बालबालिकालाई लक्षित गरेर एक करोडको अक्षय कोष
बनेपा : काभ्रेपलाञ्चोकमा जोखिममा रहेका बालबालिकालाई लक्षित गरेर एक करोड ६ लाख ५० हजार बराबरको अक्षय कोष स्थापना भएको छ।
जिल्लाको पुरानोगाँउ, मेथिनकोट, पात्लेखेत, गैरीबिसौना देउपुर, उग्रचण्डीनाला, भिमखोरी, श्यामपाटीलगायत ३५ गाविसमा तीन लाखदेखि पाँच लाख रुपैयाँसम्मको अक्षयकोष विभिन्न विद्यालयमा स्थापना भएको जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकले जनाएको छ।
यसको उद्देश्य जोखिममा रहेका बालबालिकालाई शिक्षामा पहुँच बढाउनका लागि आर्थिक सहयोग गरिने जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका अधिकृत विदुर गौतमले बताए।
जिल्लाका विभिन्न गाविसमा रहेका विद्यालयमा तीन जनादेखि नौ जनासम्म विद्यार्थीलाई स्थापना भएको अक्षयकोषबाट प्राप्त हुने ब्याजमार्फत बर्सेनि रकम प्रदान गरिन्छ।
जिल्लाका विभिन्न विद्यालयका ९३ जना बालबालिकामध्ये अधिकांश दलित, विपन्न समुदायका र अभिभावक गुमाएका छन्। विगत दुई वर्षदेखि सेभ ‘द’ चिल्ड्रेनको सहयोगमा जिल्ला विकास समिति, धुलिखेलमार्फत सञ्चालित बाल संवेदनशील सामाजिक परियोजनामार्फत गाँउ बाल अक्षयकोष स्थापना भएको हो। रासस