दुष्ट आत्माले मात्र दुःख दिन्छ

दुष्ट आत्माले मात्र दुःख दिन्छ

महाआख्यान महाभारतभर द्रौपदी र पाँच पाण्डवको वैवाहिक सम्बन्ध चर्चित छ । त्यस्तै वैवाहिक सम्बन्धको झल्को दिने नाटक 'थाङ्ला' शिल्पी थिएटरमा मञ्चन भइरहेको छ । यहाँ यथार्थ गाँसिएको छ । सरुभक्तले करिब दुई दशकअघि लेखेको नाटक उतिबेलै पोखरा र काठमाडौंका दर्शकको मन जित्न सफल भएको थियो । नेपालको पश्चिम हिमाली क्षेत्र, लोमान्थाङ इलाका र खम्बु क्षेत्रमा समेत प्रचलित बहुपति प्रथालाई उतारिएको छ नाटकमा ।

नाटकको सान्दर्भिकता अहिले पनि उत्तिकै रहेको बताउँदै निर्देशक अनुप बरालले भने, 'धर्म, संस्कार र परम्पराका आडमा चलिरहेको प्रथालाई बाहिर ल्याउन खोजेका हौं । अन्धविश्वासले जेलेको कुरालाई उतारेका हौं । हामीले नाटकमा त्यहाँको स्थानीयता छाडेका छैनौं । समय सान्दर्भिक बनाउन पनि प्रयास गरेका छौं ।'

रचनागर्भ

सरुभक्तको बाल्यकालमा आजको पोखरा केवल गाउँ जस्तो थियो । उतिबेला उपल्लो मुस्ताङतिरका मान्छेहरू जाडो छल्न पोखरा आउँथे र व्यापार गर्थे । मुस्ताङीहरूले ल्याएका घोडा, खच्चडहरू आफ्नै बारीमा चर्ने गरेको र कहिलेकाहीँ बाघले खाएको समेत सरुभक्तले देखेका रहेछन् । जाडो सकिएपछि उनीहरू फर्किदा न्यास्रिन्थे रे उनी । ती नवआगन्तुक दाँवलेहरूसँग खेल्दाको रमाइलो उनका मानसपटलमा अमिट छाप बनेको रहेछ । बजारको विस्तारीकरण सँगै यो क्रम हट्दै गयो । तर बाल्यकालको त्यो सम्मोहनले उनलाई कहिल्यै छाडेन ।

तिब्बती मूलका भोटेहरूको अवस्था बुझ्न सरुभक्तले उपल्लो मुस्ताङको भ्रमण गरेछन् । हिमाली शेर्पाबारे लेखिएका अन्य भाषाका लेखोटहरू पढेछन् । यहाँको परम्परा र संस्कृतिले लोभ्याएपछि उनले 'थाङ्ला' लेखे । हिमालमा विराजमान देवतालाई शेर्पाहरू 'थाङ्ला' भन्दछन् ।

नाटकले शेर्पा समाज र संस्कृति गज्जबले प्रस्तुत गर्दछ । सबै घटना छोर्तेन वरिपरि घुम्छन् । त्यहाँ प्रयोग गरिएको सजावट, भाँडावर्तन र व्यापारबाट ल्याइएका बोराहरू दुरुस्तै लाग्छन् । शृंगारमा विशेष ध्यान दिइएको छ । लुगाफाटो र गहनाले हिमाली भेगकै झल्को दिन्छ । पात्रहरूका टाउकामा ऊनीको रातो धागोले स्थानीय चलनलाई उजागर गर्छ । घरको आकार र झ्यालमा पोतिएका रङहरूले उपल्लो मुस्ताङ डुलाउँछ । मञ्चमा प्रयोग भएका सिँढीहरूले स्थानीय उकालीओरालीको संकेत गर्छ ।

०००

नाटकको मूल विषय बहुपति प्रथा हो । लोप्साङ विवाह गरेर घरमा भित्रिँदा उसका तीनजना लोग्नेहरू हुन्छन् । तीन दाजुभाइमध्येको कान्छो पेम्बा सानै हुन्छ । मातृृबात्सल्यबाट वञ्चित पेम्बालाई लोप्साङले हेरचाह गर्छे, हुर्काउछे । पेम्बा बढ्दै जान्छ । कुरो बुझ्दै जान्छ । उसलाई परम्परागत संस्कार मन पर्दैन । आमा समान कि लोप्साङलाई भाउजूको रूपमा मात्र हेर्छ ।

श्रीमतीको रूपमा उसलाई स्वीकार्न चाहँदैन, मान्दैन । सामाजिक र पारिवारिक दबाबलाई थेग्न नसकेर उसले विद्रोह गर्छ । खराब आत्माले दुःख दिएको भन्दै उसलाई लामाको कठघरामा उभ्याउनेलगायतका प्रपञ्च गरिन्छ । उसलाई स्वतन्त्रता नै प्यारो छ । कुरीतिहरूबाट मुक्ति चाहन्छ ।

नाटकमा शेर्पा संस्कृतिलाई उतार्न निकै मेहनत गरिएको देखिन्छ । उनीहरूको हिमाली देवताप्रतिको अगाध आस्था र भरोसा झल्किन्छ । पुनर्जन्मप्रतिको विश्वास प्रष्टिन्छ । सानैमा धनुष चलाउन सिक्ने परम्परा देखिन्छ । फरक संस्कृति भएकालाई त्यहाँको मान्छे मरेपछि डाँडामा लगेर गिद्धलाई खुवाएर दाह संस्कार गर्ने तरिकाले आकर्षित गर्छ । दुष्ट आत्मा, अकालमा ज्यान गुमाउनेहरू र आत्महत्या गर्नेहरूले पछि दुःख दिने उनीहरूको बुझाइ छ । अन्य पेसा व्यवसायमा हात हाले पनि धर्म छोड्न नहुने उनीहरूको विश्वास छ ।

नाटकमा सामयिकता दिन खोजिएको छ । लेखकको अनुमतिमा सुरुको र टुङयाउनीको केही भाग थपिएको बताउँछन्, निर्देशक बराल । फरक समुदायका पात्र समेतको उपस्थितिले नाटक बलियो बनेको छ । सामाजिक, सांस्कृतिक सहिष्णुताको आभास मिल्छ । लोकशैली र प्रकाशको तादात्म्यले नाटक सजीव बनेको छ । प्रविधिमा साथ दिइरहेका आशान्त शर्मा भन्दै थिए, 'रंगमञ्चमा प्रकाश केवल बोल्नुमात्र होइन । उज्यालो बनाउनुमात्र होइन । यसको प्रत्यक्ष सम्बन्ध हुन्छ, पात्र र घटनाहरूसँग । हामीले यसपालि सकेसम्म मेहनत गरेका छौं । '

सन्देश

नाटकले सामाजिक मूल्य मान्यतालाई समयानुकूल बनाउनुपर्नेमा जोड दिएको छ । न त पुराका पूरा चामत्कारिक सुधारको चाहना राख्छ न त यथास्थितिलाई प्रश्रय दिन्छ । पेम्बाको विद्रोही भावनालाई जो कसैको समर्थन रहन्छ । उसको एक युवतीसँगको असफल प्रेमले जो कसैको मन छुन्छ ।

दन्त्यकथाजस्तो लाग्ने देशकै लोपोन्मुख संस्कृतिप्रति लेखक र निर्देशकले न्याय गरेका छन् । नाटकको अन्त्यमा सुधारका चाहनालाई सम्बन्धित पक्षबाटै अघि सारिएकाले अझ गहकिलो भएको छ । पर्यटन व्यवसायमा जमेको छिरिङ पेम्बाको छातीमा दुष्ट आत्मा नरहेको बताउँछ । पेम्बाजस्ता व्यक्तिको समाजमा आवश्यकता बोध गर्छ । पेम्बा आकुको पुनर्जन्मको लागि प्रार्थना गर्छ । ऊ धर्मका नाममा हुने बन्धनभन्दा स्वतन्त्रता प्यारो ठान्छ ।

पात्रहरूको भाषामा एकरूपता छैन । सबैमा शेर्पाको लवज आउँदैन । बेलाबेला गिज्याएको भान हुन्छ । १८ वर्षअघि पोखरामा यही नाटकमा अभिनय गरेका ५४ वर्षीय प्रकाश घिमिरे भन्दै थिए, 'उही पात्र उही जोसमा अभिनय गर्दा अनौठो लाग्दैछ । झन् तन्नेरी भएको महसुस गर्दैछु ।' घरबूढीको भूमिकामा छिन्, लोप्साङ अर्थात् दिया मास्के । साङ्गे लामाको भूमिकामा दर्पण राजवंशी । तीनैजना फरक समुदायका भएर पनि दुरुस्त लाग्छन् ।

साँच्चै उपल्लो मुस्ताङकै कुनै घरका पिँढीमा बसेर हेरे जस्तो लाग्छ नाटक । पेम्बाको विद्रोहले उद्वेलित गराउँछ भने हिमाली भेगको अन्त्येष्टि संस्कार र शुभकार्यमा बजाइएका बाजाहरूले मन्त्रमुग्ध पार्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.