मायावी बस्तीको रहस्य

मायावी बस्तीको रहस्य

 

घडीले मध्यरातको संकेत गरिसकेको थियो । पहिरो पीडित विस्थापित भएर बसेको सुकुम्बासीजस्तो बस्तीका घरघरमा टुकी निभिसकेको थियो । नजिकको खरघारीबाट स्यालको एकोहोरो आवाज पनि बन्द भइसकेको थियो । यही उपयुक्त समय थियो । रातको ११/१२ बजे, करिब १५ जनाको काबिला अचानक क्याम्पबाट निस्क्यो ।

किचनमा पाकेको भर्भराउँदो भात थियो । तातो दाल र मनतातो तरकारी थियो । क्याम्पमा पालिएका पाँचवटा जर्सी गाईको दूध कुँडेमा सेलाएर तरको तह बनाइसकेको थियो । तर हिजो जस्तो भएन आज । किन हो किन केही खानै मन लागेन । पाकेको खानालाई थालमा समेत नपस्किकनै उनीहरू ट्याक्सीमा कोचिए र अन्तिम पटक क्याम्पको भवन अघिल्तिर रोपिएको गोब्रे सल्लाको बोटमा हेरे । गोब्रे सल्ला जसलाई आचार्य रजनिशको जन्मदिनमा उनीहरूले रोपेका थिए, क्याम्प स्थापनाकै वर्ष ।

दस वर्षदेखि प्रेम, भक्ति र साधनालाई घोटीघोटी स्वर्ग जस्तो बनाएको एउटा सानो बस्तीलाई छोडेर जाँदै थिए उनीहरू । बस्तीको तथ्यांक यस्तो थियोः
नामः नियो सन्यासिन क्याम्प
चल्तीको नामः रजनिश क्याम्प
केटाकेटीले भन्ने नामः रन्जिश क्याम्प
क्याम्प प्रखुमः योगी चिनमय
स्थानः दक्षिणी पोखरा, छिनेडाँडा
क्षेत्रफलः करिब तीन सय ६५ रोपनी
सञ्चालनः सन् १९७९ देखि
अवशानः सन् १९८९ (९०) देखि
०००
पोखराको रजनिश क्याम्पको कथा लामो छैन, मात्र १० वर्षको छ । तर यादको कथा लामो छ । कम्तीमा पोखरेली ओशो सन्न्यासीहरू यसै भन्छन् ।

भारतीय राजनीतिको कोपभाजनका कारण रजनिश पुनेमा बस्न नसक्ने अवस्थामा थिए । उता अझ ठूलो क्षेत्रफलमा कम्युन चलाउने उनको निजी महत्त्वाकांक्षा बाक्लिँदो थियो । रजनिश अमेरिकाको ओरेगन पुगे । उनका दुई निजी सचिवमध्येका एक योग चिनमय भने यता नेपाल आए । अर्की निजी सचिव योग लक्ष्मीको सट्टामा रजनिशले आनन्द शिलालाई नियुक्त गरी ओरेगन लगे ।

-योग चिनमयले ओशो ओरेगन हिँडेपछि पोखराको छिनेडाँडामा आ श्रम खोले । चिनमय नै ती व्यक्ति हुन् जसले आचार्य रजनिशलाई 'भगवान रजनिश' हुन सिफारिस गरे ।

रजनिशका प्रारम्भिक सन्न्यासीमध्येका एक हुन् योग चिनमय । रजनिशलाई भेट्नुपूर्व नै स्वामी क्रियानन्द सरस्वती भएर मुसाफिर घुमेका योग चिनमयले ओशो ओरेगन हिँडेपछि पोखराको छिनेडाँडामा आ श्रम खोले । ओशो प्रेमीहरूका माझ 'ऐतिहासिक' भए पनि अचेल चिनमयको खास विवरण राम्ररी भेटिँदैन ।

चिनमय नै ती व्यक्ति हुन् जसले आचार्य रजनिशलाई 'भगवान रजनिश' हुन सिफारिस गरे । भएछ के भने आफ्नो 'नियो सन्न्यास' कार्यक्रम लागू गर्नुपूर्व रजनिशले चिनमयलाई 'आचार्य' शब्दको विकल्पमा नयाँ शब्द खोज्न भनेछन् । सयौं शब्द सिफारिस गर्दा पनि रजनिशलाई चित्त परेनछ । अन्त्यमा चिनमयले 'भगवान्' शब्द सिफारिस गरेपछि त्यही सदर भयो र 'आचार्य रजनिश' 'भगवान् रजनिश'मा कायाकल्प भए ।

निजी सचिव हुनुको एउटा फाइदा पनि होला, चिनमयले रजनिशलाई अति निजी प्रश्नहरू सोधेर हैरान पार्थे । यिनले रजनिशको निजी जीवनका यौन, प्रेम, सम्बन्ध आदि विषयका गोप्य कुराहरू सोधेका छन् र ओशेले 'वेफिक्र' तिनको जवाफ दिएका छन् । यो कुरा ओशो इतिहासका आधिकारिक (? ) दस्तावेजहरूमा पाइन्छ । योग चिनमयले त्यो बेला रजनिशको 'प्रेस वर्क' हेर्थे । यिनका सम्पादनमा नै रजनिशका पुनेकालीन सयौं किताबहरू निस्केका हुन् ।

पुनेको सानो क्षेत्रफलले कम्युनको आफ्नो सपना पूरा नहुने देखेपछि रजनिशले अल्ली फराकिलो ठाउँ खोज्न लगाएका थिए चिनमयलाई । जसमध्ये गुजरात, पोखरा र हिमाञ्चल प्रदेशका तीन ठाउँ खोजिएका थिए । पोखराको ठाउँ रोज्न चिनमय आफैं आएका थिए । उनलाई सहयोग गरेका थिए, स्थानीय रजनिशप्रेमी मथुरा साहुले ।

मथुरा साहुको होलसेल पसलबाट कपडा लागेर बेच्ने अर्का कपडा व्यवसायी तथा पोखरा नगर पञ्चायत वडा नं. १८ का वडाध्यक्ष तोरणबहादुर केसीले आफ्नोसहित अन्य गाउँलेको मिसाएर ठूलो क्षेत्रफलको उक्त जग्गा मिलाइदिएका थिए । पोखराका कुनाकाप्चा चहारेपछि चिनमयले दक्षिणी पोखराको बस्तीविहीन यस्तो ठाउँ रोजे जहाँबाट अन्नपूर्ण हिम शृंखलाको पूरै माला 'फुटहिल' सहित अनवरत देखिन्थ्यो ।

हिमालका जराजरालाई एकसाथ अवलोकन गर्न मिल्ने त्यो ठाउँ प्रेम श्री वात्सायनको तपस्या थलो वात्सायन घाटभन्दा थोरै माथिल्लो भाग हो । 'कामसूत्र'का लेखक प्रेम श्री वात्यायनको तपोभूमि छेउछेउमा 'काम से राम कि और'का लेखक प्रेमगुरु रजनिशको नामबाट कम्युनको स्थापना हुनु सुखद आध्यात्मिक संयोग थियो सायद ।

तर संयोगमात्र संयोग भयो । सुख ओशोको जिन्दगीजस्तो छोटोछोटो भयो । रजनिशका 'ऐतिहासिक' शिष्य चिनमयले खोलेको विशाल 'रजनिश क्याम्प' किन धराशायी भयो ? किन बन्द भयो ? किन चिनमयले पोखराको आ श्रम बेचेर पुने पुगे ? किन त्यहाँबाट पनि हिमाञ्चल हानिए ? किन उनी एकपटक पनि फर्केर नेपाल आएनन् ?

के नेपालका तत्कालीन रजनिश समर्थकले यो क्याम्पलाई जीवित राख्न कुनै प्रयत्न गरेनन् ? गरेको भए के गरे ? के ओशो सन्न्यासीकै धर्म–राजनीतिले यो धराशायी भयो ? प्रश्नको उत्तर सजिलो छैन तर नेपालका पुराना सन्न्यासी सबैसँग यसको उत्तर छ । दुःख यही छ कि सबैसँग यसको उत्तर फरकफरक छ । उत्तरका कुरा अर्को कुनै आर्टिकलमा ओकलुँला ।

०००

तीन सय ६५ रोपनीको विशाल कम्पाउन्ड अत्यन्त अग्लो पर्खालले घेरिएको थियो । आठ/दस फिटकै थियो कि ! पर्खालमाथि काँडेतार लगाउन फलामे 'एंगल' राखिएको थियो तर काँडेतार भने हालिसकिएको थिएन । चीनमा ठूलो अग्लो ग्रेटवाल पर्खाल छ भनेर कक्षामा पढ्दै गर्दा म ग्रेटवाललाई रन्जिश क्याम्पको त्यही पर्खालसँग 'एसिमिलेट' गर्थेँ ।

क्याम्पको खास आकर्षण भने मलाई थिएन । बरु उत्सुकता थियो, यत्रो पर्खालले घेरेर राखिएका साना राता घरमा के होला ? को बस्छन् होला ? के गर्छन् होला ? यो प्रश्नको उत्तर मैले कहिल्यै पाइनँ । गाउँभरि हल्ला त थिए, तर हल्लालाई उत्तर के मान्नु ।

गाउँका हल्ला यतिबिघ्नका थिए कि एकलै रजनिश क्याम्पतिर जान डर लाग्थ्यो । मेरो घरमा गफ हुन्थ्यो कि 'त्यो रन्जिशका गुरुले दिनको एक बोड्को मान्छेको रगत खान्छन् रे !' यस्ता 'रे'का शृंखला कति थिए कति । 'तिनीहरू धनीबाबुका बिग्रेका सन्तान हुन् । तिनीहरू लागूपदार्थ खान्छन् । खासमा यिनीहरू एकखाले पागल हुन् । तिनीहरू नाङ्गै नाच्छन् र अर्काकै मुखेन्जी खुलेआम यौन संसर्ग गर्छन् ...।'

यस्ता हल्लाको प्रभाव यति ठूलो थियो कि रजनिश क्याम्पको स्थापनादेखि अन्त्यसम्म नै यसले स्थानीय गाउँलेहरूको सहयोग पाएन । त्यसो त क्याम्पका सन्न्यासीले पनि अशिक्षित गाउँलेको आफ्ना मान्यतालाई आघात नपुर्‌याउन खास सचेत भएनन् । छिनेडाँडाकै ओशो सन्न्यासी शिव पोख्रेलका अनुसार क्याम्पको वहानामैं सही, गाउँलेले आफ्नै गाउँको विकासका लागि आएको बिजुली र पानीको लागि समेत सहयोग गरेनन् ।

न पाइप बिच्छ्याउन र बिजुलीको पोल गाड्न मद्दत गरे । बरु उल्टै पटकपटक खानेपानीको पाइप काटिदिए । निर्माणाधीन पर्खाल भत्काइदिए । ध्यान चलिरहेका बखत भित्र ढुंगा हाने ।

एउटा घटना सम्झन्छु । सायद म कक्षा तीन/चार मा पढ्दाताका हो । एक दिन स्कुल हापेर हाम्रा हलीदाइ प्रसाद परियारको छोरा सूर्यसँग माछा मार्न गएको थिएँ । ओखलढुंगा भनिने सेती नदीको किनारमा ठूलो मूल थियो । मूलमा दुवालो थुनेपछि माछा कति मर्थे कति । हामी माछा छोप्दै थियौ अचानक नदी किनारबाट गर्याङगुरुङ आवाज आयो । त्यो ठाउँ मान्छे पोल्ने घाट पनि हो ।

त्यसैले डर लाग्यो र दगुर्दै हेर्यौँ । ८/१० जना नचिनेका वयष्क मान्छेहरू नुहाउँदै थिए । महिला र पुरुष बरोबरी थिए । प्रायः सबै सर्वाङ्ग नाङ्गै थिए । कुनै च्याट्ठिएर चिच्याउँदै थिए । कुनै लमतन्न आकाशतिर फर्केर सुतेका थिए । एक जोडी नरनारी छिल्लिएर साबुन दलेको शरीर बेर्दै अँगालिएका थिए ।

त्यहाँ कुनै लाजको अंश थिएन । एकछिनपछि हामीले हेरिरहेको एउटा मान्छेले थाहा पायो । ऊ नेपाली थियो । नेपाली भाषामै हामीलाई हकार्यो । हामी डराइडराई घर फर्कियौं । ममाँ नांगो स्त्री–शरीर हेर्ने रहर पलाइसकेको थिएन । धेरै मान्छेलाई एकसाथ नाङ्गै देख्दा सातो गयो । सूर्य र म भाग्दै माथि आयौं ।

यो घटना सायद एकपटक मात्रै भएन । अरु बेला पनि भयो होला । गाउँलेले देखे हुनन् । क्याम्पप्रतिको गाउँले मनोविज्ञान यस्तै घटनाहरूले बनाएको होला ।

रजनिश क्याम्प हामी केटाकेटीको 'हन्टिङ रिजोर्ट' थियो । क्याम्पभित्र रसिला किम काफलका सयौं बोट थिए । स–स्यानो जंगल नै थियो त्यो । वसन्तयाममा कलेजी भएर पाकेका किम काफल खाँदैनथ्यौं मात्र, तिनलाई निचोरेर मसी बनाउँथ्यौ । काफल निचोरेको रङलाई कचौरामा राखेर दिनभर घाममा टट्टाइदियो भने त्यो गजबको बाक्लो मसी हुन्थ्यो ।

मैले क्याम्पभित्र बस्नेमध्ये कसैलाई चिनेको थिइनँ, न त अनुहार सम्झन सक्नेगरी प्रत्यक्ष देखेको मात्रै पनि थिएँ । तर एकजना थियो । अग्लोअग्लो डरलाग्दो मान्छे । हामी उसलाई रन्जिश किस्ने भन्थ्यौं । काफल चोरेको थाहा पाउनेबित्तिकै ऊ ताससमान बेगमा कताबाट आइपुग्थ्यो कताबाट । हामी पनि झटपट बोटबाट ओर्लन्थ्यौं । काँडेतार फट्याएर फुत्त बाहिरिन्थ्यौं र कुलेलम ठोक्थ्यौं ।

ठूलो ज्यान भएका कारण सबै रन्जिशेहरू काँटेतार फट्याएर हामी जसरी छिर्न सक्दैनथे । हामी तारबाहिर हुन्थ्यौं उनीहरू भित्रै । तर रन्जिश किस्नेको कुरै अर्को थियो । ऊ त करिब पाँच फुट अग्लो काँडाको तार फिडिक्क फड्किदिन्थ्यो र हामीलाई खेद्दै टाढाटाढा पुर्‌याउँथ्यो । एउटा न एउटालाई नभेटी छोड्दैनथ्यो । हात र लात्तीले बरोबरी पिट्थ्यो । खल्तीको काफल खोसेर फालिदिन्थ्यो । रन्जिस किस्नेलाई छल्ने एउटै उपाय थियो ।

उसको भटभटे । उ बुलेट बाइक चढ्थ्यो । गाउँभरिको एकमात्र भटभटे हल्लाखल्ला गर्दै जब सहर जान्थ्यो हामी क्याम्पको काफलका टिप्न हानिन्थ्यौं ।

मेरो बाल मनोविज्ञानमा रन्जिश किस्नेको डरको प्रभाव अति गहिरिएर परेको रहेछ । बीए पढ्दाका बखत ओस्कर वाइल्डको 'द सेल्फिस जाइन्ट' भन्ने कथा पढ्नु पथ्र्यो । त्यहाँ एउटा राक्षसले आफ्नो बगैंचामा पस्ने केटाकेटीलाई खेद्दै लखेट्थ्यो । त्यो कथा पढ्दा मैले झल्झली रजनिश किस्नेलाई सम्झिएँ । कथा पढेको केही दिनपछिको रात सपनामा रजनिश किस्ने आयो । मलाई उसले खेद्दै लखेट्यो । म काँडेतारमा अल्झिएँ । भाग्नै सकिनँ । ... बीए पढ्दाको उमेरमा बाल्यकालीन सपना देखेर म हैरान भएको थिएँ ।

तिनै रजनिश किस्नेलाई मैले सौराहको ध्यान केन्द्रमा २०५३ सालमा भेटेँ । मित्र महेश भण्डारी र म थियौं । मैले त देखेर चिनिहालेँ । बोलेँ पनि । धेरै पछि मात्र मलाई थाहा भयो कि पोखराको रजनिश क्याम्पको व्यवस्थापनको मुख्य भूमिका यिनैले निभाएका रहेछन् । यिनको खास नाम गुणचन्द्र विष्ट रहेछ ।

राजनीतिकर्मी रूपचन्द्र विष्टका भाइ रहेछन् यिनी । यिनकै पहलमा आफ्नो प्रधानमन्त्रीकालमा कीर्तिनिधि विष्टले क्याम्प भ्रमण गरेका थिए भनेर पोखरेली ओशो सन्यासी तथा चित्रकार गोपाल भारती बताउँछन् । प्रधानमन्त्रीले नै क्याम्पसम्म बिजुली पुर्‌याउन मद्दत गरेका थिए रे !

०००

रजनिश क्याम्प कहिल्यै 'ओशो क्याम्प' हुन पाएन । तथापि ओशोको देहान्त भएको चार÷पाँच वर्षसम्म पनि यो ठाउँ जस्ताको तस्तै थियो ।

रजनिश काठमाडौं आएका बखत उनको दर्शन गरेका तर ओशो दर्शनदेखि टाढा रहेका स्थानीय समाजसेवी जेबी कुँवरका अनुसार क्याम्पको निर्माण र सञ्चालनमा नेपाली सन्न्यासी र प्रेमीहरूको ठूलो योगदान थियो । आत्मतीर्थ भारतीले त त्यो बेलामै करिब एक लाख सहयोग गरेका थिए !

एकजना वान्तवा थरका सन्न्यासीले पनि ठूलो सहयोग गरेका थिए । पोखरेली व्यापारी मथुरा साहु (देव चैतन्य), उनका भाइ मुक्तिलाल (धर्म चैतन्य), गोपाल श्रेष्ठ (गोपाल भारती), गोविन्दहरि पालिखे, सुवर्ण कायस्थ (सत्यम् भारती), अर्जुन श्रेष्ठ, सप्तबहादुर थापाले दिलोज्यान दिएर स्वयम् सेवा र सहयोग गरेका थिए ।

रमाइलो कुरा त के भने एमालेको नौ महिने शासनकालमा जल तथा उद्योगमन्त्री भएका पोखराका प्रख्यात उद्योगपति हरि पाण्डे आफैंले क्याम्पको फलामे गेटको 'डिजाइन' र 'वेल्डिङ' गरेका थिए । त्यो गेट अझै उस्तै छ । उस्तै छन् रजनिशको प्रतीक चिन्हस्वरूप गेटमा कुँदिएका उडिरहेका दुई थान चरा पनि ।

 -८/१० जना नचिनेका वयष्क मान्छेहरू नुहाउँदै थिए । महिला र पुरुष बरोबरी थिए । प्रायः सबै सर्वाङ्ग नाङ्गै थिए । कुनै च्याट्ठिएर चिच्याउँदै थिए । कुनै लमतन्न आकाशतिर फर्केर सुतेका थिए ।

क्याम्पमा सबैभन्दा पहिला दुई/तीन सय जना अटाउने ध्यान हल र भान्छाकोठा बनाइएको थियो । योग चिनमयको लागि क्याम्पको बीचमा दुइटा गोलघर बनाइएको थियो । 'अट्याच फ्रेसरुम' भएको शयन कक्षसँग जोडिएको अर्को कक्षमा पुस्तकालय थियो । शिविर चलेका बेलामा सुत्न बस्नका लागि सप्तबहादुर थापाको स्टोर्सबाट जस्तापाताहरू लगिन्थे र अस्थायी टहरा बनाइन्थे ।

त्यो सुरुवाती कुरा थियो । पछि त सुविधायुक्त स्थायी शयनकक्षहरू पनि निर्माण भए । स्विमिङ पुल बन्यो । गौशाला बन्यो । बन्जर जमिन कोतरेर मलिलो खेत बन्यो । खरबारी फाँडेर हरियो बगैंचा बन्यो । तीन सय ६५ रोपनीको त्यो विशाल क्याम्पमा कामदारकै आँखा हैरान हुने गरी छिटोछिटो काम भयो । काम भइरहेकै अवस्थामा एकदिन अचानक 'रजनिश क्याम्प' बन्द भयो । पश्चिमपट्टि लगाउँदै गरेको पक्की पर्खाल त पूरा पनि भएको थिएन । न त पर्खाल माथिका फलामे 'एंगल'मा तार कसिएको नै थियो । बस् बन्द भयो ।

चित्रकारसमेत रहेका गोपाल भारतीलाई क्याम्पको सम्झना एउटा चित्र जस्तो लाग्छ । रङहरूको विम्बजस्तो । उनी सम्झन्छन् कसरी उनीहरूले रजनिशको जन्मदिन क्याम्पमा धूमधामसँग मनाएका थिए । त्यो क्याम्प स्थापनाको पहिलो वर्ष थियो । प्रिय गुरुको जन्मदिनको चिनो राखेर उनीहरूले क्याम्प परिसरमा एउटा गोब्रे सल्लाको बोट रोपेका थिए । त्यो बोट हाँगा छिमलिएको अवस्थामा अहिले पनि छ ।

त्यसो त क्याम्पको भौतिकता अहिले पनि धेर थोर उस्तै छ । पानी नभरिए पनि स्विमिङ पुल दुरुस्त देखिन्छ । गौशाला भएको ठाउँ प्लटिङले खाए पनि गाईलाई दाना राख्ने 'डुँड' अझै भत्केको छैन । मैले बाल्यकालमा चोरेर खाएका काफल, अम्बा र अरु फलफूलका भने एउटै रूख पनि छैनन् । भवन मुन्तिरको विशाल फलफूल बगैंचामा अहिले जंगली सिसौका पोथ्रा र प्लटिङले काटेका घडेरीका चिराचिरा देखिन्छन् ।

क्याम्पको मुख्य भवन भएको स्थानमा एउटा कलेज स्थापना भएर चलेको हुनाले पनि पुराना बगैंचा र भवन धेरथोर जोगिएका हुन् । अझै पनि कलेजले खानेपानीको पुरानै ट्यांकी प्रयोग गरेको छ । तर योग चिनमय बस्ने गोलघरका दुवै कक्षलाई 'मोडिफाई' गरेर अहिले भान्छाघर बनाइएको छ । त्यसो त भर्खर ८५ वर्ष पुगेका स्वामी आत्मतीर्थले क्याम्पकालीन आफ्नो जवानीको पुरानो ओशोप्रेमको यादलाई मेट्न दिएका छैनन् ।

क्याम्पको दक्षिणी भेगमा 'अवशेष' जस्तै उनको एउटा निजी ध्यान केन्द्र छ । जहाँ उनी बेलाबेलामा आउँछन् । ध्यान गर्छन्, गराउँछन् । आफ्नो सम्झनाको एल्बमबाट 'नियो सन्न्यासी क्याम्प'को धुमिल तस्बिर निकाल्छन् र काठमाडौं बोकेर लैजान्छन् । अब त उनी पनि बुढो भइसके । उनको यादको तस्बिर बोकेर काठमाडौं लगिदिने पनि अब को पो होला र ?

०००

मसँग जोडिएको हकमा रत्तिभर लामो कथा छैन पोखराको रजनिश क्याम्पको । तर यसको सम्झनाको छाया मायावी तौरले बसेको छ मेरो हृदयमा पनि ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.