । अहिलेसम्म १८ जना विद्यार्थी उत्तीर्ण भएका छन् । तर, पूर्वी नेपालमा रहेका चिया उद्योगले चिया विषयको स्नातक तह पढाइ हुने मेची बहुमुखी क्याम्पसका विद्यार्थीलाई रोजगारीको अवसर नदिएको क्याम्पस प्रमुख कमल गुरागाईंको गुनासो छ । उनले भने, ‘न त हामीले उहाँहरूलाई कन्भिन्स गर्न नसकेका हौं, न उहाँहरूले नै कुरा नबुझेको हो, बुझ्नै सकिएन ।'
नेपालको चिया उद्योगका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपालमै उक्त विषयको पढाइ सुरु गरिएको हो । तर, पूर्वी नेपालमा रहेका चिया बगान तथा उद्योगमा प्रायः भारतीय कामदारले रोजगारी पाएको विद्यार्थीको गुनासो छ । चिया विषयमा स्नातक तह उत्तीर्ण विद्यार्थी नगेन्द्र सुवेदीले भने, ‘भारतबाट सस्तो पारि श्रमिक दिएर ल्याइएका कामदार पाएपछि पढेका हामीजस्ताले चिया बगान तथा उद्योगहरूमा काम पाएनौं ।'
चिया विषय अध्ययन गरेका विद्यार्थीलाई आफ्ना बगान तथा उद्योगमा रोजगारी दिन प्रयास गरिए पनि उनीहरूमा व्यावहारिक ज्ञानको कमी भएका कारण रोजगारी दिन नसकिाएको चिया उद्योगी आदित्य पराजुलीले बताए । उनले भने, ‘उहाँहरूमा सैद्धान्तिक ज्ञान छ तर हामीलाई सैद्धान्तिक ज्ञानले मात्र पुग्दैन, व्यावहारिक ज्ञान पनि चाहिन्छ । उहाँहरूमा त्यो कमी छ ।'
नेपालमा चिया विषयमा स्नातक तह उत्तीर्ण विद्यार्थीले सोही विषयमा स्नातकोत्तर तह पढ्न नपाउने भएपछि यही शैक्षिक वर्षदेखि विज्ञानका अन्य विषयमा स्नातकोत्तर तह पढ्न मिल्नेगरी उक्त विषयलाई परिमार्जन गरेर बीएससी टी साइन्स बनाइएको क्याम्पस प्रमुख गुरागाईंले जानकारी दिए । केही समयअघि राष्ट्रिय चिया तथा कफी विकास बोर्डका लागि लोकसेवा आयोगले लिएको परीक्षामा भने ११ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
इन्फो
नेपालको चिया उद्योगका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपालमै उक्त विषयको पढाइ सुरु गरिएको हो । तर, पूर्वी नेपालमा रहेका चिया बगान तथा उद्योगमा प्रायः भारतीय कामदारले रोजगारी पाएको विद्यार्थीको गुनासो छ ।