रोनाल्डोले भने,‘म पूर्णरुपमा फिट भइसके’
काठमाडौंः क्रिष्टियानो रोनाल्डोले आफू सय प्रतिशत नै चोटमुक्त भएको बताएका छन्। रोनाल्डोले आफू पूर्णरुपमा फिट भएको र ओसासुनाविरुद्धको खेलका लागि मैदान उत्रन तयार रहेको बताएका छन्।
फ्रान्समा भएको युरोकप फुटबल २०१६ को फाइनल खेलमा चोटग्रस्त भएका रोनाल्डो त्यसयता मैदान उत्रिएका छैनन्। रोनाल्डोले सिजनको पहिलो खेलका लागि मैदान उत्रिन आफू आतुर रहेको समेत बताए।
रोनाल्डोले शुक्रवार रियल मड्रिडको अभ्यास खेलमा पुरै समय बिताएका थिए। ३१ वर्षीय स्टार खेलाडी रोनाल्डोले रियल मड्रिडका लागि यो सिजनको पहिलो खेल खेल्दैछन्। ओसासुनाविरुद्धको खेलका लागि आफू तयार रहेको रोनाल्डोले बताएका छन्।
तर, प्रशिक्षक जिनेदिन जिदानले उनलाई मैदानमा उतार्ने निर्णयमा भने अझै पुगिसकेका छैनन्। रियल मड्रिडले शनिवार ला लिगाको तेस्रो खेलमा ओसासुनाको सामना गर्दैछ।