मौन इतिहासको आवाज
साढे दुई सय वर्ष शासन गरेको चीनको किङ वंश पतनको सँघारमा छ । कारण हो- अफिम । साम्राज्यवादी अंग्रेजले चीनमा फैलाएको अफिमको व्यापार र जनताको अफिममोहलाई नियन्त्रण गर्न नसकेको अवस्था । दृश्य हो- सन् १८३९ देखि १८४२ सम्मको, पहिलो अफिम युद्धको । चीनको हारको । त्यसपछि भएको असन्तुलित नानकिङ सन्धि जसले अंग्रेजहरूलाई अझ बढी अफिम साम्राज्य फैलाउन प्रोत्साहन दियो तर बन्यो किङ शासन पतनको मुख्य कारण ।
व्यापार विस्तारका लागि छिरेको ब्रिटिस इस्ट इन्डियन कम्पनीले व्यापारमात्रै गरेन, झन्डै सय वर्ष आफैंले शासन गर्यो भारतमा । त्यही समय मुख्य गरी भारतको बिहार र बंगालमा व्यापक अफिम खेती र उत्पादन कारखानाहरू चलेका थिए । त्यस उत्पादनको मुख्य बजार बनाइयो चीनलाई ।
इस्ट इन्डिया कम्पनीले राज गरेको समय, अफिम खेती, ज्यालादारी मजदुरहरूको सामाजिक, आर्थिक अवस्था, पीडा, अभावलगायतका त्यस समयको मौन इतिहासलाई खोतल्ने काम गरेका छन् भारतीय लेखक अमिताभ घोषले । घोषको यही इबिस ट्रिलोजीको सन्दर्भ खोतल्ने प्रयास हो यो लेखोट । ट्रिलोजीको पहिलो उपन्यासमा नायक र नायिकाको भेट भएको छ यो ट्रिलोजीको नामकरण । यो ट्रिलोजीका तीन उपन्यास हुन्- 'सि अव पप्पिज', 'रिभर अव स्मोक' र 'फ्लड अव फायर' । क्रमशः सन् २००८, २०११ र २०१५ मा प्रकाशित भएका थिए यी ।
सीमान्त गुञ्जन
घाजीपुर, बनारसबाट पचास माइल पूर्वको गाउँको कथा समेटिएको छ 'सी अव पप्पिज'मा । सन् २००८ मा पहिलो प्रकाशन भएको थियो यसको । अन्न उम्रनुपर्ने जमिनभरि अफिम खेती लगाइएको छ । इस्ट इन्डिया कम्पनीले चीनमा फैलाएको अफिम साम्राज्यको उत्पादन स्थलमध्येको एउटा गाउँ ।
व्यापार आकाशिएको समय छ । अफिमको माग जति नै बढे पनि किसानको हात र पेट जहिल्यै रित्तो । त्यो अफिम खेतीले दिएको छ त अझ बढी भोक, गरिबी, रोग, अनि अलिकति त्यसैको लत पनि गाउँलेलाई । अमिताब घोषले उतारेका छन् घाजीपुरका किसानहरूको गरिबी, दुःख र पीडा । साथै जातीय भेदभावको विकराल रूप र महिलाको नाजुक अवस्था पनि ।
जातीय भेदभाव र छुवाछूत कानुनले हटाए पनि मान्छेको मानसिकताबाट अझै हट्न सकेको छैन । शताब्दीऔंअघिको भारतीय समाजमा यसको कस्तो अवस्था थियो होला भनी हामी कल्पना सक्छौं । घोषले उभ्याएका कलुवा, चमार समुदायका प्रतिनिधिलाई सधैं नै समाजमा हेलाको पात्र बनाइएको छ ।
टुहुरो कलुवा खाइलाग्दो ज्यानको र बलियो छ । धनीहरू उसलाई बाजीमा कुस्ती खेलाउँछन् तर हारेपछि र खेल्न नसकेपछि भने सदाका लागि पाखा लागाइदिन्छन् ।
अर्को पात्र, डिटी । बिहे भएर आइपुगेकी छन् घाजीपुरमा । जन्मको दोषको कारण एउटा अफिम लती रोगी हुकुमसिंहसँग बिहे हुन्छ । बिहेकै दिनबाट सुरु हुन्छ उनीमाथिको शारीरिक मानसिक अत्याचार । नपुंसक हुकुमको वंश जोगाइदिने बहानामा बिहेकै दिन डिटीमाथि बलात्कार हुन्छ जेठाजुबाट । डिटीको नियति र भोगाइ डरलाग्दो छ । अफिममा फसेका लोग्नेको अकाल मृत्युपछि जेठाजुको ज्यादती सहनुभन्दा सती जान तयार हुन्छिन् उनी । तर, कसले देखेको हुँदो रहेछ र आउने दिन ? कलुवाले बचाएर लैजान्छ टाढा । नयाँ जीवनको सुरुआतको संकेत देखिन्छ ।
जीवनका अनेक उबडखाबड झेल्दै अघि बढिरहेका पात्रहरूलाई घोषले चलाखीपूर्वक जोड्ने मिलनबिन्दु बनाएका छन् जहाजलाई जसको नाम हो- 'इबिस' । दृश्य देखिन्छ इबिसले लैजाँदै गरेको सयौं भारतीय मजदुरलाई जो मरिससको उखु खेती, चिनी कारखाना आदिमा ब्रिटिसका लागि काम गर्नेछन् ।
लेखकले यस उपन्यासमा पात्रहरू आफ्नो परिवेश र अवस्थाबाट अन्तै जाने प्रयत्नलाई राम्ररी उतारेका छन् । खोज, मानवीय स्वभाव पनि हो । यी पात्रहरू सीमान्तकृत, पीडित र हेपिएका भए पनि बलियो आत्मबल भएका छन् । उनीहरू अञ्जानमा पनि एकप्रकारको विद्रोहमा उत्रिन्छन् ।
कलुवा र डिटीमात्र हैन, फ्रेन्च मूलकी भारतीय युवती पलेट, वनस्पतिविज्ञ बाबुको मृत्युपछि आफ्नो चौघेरोबाट संसार यात्रामा निस्कन्छे । राजा नील रतन आफ्नो पुख्र्यौली राजकीय शानबाट झरेका मात्र छैनन्, फर्जरीको आरोपमा जेलमा परी सजायस्वरूप मरिससमा शारीरिक श्रमका लागि पठाइँदैछन् । पात्रहरू अनिश्चित यात्रामा निस्कन्छन् या पठाइएका छन् । अन्योल र अनिश्चित यात्राका बीच पात्रहरू दृढ देखिन्छ आउने समयको सामना गर्न ।
समाजको चित्र
'रिभर अब स्मोक'मा लेखक केन्द्रित हुन्छन् इस्ट इन्डियन कम्पनीको शासनकालका व्यापारिक घरानाका भारतीयहरूको सामाजिक, आर्थिक अवस्था साथै उनीहरूको व्यक्तिगत र भित्री कुराहरू खोतल्न ।
व्यापारको सिलसिलामा वर्षौं चीनतिरै (क्यान्टोन, ह्वाम्पाओ, हुनान, मकाउ, हङकङ) रहने भारतीय ब्यापारीहरूमध्ये धेरैले उतैतिर आफ्नो दोस्रो घरबार बसाउने गर्थे । त्यस बेलाको व्यापारिक केन्द्र थियो क्यान्टोन । त्यस्तै एउटा ठूलो भारतीय व्यापारिक घरानियाका ज्वाइँ बहराम आफ्नो भाग्य अज्माउन अफिम व्यापारमा छिरेका छन् ।
क्यानटोनमै एउटी चिनियाँ युवती ची मेसँग उनको प्रेम पर्छ । उनीहरूको एउटा छोरो पनि जन्मन्छ, आ फात । तर, उनको प्रतिष्ठाले गर्दा यो सबै लुकाउन बाध्य हुन्छन् उनी । उनका छोरीहरूमात्रै छन् घरकी श्रीमतीबाट । छोरा भएकोमा खुसी छ तर पनि त्यो छोरालाई आफ्नो समाजमा लैजान सक्दैन । यो अवैध सम्बन्ध र मनमा गाँठो पारिरहेको कुराका कारण ऊ एकदमै खण्डित मनस्थिति बेहोर्न बाध्य छ ।
लोग्नेहरू भने टाढाटाढा पुग्छन्, व्यापार गर्छन्, अवैध सम्बन्धमा पनि रहन्छन् तर उनीहरूका श्रीमतीहरू भने गरगहनाले पुरिएर नोकरचाकरले घेरिएर पनि सधैं रित्तो, एक्लो महसुस गर्दै पर्खीबस्न बाध्य छन् । बहरामकी श्रीमती सिरिन यस्तै धोकाको जिन्दगी बाँच्न विवश एक प्रतिनिधि पात्र हुन् । उनको भागमा सिर्फ प्रतीक्षा छ । घोषले त्यस समयको सजी चित्र कोरेका छन् ।
चिनियाँ सरकारले क्यान्टोनमा लगाएको कडा नियम र अफिम आयातको प्रतिबन्धले व्यापारीहरूमा सकस बढ्दो छ । बहराम लगायतका धेरै ठूला व्यापारीहरूको जहाज सिंगापुरमै अड्किएको छ । क्यान्टोन भित्रिन नपाउँदै अनिश्चितता झन्झन् बढ्दो छ ।
कथा बढ्दै जाँदा लेखकले पहिलो भागमा तितरबितर बनाएका पात्रहरूलाई समेट्न थाल्छन् । इबिसमा एउटा घटना घटेपछि मरिसस लगिँदै गरेकाहरूमध्ये नील, जोधु, कलुवा र आ फात भाग्न सफल हुन्छन् । तर, जहाजकाहरूले उनीहरू समुद्रमा डुबी मरेको ठान्छन् । यही पात्रहरूमध्ये नील र आ फात क्यान्टोनमा भेटिन्छन् । नीलले त काम पनि गर्न थाल्छ बहरामको अफिसमा ।
भारतीय व्यापारीहरू र चिनियाँ शासकबीच मतभेद बढ्दो छ । क्यान्टोन प्रशासन भयंकर कडा भएर निस्कन्छ र ती व्यापारीका सम्पूर्ण अफिम जफत गरिदिन्छ । त्यो बिग्रिएको सम्बन्ध मिलाउन बेलायतबाटै गोराहरू आउँछन् । तर, समस्या सुल्झिनुको साटो बल्झिँदै जान्छ जसले युद्ध निम्त्याउने प्रस्ट संकेत दिँदैछ ।
इबिस ट्रिलोजी भारतीय इतिहासको गर्तमा रहेको रहस्यमयी कालखण्ड समेटिएको साहित्यिक दस्तावेज हो । इतिहासमा छुटेका/छुटाइएका तथ्यलाई यसरी सतहमा ल्याइनु निश्चय नै महत्त्वपूर्ण कार्य हो घोषको ।
बहराम आफ्नो अवैध छोराको विषयमा साथी जडिगलाई बताएर हलुका हुन्छन् । तर, उनको दुर्भाग्य भनौं एकातिर व्यापारको डामाडोल र अर्कोतिर प्रेमिका ची मेको हत्याको खबर अनि अफिमको बढ्दो लत । यी सारा परिस्थितिले उनमा मानसिक विचलन पैदा हुन्छ । उनी आफूलाई थाम्न सक्दैनन् । अनि एक दिन मृत भेटिन्छन् समुद्र किनारमा । एउटा महत्त्वाकांक्षी व्यापारी जान्छन् खाली हात । अब उनीसँग जोडिएका धेरैले आफ्नो भागको पहाड आफैंले उक्लनुपर्नेछ । आउने दिनहरूमा आफैंले आफैंलाई सम्हाल्नुको विकल्प छैन उनकी विधवा सिरिन र छोरा आ फातलाई ।
अर्को एक सुरुआत
लेखक घोषले अफिमले निम्त्याएको बेलायतशासित भारत र चीनबीचकोे अफिम युद्धको विषयलाई 'फ्लड अव फायर'मा उप्काएर इबिस ट्रिलोजीको अन्त्य गरेका छन् । यस भागमा युद्ध केवल उत्कर्ष हो । यसमा तीन प्रभावशाली महिला पात्र केन्द्रमा छन् । बहरामकी विधवा सिरिन, ब्रिटिस व्यापारी मिस्टर बर्नह्यामकी श्रीमती मिसेस बर्नह्याम (क्याथी) र इबिस चढी मरिसस यात्रामा निस्किएकी पलेट ।
श्रीमान्को मृत्यु, व्यापारको घाटा अनि लोग्नेको अवैध सम्बन्धबारे थाहा पाएपछि झन्डै होश गुमाएकी सिरिनमा विस्तारै आएको साहसिक रूपान्तरण देखाएका छन् लेखकले । बहरामका साथी जडिगको सहयोगमा उनी श्रीमान्को चिहान हेर्न भनी निस्कन्छिन् चीनको यात्रामा । उनले लोग्नेको चिहानमात्रै हेर्दिनन्, छोरा आ फातसँग भेट्छन् र स्वीकार्छन् उनलाई । जडिगसँगको बढ्दै गएको सामीप्यलाई स्वीकारेर नयाँ सम्बन्ध अघि बढाउन पनि उनी तयार हुन्छिन् ।
त्यस समयको ठूलो घरानाका छोरीबुहारीले कल्पनासम्म गर्न नसक्ने सम्बन्ध ना-नातिना भइसकेकी सिरिनले गर्छिन् । जीवनका अनेक ठक्कर र हन्डरपछि अन्त्यमा आफ्नो अस्तित्व स्वीकारेर प्रेमपूर्वक त्यस अवस्थालाई आत्मसात् गरेको मीठो अनुभूति हो यो सिरिनका लागि । उनी आफ्नै घेराहरूबाट स्वतन्त्र हुन्छिन् ।
घोषले उत्तिकै सशक्त ढंगमा उभ्याइदिन्छन् मिसेस बर्नह्यामलाई पनि जसले आफ्नो अस्तित्व र स्वतन्त्रताको महसुस गर्न सकेकी छन् अन्तत । बाबुको उमेरको धनी बर्नह्यामसँग बिहे गरेरमात्र एउटा खेलौनाझैं भएकी छ क्याथी । सधैं बाहिरमात्रै भइरहने बूढो लोग्नेलाई कुरी बस्नुपर्ने बाध्यतालाई चिरेर आफ्नैमा काम गर्ने कम उमेरको युवक जाचरीसँगको सम्बन्धमा बाँधिन पुग्छिन् ।
यही अवैध सम्बन्ध पनि उनका लागि प्रेम र आफ्नो अस्तित्व राम्ररी बुझ्ने एक माध्यम बन्छ । उनले लिएको बाटो एक त प्रेमको खोजी हो भने अर्कोतर्र्फ शारीरिक आवश्यकताको स्वाभाविकताले डोहोर्याएको बाटो । यो उनका लागि ठूलो साहस र मुक्ति हो ।
लेखकले उठाएको अर्को पात्र हो पलेट । एक्ली भएकी छन् बाबुको मृत्युपछि । मनमा भने छ विश्व घुम्ने साहस । त्यो समय स्वास्नीमानिसका लागि निकै संकुचित समय थियो । तर, उनी आफ्नो परिचय लुकाउँदै, ढाँट्दै र कहिले लोग्नेमान्छेको भेष बदलेर भए पनि यात्रारत रहन्छिन् निरन्तर । यो यात्रा उनको बाहिरी यात्रा मात्र नभई आफैंभित्रको स्वतन्त्रताको यात्रा पनि हो । यात्राकै क्रममा बोध गर्छिन् आफ्नो अस्तित्वको ।
अघिल्ला दुई भागमा देखाइएका महिलाहरूको दुर्दान्त पीडादायी अवस्थालाई लेखकले अन्तिम भागमा आएर उनीहरूको अस्तित्व र स्वतन्त्रताको मनन र आत्मसात् गराई न्याय दिएका छन् । यो निश्चय नै लेखकको समय चेत हो ।
छरपस्टिएका पात्रहरू एकएक गर्दै भेट गराउँछन् अन्तिममा । नील, कलुवा, जोधु, आ फात सबै क्यान्टोनमै जम्काभेटमा पर्छन् । तर, समयको बहाव ठीक छैन । अफिमको प्रतिबन्धले युद्ध निम्त्याएको छ ।
इस्ट इन्डिया कम्पनीका सैनिक जवानहरू होमिएका छन् पहिलो अफिम युद्धमा जसमा डिटीको दाजु केसरी पनि छ । चीन र ब्रिटिस भारतबीच चलेको युद्ध लेखकले सन् १८४१ सम्मको मात्रै देखाएका छन् । वास्तवमा पहिलो अफिम युद्ध सन् १८३९ देखि १८४२ सम्म चलेर नानकिङ सन्धिमा टुंगिएको थियो ।
नानकिङ सन्धि ब्रिटिसको पक्षमा मात्र रह्यो । उनीहरूलाई पहिले जसरी नै आफ्नो अफिम व्यापार फैलाउन बाटो खुल्यो एकपटक फेरि । इबिस ट्रिलोजी त्यस सन्धिसँगै अन्त्य भए पनि । त्यो मात्र सुरुआत थियो अर्को अनिश्चितताको । त्यही असन्तिुलित सन्धिका कारण सन् १८५६ को दोस्रो अफिम युद्धतिर घस्रिँदै थियो समय... ।
पाठकीय टिप्पणी
लामो समयको गहन अध्ययन र अनुसन्धानपश्चात् तयार परेका हुन् अमिताभ घोषले इबिस ट्रिलोजी । यसका प्रत्येक भागले विश्व साहित्यमा हलचल ल्याइदिएका छन् । पहिलो भाग 'सी अव पप्पिज' सन् २००८ को म्यान बुकर प्राइजको सर्ट लिस्टमा र अन्तिम भाग 'फ्लड अव फायर' म्यान बुकर प्राइज २०१५ को फाइनलिस्टमा परेको थियो ।
यी पुस्तकमा आउने अनगिन्ती पात्र र तिनका फ्ल्यासब्याकको वर्णनले पाठकलाई अल्मल्याउन सक्छ । ब्रिटिस भारत र चीनबीच युद्धको ऐतिहासिक पाटोलाई उजागर पारेको सुन्दर पक्ष भए पनि तुलनात्मक रूपमा अन्तिम भाग कमजोर लाग्छ । पहिलो दुई भागमा ब्रिटिस शासनकालीन भारतीय समाजको सजीव चित्रण गराउन सफल छन् लेखक ।
तर, अन्तिम भागमा मिसेस बर्नह्याम र उनको प्रेमिका कुराहरू लगायत त्यस्तै अन्य विषय पनि चाहिनेभन्दा बढी लम्बिएको लाग्छ ।
इबिस ट्रिलोजी भारतीय इतिहासको गर्तमा रहेको रहस्यमयी कालखण्ड समेटिएको साहित्यिक दस्तावेज हो । इतिहासमा छुटेका/छुटाइएका तथ्यलाई यसरी सतहमा ल्याइनु निश्चय नै महत्त्वपुर्ण कार्य हो घोषको ।