महाशयलाई दृष्टिदान
महाशय !
जरा बिर्सिएर
डिलैडिल लुखुरलुखुर
झर्दै गरेको रूख देख्नुभएको छ ?
सुवास छोडेर रछ्यानमा
एक्लै फ्याङ फ्याङ्ती
उँभै उँभो उक्लिरहेकी फूल देख्नुभएको छ ?
महाशय !
लेकतिरबाट हजारौं मानेहरू छिचोलेर
पिठ्यूँमा ठूलो भारी र नाम्लोमुनि थाप्लोमा
निख्खुर कालो खोलको बाइबल च्यापेर
उँदै उँदो झर्दै गरेको फादरलाई त देख्नुभयो होला नि ?
कि देख्नुभएन
राजदरबारबाट तेर्सै तेर्सो
प्राचिन गल्लीहरूमा
फुंग उडेका श्यामश्वेत ताराहरू सल्बलाएका ?
देख्नुभएको छैन यदि भने,
कृपया चस्मा फेर्नुहोस् महाशय !
होइन भने,
तपाईंका टाइमलाइन,
रिफ्रेस्मेन्ट स्केजुअल,
अनलाइन पोर्टल
र सेक्रेटेरीको क्लेभेजमा
टाँसिएका आँखाहरू निकालेर
नाकलाई ठीक बीचमा पारेर दुईतिर टाँसिदिनुहोस्
र भन्नुहोस्
हजुरको सहरको मुटु हुनुपर्ने ठाउँमा
देख्नुभयो कि भएन
अन्डकोष बिनाको घिनलाग्दो लिंग ?
पाकेर पिपैपिप भएको स्त्री योनाङग ?
भन्नुहोस् महाशय !
ठम्याउनु भयो कि भएन
मन्दिर र कोठीको ढोका ?
सरकारी साँढे र पार्टीका खेताला ?
भन्नुहोस् महाशय !
खुट्ट्याउनु भयो कि नाइँ
सडकमा मोजा बेच्ने नागरिक
र म्यानपावर दलाल ?
चेहेरैभरि हजुरको दाँत र चुरोटको खत बोकेकी
हजुरकी श्रीमती र बार डान्सर ?
सक्नु भएन ठम्याउन यदि भने,
महाशय !
भो छोडिदिनुहोस् मोह
आफैं हराउन्जेल खोजिपस्दा पनि नभेटिएका
ती रंगीन चस्माको ...
के अब
यी नाचिजका आँखाहरूले
संसार हेर्नुहुन्छ हजुर ?
यदी हुन्छ भने
हजुरकै चरणमा चढाउँला यी पतुर आँखाहरू
तर यो पतुर रेटिनाले
संसारलाई अत्यन्तै निचो र श्यामश्वेत मात्र देखाउँछ ।