काठमाडौंका गल्लीमै प्रतिघण्टा एक सय किलोमिटर बाइक रेस

काठमाडौंका गल्लीमै प्रतिघण्टा एक सय किलोमिटर बाइक रेस

काठमाडौंका सडकमा प्रायः उनी उकुसमुकुस हुन्छन्, किनभने यी प्राय 'जाम' हुन्छन् । यहाँका सडकमा उनले आफूले चाहेअनुसार मोटरबाइक चलाउन पाउँदैनन् । त्यसैले उनलाई कत्तिखेर खुला सडकमा पुगौं हुन्छ । जब खाली सडक पुग्छन्, उनले बाइक कुदाएको देख्नेहरू आत्तिन्छन् । विक्रम थापाले कोटेश्वर–बनेपा सडक खण्डमा कुदाएको बाइकको 'फुटेज' हेर्दा यस्तै लाग्छ । उनी आफैंले रेकर्ड गरेको उक्त भिडियोमा सुजुकी जीएसएक्सआर सिक्स हन्ड्रेड बाइक दुई सय ४० किलोमिटर प्रतिघन्टा गतिसम्म कुदाएको देखिन्छ ।

'मैले कुदाउँदा भिडियो गेम हेरेको जस्तो लाग्छ रे । मान्छेहरू तर्सिएको प्रतिक्रिया सुन्ने गरेको छु', मोबाइलमा रहेको भिडियो देखाउँदै यी २१ वर्षे तन्नेरी मतिर फर्किएर हल्का मुस्कुराए । सार्वजनिक सवारी कुदिरहने यस्तो सडकमा अगाडि फ्याट्टै केही आइहाले ? मेरो प्रश्न भुइँमा झर्न नपाउँदै यी राइडरले मेरो कौतुहल मेटाइहाले, 'त्यो त आत्मविश्वास होे, क्षमता हो ।'

ओभर स्पिड र लेन मिचेका कारण उनले केही पटक ट्राफिकको 'चिट' पाएका छन् । आफूले कानुन मिचेको जान्दाजान्दै पनि बाइक अधिकतम गतिमा दौडाउन मन लाग्छ रे, उनलाई । अनि दुर्घटना भएको छैन अहिलेसम्म ?

'सडकमा कुदाउँदा लडेर घाइतेसम्म भएको छैन', उनले भने । विक्रमका अनुसार, उनी सुरक्षित भएर बाइक दौडाउँछन् । 'बाइक कुदाउँदा बाइक बिग्रियोस् तर चालक नबिग्रियोस', उनको सिद्धान्त छ । उनको तीव्र राइडिङ काठमाडौंका गल्लीहरूले पनि देखेका छन् । यी गल्लीमा एक सय किलोमिटर प्रतिघन्टाको गतिसम्म आफूले बाइक कुदाएको अनुभव छ उनीसँग ।

'नेपालमा जतिसुकै छिटो बाइक कुदाउनेले राइडर बन्ने, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने सपना बुन्नु, राइडर–खेलाडी बन्ने सपना देख्नु सुन्दा अचम्म लाग्ने विषय होइन ? ' मेरो जिज्ञासा सुनेर उनी केवल मुसुक्क मुस्कुराए । केही छिन रोकिएर भने, 'सायद म बाइक रेसर बन्न जन्मिएको हुँ ।' उनले भनेजस्तै, विक्रमले नेपाली खेलकुदले थाहै नपाई मोटरबाइक रेसिङमा परिचय बनाउँदैछन् ।

उनको परिचय प्रोफेसनल बाइक रेसरका रूपमा व्यापक बन्दैछ । विक्रमले एसिया रोड रेसिङ च्याम्पियनसिप खेलिरहेका छन् । एसिया रोड रेसिङ च्याम्पियनसिप खेल्ने उनी पहिलो र एकमात्र नेपाली बाइक रेसर हुन् । र, यो सामान्य सफलता होइन । 'राइडर जो कोही बन्न सक्छ, तर रेसर बन्न निकै गाह्रो छ । रेसरले सर्किट र विशेष किसिमको बाइक दौडाउनुपर्ने हुन्छ' उनी भन्छन् ।

विक्रम लामो समयदेखि मोटर रेसिङको सपना देखिरहेका छन् । उनकै शब्दमा, उनका लागि मोटरबाइक नै प्रेमिका हो । 'मैले मोटर रेसिङभन्दा बाहिरको सपना देखेको छैन', उनले भने । नेपालमा मोटरसाइकल रेसिङ भएकै छैन भने पनि हुन्छ, न यहाँ कुनै रेसिङ सर्किट नै छ । यी युवाले कसरी प्रोफेसनल मोटो रेसर बन्ने सपना देखे ? उनको यो सपना सुन्ने जो कोहीले जिज्ञासा राख्छ ।
000
बनेपामा होन्डा एक्सएल दुई सय ५० सीसी बाइकको अगाडि राखेर बुबा (कपिलदेव थापा) ले चलाउँदा चलाउँदै विक्रमले थाहै नपाए बाइक चढ्ने सपना देखे । बाइकको अगाडि ट्यांकीमा बसेर हुइँकिएको क्षण उनी कहिल्यै बिर्सदैनन् । त्यतिबेला हावाको जोड प्रहारले उनको अनुहार आँसुले ढपक्कै हुन्थ्यो । बाइक तीव्र गतिमा हुन्थ्यो । बाइक जति तीव्र बन्दै गयो , विक्रम त्यति नै खुसी हुँदै जान्थे । यसरी नै तीव्र गतिमा बाइक कुदाउने सपना त्यतिबेलै देखेका हुन् । उनकी ठूलीदिदीले पनि तीव्र गतिमा बाइक कुदाउँथिन् । दिदीले केटाले तीव्र गतिमा बाइक कुदाउने भएकाले विक्रम उनको पछाडि बस्न रुचाउँथे ।

स्कुलमा कम्प्युटर क्लास सुरु भएपछि उनको ध्यान इन्टरनेटमा नयाँनयाँ बाइकको तस्बिर खोज्नु, बाइक रेसिङ हेर्नु बढी बित्थ्यो । त्यतिबेला मोटर जीपी (मोटरसाइकल रेसिङको सबैभन्दा ठूलो प्रतियोगितामा) मा सुजुकी हायबुसा भन्ने नीलो बाइक सबैभन्दा तीव्र गतिको बाइकका रूपमा परिचित थियो । उनी इन्टरनेटमा त्यही बाइक खोजेर बस्थे । विश्व मोटर रेसिङमा भ्यालेनटिनो रोम्सीले त्यतिबेला निकै चर्चित थिए । उनले धेरै रेस जित्ने गर्थे । निकै स्टाइलिस्ट भएका कारण पनि रोम्सी विक्रमलाई निकै मन पर्थे ।

इन्टरनेटमा रोम्सीलाई पनि खोजी बस्थे । उनी घरमा पनि च्यानल खोजीखोजी बाइक रेसिङ हेर्थे । मोटो जीपी टेनस्पोर्टसमा दिने भएकाले उनी त्यसैमा झुम्मिरहँन्थे । कसैलाई पनि च्यानल फेर्न दिँदैनथे । यस्तै रुचिले उनी चार कक्षामा पढ्दा नै बाइक चलाउन जान्ने भए । त्यसको एक वर्षपछि उनी बाटोमै कुदाउन थाले । उनी कक्षा सातमा पढ्दा दिदीले एक सय ६५ सीसीको स्कुटर किनिन् । बनेपामा त्यही स्कुटरले पल्सरसँग प्रतिस्पर्धा गथ्र्यो । फराकिलो सडक र लामो यात्रामा विक्रम विस्तारै 'ड्राइभिङ सिट'मा सर्न थालिसकेका थिए ।

तर अभिभावकलाई डर पनि बढ्दो थियो । 'मेरो रुचिलाई लिएर उहाँहरू चिन्तित हुनुहुन्थ्यो । बाइक रेसिङ भएकाले दुर्घटनाको चिन्ता उहाँहरूलाई थियो ', उनले भने । उनकै आफन्त केही पनि गम्भीर किसिमका बाइक दुर्घटनामा परिसकेका थिए । बाल्यकालदेखि नै उनले आफ्नै घरमा निजी बस र कारहरू देखे पनि यसले तान्न सकेन । तर उनको रुचि बाइकमा बढ्दो थियो । साथीले नयाँ बाइक किन्नेबित्तिकै उनी टेस्ट ड्राइभ गर्थे ।

घरमा कोही नयाँ बाइक लिएर आए हुइँकिहाल्थे । चार वर्षअघि एक दिन उनले आमालाई बाइक किनिदिन अनुरोध गरे । उनको आग्रह तत्काल स्वीकृत भयो । उनले केटीएम ड्युक दुई सय सीसी नेपालमा भित्रिन लागेको थाहा पाएका थिए । त्यही बाइक बुक गर्ने गए । यसपछि उनीसँग आफ्नै बाइक भयो । बाइकसँगै खेल्न थाले । च्यासलमा मेन्टल डिगर्स भन्ने रेसरको समूह नै बनाए । उक्त समूहले स्टन्ट गथ्र्यो । त्यसबीचमा उनले बाइक राइडिङ र रेसिङबारे खोजी खोजी पढ्थे । यससम्बन्धी फेसबुक पेजलाई लाइक गरी अधिकतम जानकारी लिने प्रयास गर्थे ।

'तर, यतिबेलासम्म बाइक रेसिङमा भाग लिने, अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने कुनै सपना देखेको थिएन । बाइकसम्बन्धी केवल रुचि थियो', उनले भने । सन् २०१३ मा नेपाल अटोमोबाइल स्पोटर््स एसोसिएसन (नासा) ले रेसमान्डु आयोजना गरेपछि रेसिङको भूत उनमा चढ्यो । 'त्यही प्रतियोगिताबाट सोही वर्ष भारतमा आयोजित एफएमएससीआई इन्डियन नेसनल मोटरसाइकल रेसिङ च्याम्पियनसिपमा नेपाल पनि सहभागी भयो ।

नेपालको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । सन् २०१४ मा नासाले दोस्रो रेसमान्डु आयोजना गर्‌यो, विक्रम दोस्रो भए । यतिबेलासम्म उनी रेसिङको दुनियाँबारे निकै जान्ने भइसकेका थिए । एसियास्तरमा हुने प्रतियोगितामा नेपालीलाई कहाँकहाँ अवसर छ र के के आवश्यक हुन्छ भन्नेबारे पनि थाहा पाइसकेका थिए । उनको इच्छा अन्तर्राष्ट्रिय सहभागितामा अग्रसर हुँदै थियो ।
000
एसियामा सञ्चालन हुने रेसिङ प्रतियोगितामा एसिया रोड रेसिङ च्याम्पियनसिप र एसिया कप अफ रोड रेस चर्चित हुन् । एसिया रोड रेसिङ च्याम्पियनसिपअन्तर्गत सुजुकी एसिया च्यालेन्ज, होन्डा एसिया ड्रिम्स कप, सिक्स हन्ड्रेड सीसी सुपर स्पोर्टलगायत छन् । यी हरेक प्रतियोगिता चार पाँच देशमा सञ्चालन हुन्छन् । हरेक देशमा प्रत्येक प्रतियोगिताको दुईवटा रेस हुन्छ । होन्डा, सुजुकीलगायत कम्पनीले आफ्नो रेसिङ टिम नै बनाएका हुन्छन् । र यी कम्पनीको टिम नभएको देशका खेलाडीले फर्म भरी सेलेक्सन (प्रिसेसन टेस्ट) मा सहभागी हुने प्रयास गर्छन् ।

सेलेक्सनमा छनोट हुने त्यसमा पाए उनीहरूले लाइसेन्स प्राप्त गर्छन् र प्रतियोगिता खेल्न योग्य हुन्छन् । यति लामो प्रक्रिया पूरा गरी उनी कसरी एसिया रोड रेसिङमा सहभागी भए त ? विक्रम सन् २०१४ मा जापान गएको समयमा त्यहाँ फेडेरेसन इन्टरनेसनल डे मोटरसाइकलिज्मी (एफआईएम) एसिया कप अफ रोड रेसअन्तर्गत जापानको रेस हुन लागेको थियो ।

उनी जापानमै रहेका बुबा कपिललाई लिएर मोटरसाइकल फेडेरेसन अफ जापानको कार्यालय पुगे । सात दिनपछि रेस हुँदै थियो । विक्रमले सेलेक्सनमा पास भए त्यो रेस खेल्न पाउने आश्वासन पाए । जापानको मोटो जीपी सर्किटमा खेल्नु विक्रमका लागि निकै ठुलो चुनौती थियो ।

उनले वन डे कोर्स गरे । आठ घन्टाको प्रशिक्षणपछि उनी भोलिपल्ट प्रिसेसन टेस्टमा सहभागी भए ।उनको यो छनोट हेर्न बुबाआमा पनि पुगेका थिए । छनोटमा दुई पटक लडे पनि उनी पास भए, प्रतियोगिता खेल्न पाउने भए । 'यो निकै खुसी भएको दिन थियो । तर खेल्दा लडेकाले बुबाआमा केही डराउनु भएको मैले बुझेको थिएँ' उनले भने । यसअघि नेपालबाट नीर राईले सुजुकी च्यालेन्ज कपका लागि प्रिसेसन टेस्ट दिए पनि असफल भएका थिए ।

त्यहाँ जानु अघि नीरले भारतमै गएर प्रशिक्षण लिएका थिए । 'लाइसेन्स प्राप्त गर्नु, प्रतियोगिता खेल्न पाउनु निकै ठुलो कुरा थियो ' विक्रम भन्छन् । प्रतियोगिताअन्तर्गत जापानको दुवै रेस खेले पनि उनी पछि प्रायोजक अभावमा थाइल्यान्ड र ताइवानको रेसमा सहभागी हुन सकेनन् । त्यसको झन्डै एक वर्षपछि उनले सुजुकी एसिया च्यालेन्जका लागि प्रिसेसन टेस्टका लागि अनलाइन फर्म भरे । त्यसका लागि छनोट भएपछि उनी प्रिसेसन टेस्ट दिन मलेसिया पुगे ।

उनको तीव्र राइडिङ काठमाडौंका गल्लीहरूले पनि देखेका छन् । यी गल्लीमा एक सय किलोमिटर प्रतिघन्टाको गतिसम्म आफूले बाइक कुदाएको अनुभव छ उनीसँग ।

तर टेस्टको छैटौं चरणमा उनी घाइते हुन पुगे । चिकित्सकको रिपोर्टमा लिगामेन्ट च्यातिएको देखियो । उनले भने 'म छनोट हुने लगभग पक्का थियो तर घाइते भएपछि पुनः खेल्न नसक्ने भएँ ।' तर उनले सपना देख्न छाडेनन् । सन् २०१६ को संस्करणको प्रिसेसन टेस्टका लागि पनि अनलाइन फर्म भरे । फेरि मलेसिया बोलाइए । यस पटक भने प्रिसेसन सफल भए ।

मलेसिया, थाइल्यान्ड, जापान, इन्डोनेसियालगायत देशमा सञ्चालन हुने यो प्रतियोगिताअन्तर्गत उनी भर्खरै इन्डोनेसियाको रेसमा सहभागी भएर फर्किएका छन् । चारवटा देशको रेस समाप्तिमा उनी सहभागी १८ खेलाडीमध्ये १७ औं स्थानमा छन् ।
०००
यी प्रतियोगितामा सहभागी हुन जाँदा एउटा देशको सहभागितामा विक्रमको खर्च दुईदेखि चार लाख रुपैयाँसम्म हुन्छ । आउनेजाने खर्चदेखि लिएर निजी मेकानिक र निजी चिकित्सकको खर्च उनी आफैं व्यहोर्छन् । 'मोटर रेसिङमा खेलाडीले आम्दानी गर्ने भनेको प्रायोजकबाट हो', आफू सहभागी भइरहेको खेल महँगो भइरहेको उनलाई थाहा छ । एकदिन आफूले पनि प्रायोजक पाउनेमा उनी आशावादी छन् ।

उनले राम्रोसँग बुझेका छन्, 'रेसमा माथिल्लो क्रममा रहन सके प्रायोजक पाउने सम्भावना हुन्छ ।' उनलाई कम्तीमा के थाहा छ भने, आफ्नो यो आँटले भावी दिनमा अन्य नेपाली रेसरको आत्मविश्वास बलियो हुनेछ । नेपालमा आफू खेलाडी हो भन्ने महसुस हुन्छ कि हुन्न ? उनी फेरि मुस्कुराए । केही छिन गमेर भने, 'नेपालमा रहँदा भन्नुहुन्छ भने मलाई कसैले पनि यो महसुस गराउँदैनन् तर मलाई भने अधिकतम रूपमा महसुस हुन्छ ।

म आफ्नै खर्चमा, आफ्नै प्रयासमा देशलाई चिनाइरहेछु ।' यी प्रतियोगितामा भाग लिँदा अन्य प्रतिद्वन्द्वीले विक्रमलाई सोध्छन् रे, नेपालमा पनि बाइक रेसिङ हुन्छ र ? 'त्यतिबेला म राम्रो उदाहरण बनेको छु भन्ने लाग्छ', विक्रम फेरि मुस्कुराए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.